हामीले गुच्चा खेलिरहेका छैनौँ, यो सरकार विरुद्ध कस्ता षडयन्त्र भइरहेका छन् भन्ने हामीलाई थाहा छ : एमाले उपाध्यक्ष पौडेल
। नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले नेकपा एमाले एकल बहुमत सहित सरकार बनाउने स्थानमा पुगे मात्रै संविधानको रक्षा र संविधानले निर्दिष्ट गरेको दिशामा देशलाई अघि बढाउन सकिने बताउनुभएको छ ।
नेकपा एमाले रामेछापको नवौँ जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रमलाई बुधबार मन्थलीमा सम्बोधन गर्दै पौडेलले एमाले कमजोर भयो भने देश पनि कमजोर हुने बताउनुभयो । ‘संविधानको रक्षा, कार्यान्वयन र समाजवादवादको बाटोमा अघि बढ्ने प्रश्न नेकपा एमालेसँग जोडिएको छ, नेकपा एमालेको भविष्य सिङ्गो राष्ट्रको भविष्यसँग जोडिएको छ’, ढुङ्गेलले भन्नुभयो ।
पौडेलले दुनियाँका संविधानसँग नेपालको संविधान तुलना गर्दा उत्कृष्ट भएको बताउनुभयो । संविधान उत्कृष्ट बनाएर मात्र नपुग्ने बताउँदै पौडेलले संविधानको रक्षा र उचित कार्यान्वयन आवश्यक रहेको बताउनुभयो । संविधानले निर्देशन गरेको दिशा तर्फ समाजलाई लैजानु पर्नेमा उहाँले जोड दिनुभयो ।
नेकपा एमालेलाई भित्तोमा पुर्याउने र माटोमा मिलाउने उद्घोषका साथ आक्रमण गरिएको भए पनि एमालेले त्यसलाई पराजित गरेको पौडेलले बताउनुभयो । २०७९ को निर्वाचन पछि नेकपा एमालेले राष्ट्रिय राजनीतिको निकासको लागि केही पहल गरेको उहाँले स्पष्ट पार्नुभयो । तर एमालेलाई दुई महिनाको बिचमा नै सरकाबाट हटाउने काम भएको उहाँले बताउनुभयो । तर प्रधानमन्त्री पुष्पकमल दाहालले अनुभूत गरेर त्यो गठबन्धन भत्काएर नेकपा एमाले लगायत सम्मिलित सरकार बनेको उहाँले बताउनुभयो ।
अहिलेको सत्ता समीकरणको न्यूनतम साझा सहमति बनेको र जनतामा आशा जगाउने काम भएको उहाँले बताउनुभयो । अहिले पनि यो सरकार भत्काउनको लागि विभिन्न कोसिस भइरहेको उहाँले सुनाउनुभयो । हामीले गुच्चा खेलिरहेका छैनौँ, यो सरकार विरुद्ध कस्ता षडयन्त्र भइरहेका छन् भन्ने हामीलाई थाहा छ, ती षडयन्त्रलाई हामी एक एक गरेर तोडेर अघि बढ्ने छौँ, यो सरकारलाई सकारात्मक हिसाबले काम गर्ने दिशामा अघि बढाइरहने छौँ’, उहाँले भन्नुभयो ।
यो सरकार विरुद्ध पनि खेल्ने विभिन्न खालका प्रयास भएका भन्दै उहाँले एक झड्कामा नै ती प्रयत्न टुटेका उहाँले बताउनुभयो । यो सरकार ताड्नु पर्छ भन्दै समीकरणमा नै रहेर भाषण गर्दै हिँड्नेहरू अहिले हामी यही सरकारमा रहन्छौँ भनेर विज्ञप्ति निकाल्ने तहमा पुगेका उहाँले सुनाउनुभयो । ‘यो सरकार २०८४ सम्म रहन्छ, कसैले यो सरकार ढाल्न सक्दैन, यसको विकल्पमा अर्को सरकार बन्न सक्दैन’, उहाँले भन्नुभयो । उहाँले एमाले कांग्रेस मिलेर सरकार बनाउन नहुने बताउनुभयो । कांग्रेस र एमालेको एजेण्डा पनि नमिल्ने भएकोले कांग्रेसँग सहकार्य हुन नसक्ने उहाँले स्पष्ट पार्नुभयो । ‘दुई वटा प्रमुख पार्टी मिलेर सरकार बनाउँदा लोकतन्त्र कमजोर हुन्छ, कांग्रेसले पनि प्रतिपक्षमा बसेर सिकोस्’, उहाँले भन्नुभयो ।
उहाँले २०८४ सम्म अहिलेकै सरकार जाने र २०८४ को निर्वाचन पछि नेकपा एमाले एकल बहुमतप्राप्त पार्टी बन्ने उहाँले बताउनुभयो । एमालेका नेता कार्यकर्तालाई प्रधानमन्त्री वा मन्त्री बनाउनको लागि मात्र नभई लोकतन्त्र, राष्ट्रियता र समृद्धिको यात्रा सफल बनाउनको लागि भएको उहाँको भनाइ छ । ‘नेकपा एमालेको बहुमतको सरकार राष्ट्रको लागि चाहिएको छ, जनतालको लागि चाहिएको छ’, उहाँले भन्नुभयो ।