भूकम्पमा परेर मृत्यु हुनेको संख्या ८६ , नेपाली सेनाको १६ जनाको मेडिकल टीमसहित प्रधानमन्त्री जाजरकोट प्रस्थान
१८ कातिक । जाजरकोटलाई केन्द्र बनाएर हिजो मध्यराति गएको भूकम्पमा परी जाजरकोट र रुकुममा गरेर भूकम्पमा परेर मृत्यु हुनेको संख्या ८६ पुगेको भने करिब १ सय ४० जना घाइते भएका छन् ।
जाजरकोटमा मात्रै अहिलेसम्म ४४ जनाको ज्यान गएको पुष्टि भएको छ । ज्यान गुमाउनेहरूमा भेरी नगरपालिकाका ३०, नलगाड नगरपालिकाका ६, कुशे गउँपालिकाका ७ र छेडागाड नगरपालिकाका १ जना रहेको छन ।
साथै भूकम्पमा परी जाजरकोटमा ५५ जना घाइते भएको बताइएको छ । घाइतेहरूमध्ये ५ जनलाई थप उपचारका लागि प्रादेशिक अस्पताल सुर्खेत पठाइएको छ भने बाँकीको उपचार जिल्ला अस्पताल र अन्य स्थानीय स्वस्थ्य संस्थामा भइरहेको छ । त्यस्तै छिमेकी जिल्ला रुकुम पश्चिममा पनि भूकम्पले ठूलो क्षति गरेको छ । जिल्ला प्रहरी प्रमुख डीएसपी नमराज भट्टराईका अनुसार रुकुम पश्चिममा अहिलेसम्म ३६ जनाको मृत्यु भएको छ । जाजरकोटसँग जोडिएका आठबीसकोट नगरपालिकामा ३६ जना र सानीभेरी गाउँपालिकामा ८ जनाको ज्यान गएको भट्टराईले बताउनुभयो । रुकुम पश्चिममा भूकम्पमा परी ८५ जना घाइते भएका छन् । यसमध्ये ९ जनाको अवस्था गम्भीर भएकाले हेलिकप्टरमार्फत उद्धार गर्ने तयारी भइरहेको छ ।
यसवीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भूकम्प प्रभावित जिल्लामा प्रस्थान गरेका छन् । आज बिहान नेपाली सेनाकाे हेलिकप्टरबाट प्रधानमन्त्री दाहाल जाजरकोट प्रस्थान गरेका हुन् । नेपाली सेनाको १६ जनाको मेडिकल टीम पनि समाबेश रहेको छ ।