अनेरास्ववियुकी स्थायी कमिटी सदस्य रक्षा बम हिरासतमुक्त भएपछी यस्तो लेखिन स्टाटस
१६ चैत, काठमाडौं । प्रहरीले नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुकी स्थायी कमिटी सदस्य रक्षा बमलाई हिरासतमुक्त गरेको छ ।
बाहिर राखेर पनि अनुसन्धान गर्न मिल्ने सरकारी वकिलको कार्यालयले बताएपछि उनलाई छाडिएको जिल्ला प्रहरी परिसर, काठमाडौँले जनाएको छ ।प्रहरीले पक्राउ गरेपछि उनलाई अनेरास्ववियुले निलम्बन गरेको थियो । बमले एक युवतीको मोबाइलबाट गोप्य तस्बिर र भिडियो हात पारेर उनीसँग ‘ब्ल्याकमेलिङ’ गरेको आरोप छ ।
हिरासत मुक्त भएपछी बमले एक स्टाट लेख्दै घटनाक्रम र षडष्यन्त्रहरुको बारेमा विस्तृत जानकारी दिनेगरी म चाँडै पत्रकार सम्मेलनमार्फत सबैमा प्रष्ट हुनेगरी बताउने भन्दै एक स्टाटस लेखेकी छिन् ।
बमको स्टाटस
मेरो प्रष्टिकरण
केही मिडियामा म रक्षा बम ‘आपराधिक लाभ’को जाहेरीमा पक्राउ परेको भनी आएका समाचारबारे प्रष्टिकरण दिँदैछु । जुन महिलाको उजुरीमा टेकेर प्रहरीले मसँग सोधपुछ गरेको छ उनीविरुद्ध मैले कानूनी लडाइँ लडेर सम्मानित जिल्ला अदालत काठमाडौंबाट मैले न्याय पाएको र निजको हकमा सात दिन कैद,२५००० जरिवाना र १५०००० क्षतीपुर्ती सजाय तोकिएको छ । पीडक व्यक्तिले उल्टै मविरुद्ध दिएको जाहेरीबारे नबुझी प्रहरीले पक्राउ पुर्जी जारी गरेपछि सम्बन्धित ठाउँमा गएर सबै तथ्य प्रमाण बुझाएपछि जिल्ला सरकारी वकिलको कार्यालयबाट म छुटिसकेको छु । म राजनीतिको सुरुआती पाइला चाल्दै गरेकी विद्यार्थी कार्यकर्ताको पक्राउ सम्बन्धी समाचार देशका मूलधारका मिडियाको हेडलाइन बन्नु र त्यो पनि नभएका आरोप र विषयवस्तु जोडिनुले म अचम्मित भएकी छु । सरकारी वकिल कार्यालय नै नपुगी रक्षा बम माथि म्याद थप गरेर अनुसन्धान हुदै भनेर समाचार आउनुले पनि यो सबै घटनाक्रम नियोजित थिए कि भन्ने लागेको छ । यी सबै घटनाक्रम र षडष्यन्त्रहरुको बारेमा विस्तृत जानकारी दिनेगरी म चाँडै पत्रकार सम्मेलनमार्फत सबैमा प्रष्ट हुनेगरी आउनेछु । यस्ता समाचारबाट मेरो व्यक्तिगत जीवनमा परेको असरको क्षतिपूर्ति कसले दिन्छ ? म अनुत्तरित छु ।
अहिले मेरा आफन्त,शुभचिन्तक र साथीसँगीहरुलाई म समाचारमा आएजसरी हिरासतमा नरहेको र न्यायिक तथा राजनीतिक मोर्चाको लडाइँमा अझ सशक्तरुपमा उभिने जानकारी गराउँदै मेरोबारेका भ्रममा नपर्न आग्रह गर्दछु ।
यो बेलामा मलाई ढाडस र सल्लाह सुझाव दिनुहुने सबै शुभचिन्तक,अग्रज नेता तथा संगठनका अध्यक्षलगायत सबैमा आभारी छु ।
धन्यवाद