जनताको बहुदलीय जनवादका तीन आयाम


मदन भण्डारी लामो समय बाँच्न पाउनु भएन । ४१ वर्षको उमेर एउटा व्यक्तिको सिङ्गो जीवनको अपेक्षा गरिएको उमेरको आधाआधी पनि होइन । तर, मदन भण्डारीले यही उमेरमा धेरै कुरा सम्पन्न गरेर हामीबाट विदा भएको २९ बर्ष बितिसकेको छ ।

मदन भण्डारीको व्यक्तिगत जीवनलाई मूल्याङ्कन गर्दा पार्टी नेतृत्वको हिसावमा उहाँले जम्माजम्मी चार वर्ष मात्रै नेतृत्व गरेको देखिन्छ । २०४६ भदौ ९ देखि १४ सम्म सिराहामा आयोजित नेकपा (माले)को चौथो महाधिवेशनबाट उहाँ महासचिवमा निर्वाचित हुनुभयो भने २०५० जेठ ३ गते षड्यन्त्रमुलक ढंगले हत्या गरिएसँगै हामीबाट विदा हुनुभयो । सार्वजनिक व्यक्तित्वको कुरा गर्ने हो भने उहाँको समय पार्टी नेतृत्व गरेभन्दा पनि कम छ । २०४७ साल कात्तिकमा नेकपा (माले)को महासचिवका रुपमा मदन भण्डारी सार्वजनिक हुनुभयो भने संसदीय वा राजकीय जिम्मेवारीका सन्दर्भमा उहाँले करिब दुई वर्ष प्रतिनिधिसभा सदस्यका रुपमा काम गर्न पाउनुभयो । परिस्थिति कस्तोसम्म भयो भने २०१५ सालको संसदको सभामुख, देशको एउटा सुपरिचित नेता र सादगीको हिसावमा सबैले श्रद्धा गर्ने व्यक्ति अर्थात् तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई ६ महिनाको छोटो समयको सार्वजनिक जीवन बिताउनुभएका मदन भण्डारीले काठमाडौँ क्षेत्र नम्बर–१ बाट पराजित गर्दै जित हासिल गर्नुभयो ।

यो कुनै व्यक्तिको जय वा पराजयको विषय मात्रै थिएन ।  नेपालको कम्युनिष्ट आन्दोलनलाई अन्तराष्ट्रिय ढंगले ध्यानाकर्षण गराउने र जनताका बीचमा स्थापित गराउने एउटा झड्का दिने घटना थियो । मदन भण्डारीको लोकप्रियता कतिसम्म थियो भन्ने कुरा त्यस लगत्तै २०५० माघमा भएको उपनिर्वाचनमा मदन भण्डारीकी जीवनसंगिनी कमरेड विद्या भण्डारीले पनि कृष्णप्रसाद भट्टराईलाई पराजित गर्नुभयो ।

यो सन्दर्भ यहाँ किन उल्लेख गरिएको हो भने कुनै विचारलाई स्थापित गराउने कुरा, त्यसको व्यापकता र लोकप्रियताले व्यक्तिको मात्रै होइन, आन्दोलनको हितलाई प्रतिनिधित्व गर्दछ । यसको उदाहरणका रुपमा मदन भण्डारी हुनुहुन्छ ।
मदन भण्डारीले पार्टीको लोकतान्त्रीकरणको मात्रै कुरा गर्नुभएको छैन । जनताको बहुदलीय जनवादको पृष्ठभूमिलाई हेर्ने हो भने त्यतिबेला कम्युनिष्ट आन्दोलन जडताको शिकार भइरहेको थियो । अन्तर्राष्ट्रियरुपमा रुपमा हेर्दा चिनियाँ र रुसी दुबै धारमा रहेको जडसुत्रवादबाट कम्युनिष्ट आन्दोलनलाई मुक्त गर्दै लोकतान्त्रिक विकल्पका रुपमा अघि बढ्नुपर्ने दायित्व विश्वका कम्युनिष्टहरुका बीचमा थियो । पूर्वी युरोपबाट समाजवाद ढल्दै थियो, बर्लिनको पर्खाल भत्किँदै थियो । समाजवादी देश र त्यहाँका कम्युनिष्ट पार्टीहरुले धमाधम आफूलाई रुपान्तरण गर्दै कम्युनिष्ट पार्टीको नाम र झण्डा फेर्दै थिए ।

