आफू त कम्युनिस्ट हुनै सकिएन
आफू त कम्युनिस्ट हुनै सकिएन
त्यसै भएर केही पनि गर्न सकिएन
आर. आर. चौलागाईं
देशको सर्वोच्च पदमा जान सकिएन
राजधानीमा आलिसान दरबार बनाउन सकिएन
बैँकहरूमा लाख, करोड र अर्ब जम्मा गर्न सकिएन
भित्रदेखि बाहिरसम्म नोकरचाकर राख्न सकिएन
दर्जनका दर्जन सुरक्षाकर्मी तैनाथ पार्न सकिएन
राष्ट्रको सम्पत्तिमा लूटपाट मच्चाउन सकिएन
यता पनि ठिक्क उता पनि ठिक्क चोचो मिलाउन सकिएन
जनतालाई झुक्याउन सकिएन
भ्रष्ट, नैतिकहीन, कामचोर र बिचौलियाहरूलाई गम्लङ्ङ अँगालो हाल्न सकिएन
यो जुनी त खेरै गयो मेरो केही पनि गर्न सकिएन ।
कहिले यो पार्टी त कहिले त्यो पार्टी चहार्न सकिएन
पार्टिभित्र गुट चलाउन हनुमानहरू भर्ना गर्न सकिएन
नेताहरूका शिरदेखि पाउसम्म तेल लाउन सकिएन
माथि गएर माउनेताहरूको कान फुक्न सकिएन
असल कार्यकर्ताहरूलाई भित्ता लाउन सकिएन
टन्न पैसा दिएर टिकट किन्न सकिएन
मतदाताहरूलाई मरुन्जेल आश्वासन दिन सकिएन
चिया, कफी, कोक र फेन्टाबाहेक अर्थोक पिउन सकिएन
आधारातसम्म रक्सीले मात्तिएर भट्टीमै सुत्न सकिएन
यो जुनी त खेरै गयो मेरो केही पनि गर्न सकिएन ।
दिनदिनै गर्लफ्रेन्डहरू फेर्न सकिएन
बिनाअध्ययन अन्धाधुन्ध सिद्धान्त छाँट्न सकिएन
कवि, गायक, लेखकहरूलाई हेप्न सकिएन
मिडियाकर्मीहरूलाई गुलाम बनाउन सकिएन
सुनको थालमा चौरासी व्यञ्जन हसुर्न सकिएन
मिनरल वाटरले आची धुन सकिएन
रुघा लाग्दा हङकङ, सिङ्गापुर र अमेरिका जान सकिएन
राँगा,भैंसी र भेडाबाख्राहरूसँग देशको जमीन साट्न सकिएन
जात, धर्म र सर्वहाराको राजनीति गर्न सकिएन
यो जुनी त खेरै गयो मेरो केही पनि गर्न सकिएन ।
२०८० असोज १५