विगत दुई वर्षमा जस्तै एक प्रकारको मिडिया कू झेलेर ढाड थपिरहने हो भने गठबन्धनको छैंठो दलचाहिँ एमालेका निम्ति भारी पर्ने निश्चित देखिन्छ

मिडिया भनेर यहाँ ‘स्वतन्त्र’ नामको एउटा टालो झुन्ड्याएर कनिकुथी इजेत धान्न सफल समाचार एजेन्सीहरूलाई भन्न खोजिएको हो । पार्टीको एकोहोरो भजन गाउने, मिठामिठा कुरा मात्रै गरिदिने र डामिएर एउटा ट्याग लागिसकेका मिडियामा आएका खबरलाई आफ्नै कार्यकर्ताले पनि सिरियस्ली लिँदैनन् । त्यस्ता ट्वाक थापेर बसेका जस्ता मिडिया जति खोले पनि तात्विक फरक पार्न सक्दैनन् ।
०४६ पछिको नेपाली मिडिया आधारभूतरूपमा प्रो-कांग्रेस हो । उसको विकल्पका रूपमा कम्युनिष्ट भएपछि यो विश्वव्यवस्थाको लाभ कांग्रेसले पाउनु स्वभाविक थियो । कांग्रेसले धेरै प्रयत्न नगर्दा पनि यो विश्वव्यवस्थाले सूचना नियन्त्रणका लागि खडा गरेका मेकानिज्महरूको लाभ उसले स्वत: पाई नै हाल्छ । कांग्रेसले सरह मिडियामा पकड जमाउन एमालेका निम्ति सम्भव नभए पनि त्यसलाई एउटा लेभलमा न्युट्रलाइज गर्ने हदको सूचना संजाल यो तीन दशकमा एमालेले खडा गर्न नसक्नु उदेकलाग्दो छ ।
‘मिडिया त स्वतन्त्र पो हुनुपर्छ, यस्ता कुरा नि गर्दै हिंड्नी’ भन्दै डुक्रनु मन्दिरमा बसेर घण्ट बजाउन्जेल मनमा उत्पन्न हुने आदर्शसिवाय केही होइन । मिडिया प्रो-कांग्रेस मात्रै भएर बस्ने एरा नभई यो त गोदीयुग पर्यो ! यहाँ कसैले यसो कुलधर्म सम्झेला भनी चिताउनै परेन । उपलब्ध वातावरणमै सर्भाइव गर्न सक्नुपर्ने कुरा डार्विनले विकासवादमा बताएका छन् क्यारे ! कि त केजरिवालले झैँ मिडियातन्त्रलाई नै काउन्टर गर्न सक्नुपर्यो, कि त यूपीमा अखिलेशले ‘आप तो बडे ही इमान्दार पत्रकार है’ भन्दै अखडामा उत्रेझैँ लंगोट कस्न सक्नुपर्यो । विगत दुई वर्षमा जस्तै एक प्रकारको मिडिया कू झेलेर ढाड थपिरहने हो भने गठबन्धनको छैंठो दलचाहिँ एमालेका निम्ति भारी पर्ने निश्चित देखिन्छ ।महेश थापा