त्यस पृष्ठभूमिमा भूमिगत कालबाट गुज्रेर सशस्त्र संघर्षको पृष्ठभूमिबाट आएको पार्टीलाई लोकतान्त्रिक धारमा रुपान्तरण गर्ने र लोकतान्त्रिक आन्दोलनको नेता पार्टीका रुपमा स्थापित गर्ने चानचुने हिम्मतको कुरा थिएन ।

चिनियाँ र रुसी कम्युनिष्ट आन्दोलनभित्र थुप्रै विकृतिहरु थिए । खासगरी १९२४ मा भ्लादिमिर लेनिनको मृत्युपछि पार्टी र राजकीय सत्तामा आएका जोसेफ स्टालिनले रुसी कम्युनिष्ट पार्टी सञ्चालनका क्रममा देखाएका व्यवहारहरुले कम्युनिष्ट आन्दोलन भयावह जडता र आतंकमा फँसेको थियो । एक महाधिवशेनबाट केन्द्रीय कमिटीमा निर्वाचित भएका बहुमत सदस्यहरु अर्को महाधिवेशनसम्म जाँदा या पदच्युत भएका थिए या मारिएका थिए ।

एउटा घटना कम्युनिष्ट आन्दोलनमा बारम्वार चर्चा हुने गर्छ ।  सन् १९५३ मा स्टालिनको निधन भएपछि सन् १९५६ मा रुसी कम्युनिष्ट पार्टीको २० औँ राष्ट्रिय महाधिवेशन भयो । त्यो महाधिवेशनमा तत्कालीन महासचिव निकिता खु्रश्चेभले स्टालिनको नीति र स्वयम् स्टालिनको धेरै चर्को आलोचना गरेर दस्तावेज पेस गरे । रुसी र चिनियाँ कम्युनिष्ट पार्टीबीचको मतभेदको आरम्भ पनि  त्यही १९५६ को रुसी कम्युनिष्ट पार्टीको २० औँ महाधिवेशनबाट सतहमा आएको थियो ।

त्यस महाधिवेशनमा स्टालिनको यति धेरै आलोचना भयो कि त्यहाँ उपस्थित एक जना कमरेडले निकै मधुरो स्वरमा भन्नुभयो– ‘कमरेड ख्रुश्चेभ, तपाईँ पनि पार्टीको केन्द्रीय कमिटीमा हुनुहुन्थ्यो । स्टालिनका यति धेरै खरावीहरु रहेछन् । स्टालिनका नीतिहरुमा यति धेरै कमजोरीहरु रहेछन् । यति लामो समय तपाईँले उहाँसँगै काम गर्दा यो कुरा त्यतिबेलाको केन्द्रीय कमिटीमा किन उठाउनु भएन ?’ ती कमरेडले त्यसो भन्दा ख्रुश्चेभले पछाडि फर्केर बुट बजार्दै भने– ‘कसले भन्यो यो ? तपाईं अघि आएर भन्नुहोस् यो कुरा ।’ स्टालिन कालमा केन्द्रीय कमिटीमा निर्वाचित बहुमत सदस्यहरु अर्को महाधिवेशनसम्म जाँदा पदच्युत भएको वा मृत्युदण्ड भोगेको इतिहास सम्झेर ती कमरेड आफ्नो बोली दोहोर्याउन सकेनन् । खु्रश्चेभवले बुट बजारेपछि हल सुनसान भयो, सन्नाटा छायो । कोही पनि बोलेनन् । फेरि ख्रुश्चेभले आफैँ भने– ‘हो स्टालिनका पालामा मेरो हालत पनि यस्तै थियो । मलाई उहाँका नीति गलत छन् भन्ने लाग्थ्यो । तर, म बोल्न सक्दिनथेँ । अब ती नीतिहरु हामीले सच्याउनुपर्छ ।’

