इमान बिनको जिन्दगी अन्नको शत्रु हुन्छ, पृथ्वीको भार हुन्छ : अध्यक्ष ओली
काठमाडौं । एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल विश्व राजनीतिमा कसैको पक्षमा वा विपक्षमा नरहेको बताउनुभएको छ ।
शनिबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित राष्ट्रिय युवा संघ नेपालको पूर्ण बैठकलाई सम्बोधन गर्दै ओलीले नेपालको लक्ष विश्व शान्ति भएको बताउनुभयो । ‘हामी कतै तिर लाग्दैनौँ, कतै धुरा पस्दैनौँ’, उहाँले भन्नुभयो ।
एमाले शान्तिपूर्ण ढङ्गले सबै खालका समस्या वार्ताको माध्यमबाट समाधान होस् भन्ने पक्षमा रहेको उहाँले स्पष्ट पार्नुभयो । यस विषयमा युवालाई सचेत बनाउने काम राष्ट्रिय युवा संघ नेपालको भएका उहाँले बताउनुभयो ।
नेपालले कहिल्यै पनि दासता स्विकारेर नआएको र अब पनि दासतालाई नस्विकार्ने उहाँले स्पष्ट पार्नुभयो । संसारका धेरै देश कसै न कसैको अधीन रहँदा पनि नेपाल भने कसैको कसैको अधीनमा नपरेको उहाँले बताउनुभयो । नेपाल निरन्तर स्वाधीन मुलुक रहेको कुरा नबिर्सन उहाँले युवालाई आग्रह गर्नुभयो । ‘हामी गौरवको झण्डालाई तल झर्न दिँदैनौँ, माथि उठाइ रहन्छौँ’, उहाँले भन्नुभयो ।
ओलीले लोकतन्त्रमा बोल्न मात्र होइन खान, लगाउन पनि पाउनु पर्ने बताउनुभयो । त्यसैले एमालले राजनीतिक लोकतन्त्र मात्र होइन सबै खालको अधिकार सहितको लोकतन्त्र परिकल्पना गरेको उहाँको भनाइ छ । मौलिक हक प्राप्त नभएसम्म लोकतन्त्र स्थापित हुन नसक्ने उहाँले धारणा राख्नुभयो ।
ओलीले समाजवाद भनेको नागरिकका ३१ वटा मौलिक अधिकार सहज प्राप्तिको अवस्था भएको बताउनुभयो । समृद्ध नेपाल, सुखी नेपाली परिकल्पना साकार हुँदा मात्र समाजवाद प्राप्त हुन सक्ने उहाँले स्पष्ट पार्नुभयो । गरिबिको निवारण, विभेदको अन्य, सामाजिक समानताबाट मात्र समृद्ध नेपाल, सुखी नेपाली बन्ने उहाँले बताउनुभयो । देशलाई त्यहाँसम्म पुर्याउने अभिभार युवाको काँधमा रहेको उहाँले स्पष्ट पार्नुभयो । ‘कसले गर्छ त ? बच्चाले सक्दैनन्, बूढाबूढीले सक्दैनन्, गर्ने युवाले नै हो’, ओलीले भन्नुभयो ।
ओलीले युवाले बेइमानको कमाई होइन इमानको कमाई गर्नु पर्ने बताउनुभयो । त्यसबाट मात्रै सुशासन कायम हुने उहाँले स्पष्ट पार्नुभयो । बुद्धिले केही काम गर् भनेपछि आफ्नै इमानलाई एक पटक सोध्न भन्दै ओलीले इमानले स्वीकृति दियो भने त्यो काम गर्न युवालाई आग्रह गर्नुभयो । इमानसँग सोधेर काम गर्ने हो भने बुद्धिको बहकाउमा मानिस नपर्ने उहाँको भनाइ छ ।
इमान बिनाको बुद्धि निक्कै खतरनाक हुने ओलीको धारणा छ । मानिसलाई कहिलेकाहीँ चोर बुद्धि पनि आउन सक्ने बताउँदै ओलीले त्यसलाई इमानले रोक्ने बताउनुभयो । इमानले सुशासन कायम गर्ने उहाँको भनाइ छ ।
समाजको दूरगामी विकासको लागि इमानको खेती आवश्यक रहेको ओलीले बताउनुभयो । ‘इमान बिनको जिन्दगी अन्नको शत्रु हुन्छ, पृथ्वीको भार हुन्छ’, ओलीले भन्नुभयो ।
