सरकार सञ्चालनको काममा सहयोग गर्न वाग्मती प्रदेशमा पनि नेपाली कांग्रेस र नेकपा एमालेको दुई दलीय संयन्त्र
काठमाडौं । सरकार सञ्चालनको काममा सहयोग गर्न वाग्मती प्रदेशमा पनि नेपाली कांग्रेस र नेकपा एमालेको दुई दलीय संयन्त्र बनेको छ ।
नेपाली कांग्रेस र नेकपा (एमाले) बिच बनेको वाग्मती प्रदेश स्तरीय दुई दलीय संयन्त्रको नेपाली कांग्रेस प्रदेश कार्यसमितिका सभापति इन्द्रबहादुर बानियाँको अध्यक्षतामा आइतबार बसेको दुई दलका प्रदेश स्तरका शीर्ष नेताको बैठकले प्रदेश स्तरको संयन्त्र बनाउने निर्णय गरेको हो ।
ललितपुरमा बसेको दुई दलका नेताहरूको बैठकले संयन्त्रमा नेपाली कांग्रेसको तर्फबाट नेपाली कांग्रेस प्रदेश कार्यसमितिका सभापति इन्द्रबहादुर बानियाँ, वाग्मती प्रदेशका मुख्यमन्त्री तथा वाग्मती प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता बहादुरसिंह तामाङ र नेपाली कांग्रेस वाग्मती प्रदेश कार्यसमितिका उपसभापति चन्द्र महर्जन रहनुभएको छ ।
त्यस्तै नेकपा एमालेका तर्फबाट पार्टीका वाग्मती प्रदेश इञ्चार्ज राजन भट्टराई र प्रदेश अध्यक्ष कैलाशप्रसाद ढुङ्गेल रहनुभएको छ ।
बैठकले संयन्त्र बैठकको संयोजन दुई दलले एक/एक महिनामा पालैपालो गर्ने निर्णय गरेको छ । जस अनुसार २०८१ मङ्सिर मसान्तसम्मको बैठकको संयोजन नेपाली कांग्रेसले गर्ने छ । संयन्त्रको सचिवालयमा नेपाली कांग्रेस र नेकपा एमालेका तर्फबाट एक÷एक जना रहने निर्णय पनि बैठकले गरेको छ ।
बैठकले वाग्मती प्रदेशका १३ वटै जिल्लामा संयन्त्र निर्माण गर्न दुवै दलका जिल्ला तहसँग समन्वय गरी यथाशीघ्र गठन गर्न निर्देशन दिने निर्णय गरेको छ । संयन्त्रको बैठक महिनामा कम्तीमा एक पटक अनिवार्य बस्ने र आवश्यकता अनुसार थप बस्न सक्ने पनि निर्णय भएको छ ।
दलीय संयन्त्र र वाग्मती प्रदेश सरकारका मन्त्रीहरूको संयुक्त बैठक आगामी मङ्सिर ३ गते वाग्मती प्रदेश मुख्यमन्त्रीको कार्यालय हेटौँडामा बसी वाग्मती प्रदेश सरकार गठन भएको एक सय दिनको उपलब्धि र आगामी कार्यक्रमका बारेमा जानकारी लिने निर्णय पनि भएको नेकपा एमाले वाग्मती प्रदेश कमिटी अध्यक्ष कैलाशप्रसाद ढुङ्गेलले जानकारी दिनुभयो ।