सन् १९४९ मा सत्तामा आएको चिनियाँ कम्युनिष्ट पार्टीको १९५८ बाट सुरु भएको महान सर्वहारा साँस्कृतिक क्रान्तिबारे पनि हामीलाई जानकारी छ । त्यतिबेला कति कमरेडहरुको कत्लेआम भयो ।  ल्यु साओ चि जस्ता चीनको राष्ट्राध्यक्ष भएका व्यक्तिले जेलमा कोचिएर मृत्युवरण गर्नुपर्यो भने देङ साओ पिङ जस्ता नेता पदच्युत भएर कारखानामा कामदारका रुपमा खटिनुपर्यो । ग्याङ अफ फोर वा लिन प्याओलाई दोष दिएर चिनियाँ कम्युनिस्ट पार्टीभित्र खडा भएका समस्याहरुलाई नवरअन्दाव गर्न सकिन्न ।

सबैभन्दा बढी स्वतन्त्रताको वकालत गर्ने र व्यक्तिगत स्वतन्त्रतालाई सामाजिक स्वतन्त्रताको अनिवार्य अङ्ग बनाउने कार्ल माक्र्सको दर्शनबाट दीक्षित भएका कम्युनिष्ट पार्टीहरु आफैँमा नोकरशाही र तानशाहीपनको शिकार भएर कम्युनिष्ट आन्दोलन गल्र्यामगुर्लुम ढल्ने अवस्थामा पुगेको थियो । त्यस पृष्ठभूमिमा मदन भण्डारीले नेकपा (माले) हुँदै नेकपा (एमाले) मा आइपुग्दा जनताको बहुदलीय जनवादको अवधारणा अघि सार्नुभयो । त्यो विश्वा कम्युनिष्ट आन्दोलनका लागि विल्कुल नयाँ कुरा थियो । विल्कुल नयाँ यस अर्थमा पनि थियो कि निर्वाचन लड्ने कुरालाई मात्रै हामीले नयाँ भन्न सक्दैनौँ । किनभने, उहाँले अघि सारेको जनताको बहुदलीय जनवादमा मात्र होइन, बालिग मताधिकारबाट कम्युनिष्ट पार्टी सरकारमा जाने कुरा हाम्रै छिमेकी मुलुक भारतमा सन् १९५७ मा केरलामा आरम्भ भइसकेको थियो । केरलामा निर्वाचनबाट आएको इएमएस नम्बुदरीपादको लोकप्रिय कम्युनिस्ट सरकारलाई दुई वर्ष पनि टिक्न नदिएर जवाहरलाल नेहरुले भङ्ग गरेका थिए ।  सन् १९७७ मा ज्योति बसुको नेतृत्वमा हाम्रो छिमेक पश्चिम बंगालमा कम्युनिष्ट पार्टी सत्तामा आइसकेको थियो ।

त्यसैले हामीले जनताको बहुदलीय जनवादको चर्चा गर्दा यसलाई निर्वाचनदेखि निर्वाचनसम्म मात्र बुझ्नुहुन्न । यो जबजको रणनीति होइन । निर्वाचनको उपयोग गर्ने कुरालाई जननेता भण्डारीले समाजको बहुलता र मानव जीवनको बहुलतासँग जोड्दै सिद्धान्त र दर्शनका रुपमा अंगिकार गर्नु नै यसको मूल विशेषता हो । त्यसपछि जनताको बहुदलीय जनतावदले सबैको ध्यानाकर्षण गरेको छ ।

भारतको कलकत्तामा आयोजित कम्युनिष्ट पार्टीहरुको अन्तर्राष्ट्रिय सम्मेलनमा मदन भण्डारीले अघि सारेको र अभिव्यक्त गरेको धारणा अनि प्रस्तुत गरेको कार्यपत्र विश्वको कम्युनिष्ट आन्दोलको बहसको एउटा केन्द्र बनेको थियो ।
मदन भण्डारीले पार्टी, समाज र राज्यको लोकतान्त्रीकरणको चर्चा गर्नुभएको छ । हामीले जनताको बहुलीय जनवादको चर्चा गर्दै गर्दा आजको बदलिँदो अवस्थामा कम्तीमा पार्टीको लोकतान्त्रीकरण, समाजको लोकतान्त्रीकरण र राज्यको लोकतान्त्रीकरण– यी तीनवटा आयामलाई एक आपसमा अन्तरनिहित गरेर हेर्यौं भने मात्र जबजको सिङ्गो चित्र पाउन सक्छौँ ।