ओलीले इमान तलमाथि पर्यो भने मानिसको भोक र निन्द्रा गुम्ने बताउनुभयो । त्यसैले इमानको कुरा जीवनमा सबैभन्दा महत्त्वपूर्ण हुने ओलीले प्रष्ट पार्नुभयो । सक्रिय इमानले समाजलाई सही दिशामा लैजाने ओलीले बताउनुभयो ।
नेपालमा राष्ट्रका निम्ति लड्ने र कसैको निर्देशमा काम गर्ने शक्तिका बिच लडाइँ चलिरहेको ओलीले बताउनुभयो । राष्ट्रिय शक्ति निर्णायक तहमा नहुँदा देश अहिले अप्ठेरो स्थितिमा रहेको उहाँले स्पष्ट पार्नुभयो ।
एमालेले त्यसैले राष्ट्रिय शक्तिलाई निर्णायक तहमा पुर्याउनको लागि मिसन २०८४ भनेको ओलीले बताउनुभयो । एमालेको सबै शक्ति मिसन २०८४ मा लक्षित भएर परिचालन हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।
ओलीले मिसन २०८४ पुरा गर्ने एमालेको अठोट यथावत् रहेको उहाँले बताउनुभयो । कतिपय सन्दर्भमा कहिलेकाहीँ सम्झौता गर्नुपर्ने भए पनि एमाले आफ्नो अठोट र सङ्कल्पबाट विचलित नभएको ओलीले स्पष्ट पार्नुभयो । ओलीले यो सत्यलाई नबिर्सन युवालाई आग्रह गर्दै सत्यलाई अनुकूलता थप्न पार्टीले अहिलेको निर्णय गरेको बताउनुभयो ।
सामाजिक सञ्जालमा रमाउने युवा पुस्ताले सही गलत निर्क्योल गरेर निर्धक्क भन्न नसकिरहेको ओलीले बताउनुभयो । ‘म छक्क पर्छु कत्ति साह्रो कमजोर प्रवृत्ति होला, कसैले अर्काको ढोकामा लगेर फोहोर फ्याँक्छ ? गलत गर्यौँ भनेर कसैले भन्न सक्दैन, के हालत होला ? यो गलत हो, यस्ता क्रियाकलाप स्वतन्त्र र सभ्य समाजको लागि हुन हुँदैन’, काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साहले सडक विभाग अगाडि फोहोर मिल्काएको प्रति उहाँको आक्रोश थियो ।
छिमेकीसँग चित्त बुझेन भने घरको फोहोर सबै लगेर उसको ढोकामा राखिदिने कुरा कुनै पनि सभ्य समाजमा मान्य नहुने उहाँले प्रष्ट पार्नुभयो । आजको युवा पुस्ताले त्यस्तो कुराको डटेर आलोचना गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । ‘यो एउटा महत्त्वपूर्ण पोस्टमा बसेको मान्छेले गर्न मिल्ने व्यवहार होइन, त्यति पनि भन्न सकिँदैन ?’, ओलीले प्रश्न गर्नुभयो ।
उहाँले राष्ट्रिय युवा संघ नेता कार्यकर्तालाई नेतृत्व र पदको लागि छिनाझम्टि नगर्न आग्रह गर्नुभयो । संगठन भित्र पदको लागि प्रतिस्पर्धा गर्न कुनै आवश्यक नरहेको उहाँले बताउनुभयो । लड्नु पर्ने ठाउँ बाहिर भएकोले आफैँ भित्र नलड्न उहाँले युवाहरूलाई निर्देशन दिनुभयो । छनोटको लागि अप्ठेरो प¥यो भने आपसमा विवाद नगरी पार्टीमा सोध्न आउन उहाँले आग्रह गर्नुभयो ।
पार्टीले एक एक कामका मूल्याङ्कन गरेर बसेकोले कसलाई नेता बनाउनु पर्ने कुरा बताइदिन सक्ने ओलीले प्रष्ट पार्नुभयो । ‘अप्ठेरो प¥यो भने पार्टीमा सोध्न आउनुस्, कसलाई बनाउने हामी भन्दिन्छौँ, हामीले कामको मूल्याङ्कन गरेर बसेका छौँ, नभनेका मात्रै हौँ, हामी धेरै भन्दैनौँ’, उहाँले भन्नुभयो ।
ओलीले युवालाई सानो सानो कुरामा खुम्चिएर नअलमलिन आग्रह गर्नुभयो । युवाहरूले ठुलो र खुल्ला सोच राख्नु पर्नेमा उहाँले जोड दिनुभयो ।