कडाइ गरेर प्रभावकारी रुपमा बजार अनुगमन गर्न आपूर्तिमन्त्री दामोदर भण्डारीको निर्देशन
काठमाडौँ-उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विपद्जन्य अवस्थाको फाइदा उठाउँदै पर्वको मुखमा महङ्गी, कालोबजारी र कृत्रिम अभाव सिर्जना हुनसक्नेतर्फ सचेत हुँदै मातहतका निकायलाई कडाइ गरेर प्रभावकारी रुपमा बजार अनुगमन गर्न निर्देशन दिनुभएको छ।
उहाँले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक राजन पौडेललाई मन्त्रालयमै डाकेर पछिल्लो विपद्को फाइदा उठाउँदै बजारमा हुने ठगी नियन्त्रणमा निर्मम भएर देशव्यापी रुपमा अनुगमन गर्न निर्देशन दिनुभएको हो। ‘बजारबाट हामीलाई पनि विभिन्न माध्यमबाट दिनहुँ महङ्गी, कालोबजारी र कृत्रिम अभावसम्बन्धी जानकारी प्राप्त भइरहन्छ, ती सूचना पनि यहाँबाट विभागलाई प्राप्त होला, तर विभागले देशभरका मातहतका निकायलाई सक्रिय बनाएर अनुगमनलाई तीव्रता दिनुपर्छ’, मन्त्री भण्डारीले भन्नुभयो । साथै उहाँले मन्त्रालयबाट अनुगमनका लागि विभागलाई गर्नुपर्ने सहयोगमा कमी नहुने बताउनुभयो।