नियन्त्रण र सन्तुलनको सिद्धान्त, शक्ति पृथकीकरणको सिद्धान्त, अभिव्यक्ति स्वतन्त्रता, विदेश नीतिमा स्पष्टता जस्ता विषय राज्य र समाजसँग सम्बन्धित छन् भने पार्टीभित्रको जडताका विरुद्धमा मदन भण्डारीले निर्मम ढंगले अघि सारेका अवधारणाहरु पार्टीको लोकतान्त्रीकरणसँग सम्बन्धित छन् ।

यी समग्र परिस्थिति र आयामहरुलाई राखेर हेर्ने हो जननेता मदन भण्डारीलाई हामी नेपालमा बामे सर्दै गरेको र प्रमुख शक्तिका रुपमा स्थापित भइनसकेको कम्युनिष्ट आन्दोलनलाई मुलप्रवाहीकरण गरेर प्रमुख शक्तिका रुपमा स्थापित गर्ने दूरद्रष्टाका रुपमा पाउँछौँ ।

मदन भण्डारीेले जनताको बहुदलीय जनवादको अवधारणा अघि सारिरहँदा आफ्नै देशका अनुभवहरुलाई पनि पर्याप्त मात्रामा ध्यान दिएको देखिन्छ ।

नेपाल कम्यनिष्ट पार्टीले २००६ सालमा स्थापना भएपछि २००८ सालको नगर निर्वाचनमा लडेर आफूलाई लोकतान्त्रिक प्रतिस्पर्धामा उभ्याएको इतिहास छ । त्यसैगरी २०१५ सालको निर्वाचनमा तल्लो सदनमा ४ र माथिल्लो सदनमा १ सिट जितेर कम्युनिष्ट पार्टीले आफूलाई जनताबाट प्रमाणित हुनुपर्छ भनेर स्थापित गरिसकेको थियो भने पञ्चायतकालमा पनि जनपक्षीय उपयोगको नीति अवलम्बन गरेको थियो । निर्वाचनलाई एउटा ‘ट्याक्टिस‘का रुपमा होइन, अवधारणा (कन्भिक्सन) का रुपमा अंगीकार गरेर मदन भण्डारीले नेपाली समाजको लोकतान्त्रीकरण र अग्रगामी रुपान्तरण गर्नमा साहसिक कदम चाल्नुभएको थियो ।

यिनै कारणहरुले गर्दा हामी तीन दशकपछि पनि मदन भण्डारीका विचार र सिद्धान्तलाई सम्झैदैँ हरेक संकटमा, पार्टीका बैठकमा, महाधिवेशनमा र अन्तरविरोधहरुमा समाधानका लागि ‘मदन भण्डारी भएको भए….‘ भनेर सम्झने गर्छौं ।
समग्रमा भन्नुपर्दा, कम्युनिष्ट आन्दोलनको लोकतान्त्रीकरण, समाजको लोकतान्त्रीकरण र राज्यको लोकतान्त्रीकरणका सन्दर्भमा मदन भण्डारीले अघि सारेका अवधारणाहरु आजको सन्दर्भमा हाम्रा मार्गदर्शन हुन् ।

(रिजाल, नेकपा एमालेका केन्द्रीय सदस्य एवं प्रचार तथा प्रकाशन विभागका उपप्रमुख हुनुहुन्छ)

प्रतिक्रिया दिनुहोस  
मिस इन्फरमेसन, डिसइफरमेसन, डिक फेक र फेक न्युजहरूले दल र दलका नेतालाई प्रहार गरिनु दुखद : उपमहासचिव प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले सूचनाको हक लोकतन्त्रको आधार भएको बताउनुभएको छ ।

कुनै दल फुुटाउने र मिलाउने काम म गर्दिनँ : प्रधानमन्त्री

काठमाडौँ, २९ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दलसम्बन्धी कानुनलाई सच्याउनुुपर्ने आवश्यकता भए पनि

विपद् पश्चातको पुनःनिर्माण तथा पुनः स्थापना योजना स्वीकृत

काठमाडौँ, २८ पुस । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को १६ औँ बैठकले पश्चिम

हालसम्म २२ अर्ब भन्दा बढी रुपैयाँ भुक्तानी

काठमाडौं, पुस २६ उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारको सदासयतालाई कमजोरी नठान्न निर्माण व्यवसायीहरुलाई आग्रह

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई