भ्रम फैलाइएका छन्, हामीले प्रतिवाद गरेका छैनौँ : महासचिव शंकर पोखरेल
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले दशौँ राष्ट्रिय महाधिवेशन विगतका महाधिवेशन भन्दा भिन्न महाधिवेशन भएको बताउनुभएको छ ।
बिहीबार ललितपुरस्थित चाकुपाटमा एमाले स्कुल विभागद्वारा आयोजित जिल्लास्तरीय नियमित प्रशिक्षणमा दसौँ राष्ट्रिय महाधिवेशनको कार्यदिशा विषयमा प्रशिक्षण दिँदै महासचिव पोखरेलले अरू महाधिवेशनमा एकैपटक नीति र नेतृत्वको विषयमा निरूपण गर्ने गरेकामा यो पटक महाधिवेशनलाई विधान महाधिवेशन र राष्ट्रिय महाधिवेशन गरी दुई पटकमा गरिएको बताउनुभयो । निर्वाचनमा केन्द्रित हुँदा विचारको पक्ष कमजोर हुने भएकोले नीति निर्माणको लागि विधान अधिवेशन गर्न सुरु गरिएको पोखरेलले स्पष्ट पार्नुभयो ।
नेकपा एमाले मदन भण्डारीले प्रतिपादन गर्नुभएको जनताको बहुदलीय जनवादको जगमा टेकेर अघि बढेको पार्टी भएको उहाँले बताउनुभयो । जनताको बहुदलीय जनवाद प्रगतिशील दस्ताबेज भएको पोखरेलले स्पष्ट पार्नुभयो ।
पछिल्लो समय नेता कार्यकर्तामा पढ्ने बानी हराएको भन्दै उहाँले आलोचना गर्नुभयो । पार्टीको दस्ताबेज अध्ययन गर्न छाड्ने र सुनेका कुरामा मात्र बहकिने प्रचलन बढ्दै गएको पोखरेलको भनाइ छ । ‘पढ्न छाडे पछि तर्क गर्ने जाँगरै चल्दैन, थाहा नै छैन त के तर्क गर्नु, आज भ्रम फैलाइएका छन्, हामीले प्रतिवाद गरेका छैनौँ, किन भने हामीले तथ्य पढेकै छैन’, पोखरेलले भन्नुभयो ।
सूचना प्रविधिको युग अहिले मोबाइलमा गएर अड्किएको पोखरेलले बताउनुभयो । ‘मोबाइलमा के के कुरा देखिन्छ, त्यही कुराको आधारमा धारणा बनायो’, उहाँले भन्नुभयो ।
पोखरेलले विचार निर्माणको लागि राम्रा कुराको प्रचार गर्न आवश्यक रहेको बताउनुभयो । विचार निर्माणमा यस कुरामा ध्यान दिन जरुरी रहेको पोखरेलले बताउनुभयो ।