एमाले एकल बहुमत सहितको राष्ट्रिय शक्तिका रूपमा स्थापित हुँदा मात्रै देशलाई निकास दिन सकिन्छ : महासचिव पोखरेल
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुकलाई सबै प्रकारका सङ्कटबाट बाहिर निकाल्नु पर्ने बताउनुभयो ।
नेकपा एमाले दाङको १४ औँ जिल्ला अधिवेशनबाट निर्वाचित नेतृत्वलाई शपथ गराउन आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले त्यो सामर्थ्य नेकपा एमालेसँग मात्र भएको बताउनुभयो । तथापि नेकपा एमाले अहिले जुन अवस्थामा छ त्यसले मात्रै राष्ट्रिय राजनीतिको निकास दिन नसकिने उहाँले स्पष्ट पार्नुभयो । त्यसैले नेकपा एमालेले मिसन २०८४ भनेको पोखरेलका भनाइ छ ।
नेकपा एमाले एकल बहुमत सहितको राष्ट्रिय शक्तिका रूपमा स्थापित हुँदा मात्रै देशलाई निकास दिन सकिने पोखरेलले बताउनुभयो । देशको आवश्यकताको आधारमा पार्टीलाई बलियो बनाउने उद्देश्य नेकपा एमालले राखेको उहाँको भनाइ छ ।
पार्टी बलियो बनाउनको लागि वडालाई बलियो बनाउनु पर्ने उहाँले बताउनुभयो । त्यसैले वडालाई बलियो बनाउन ध्यान दिनुपर्ने पोखरेलको राय छ ।
पोखरेलले जनताको समस्यासँग नेतृत्व जोडिनु पर्ने बताउनुभयो । जति धेरै जनताका समस्या पार्टीसँग जोडिन्छन् त्यति नै पार्टी बलियो हुनुपर्ने पोखरेलको भनाइ छ । जनताका समस्या समाधानको बाटो खोजिदिनु पार्टीको दायित्व भएको उहाँले प्रष्ट पार्नुभयो । ‘मान्छेका पीडा सुन्ने वातावरण बनाइदियो भने जनता पार्टीसँग जोडिने प्रक्रिया अगाडि बढ्दछ’, उहाँले भन्नुभयो ।
युवालाई राजनीतिमा जोड्ने कुरामा पनि पार्टीको ध्यान नपुगेको पोखरेलले बताउनुभयो । महिला बिचको काम जति प्रभावकारी बनाउन सक्यो पार्टीलाई त्यति मजबुत बनाउन सकिने भएकोले महिला लक्षित कार्यक्रम अघि बढाउन पोखरेलले सुझाव दिनुभयो ।
उहाँले सहमतिबाट नेतृत्व चयन गरेको भन्दै दाङ जिल्ला पार्टीलाई बधाई दिनुभयो । सहमतिका साथ नेतृत्व चयनका लागि पहल कदमी लिएकोमा निवर्तमान नेतृत्वलाई पोखरेलले धन्यवाद दिनुभयो । दाङमा भएको सर्वसम्मत नेतृत्व चयनले देश भरि एक खालको सन्देश दिएको उहाँले बताउनुभयो ।