अस्थायी र ज्यालादारी कर्मचारीहरूलाई पनि असामाजिक सुरक्षाको दायरामा समेट्ने
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्थायी र ज्यालादारी कर्मचारीहरूलाई पनि असामाजिक सुरक्षाको दायरामा समेट्ने बताउनुभएको छ ।
मंगलबार काठमाडौंमा आयोजित सातौँ सामाजिक सुरक्षा दिवसको अवसरमा बोल्दै प्रधानमन्त्री ओलीले थोरै सेवा गरेकाहरूले समेत आफ्नो काम अवधिको सामाजिक सुरक्षा पाउने गरी कोषमा आबद्ध हुने व्यवस्था मिलाइने बताउनुभयो । ‘अस्थायी, ज्यालादारी, करारमा रहेका सबै कर्मचारीहरूलाई सामाजिक सुरक्षा कोषको दायराभित्र समेट्नुपर्छ, केही दिन मात्र सेवा गरे पनि यो नियम लागू गर्नुपर्नेछ, यसरी थोरै भए पनि उनीहरूको सामाजिक सुरक्षा सुनिश्चित गरिनुपर्छ’, उहाँले भन्नुभयो ।
उहाँले वैदेशिक रोजगारीमा गएका सबै युवालाई पनि सामाजिक सुरक्षा कोषको दायरामा ल्याउन सरकार प्रतिबद्ध रहेको थियो । देशबाहिर रोजगारीमा रहेको २५÷२६ लाख युवालाई कोषमा जोडेर उनीहरूको आर्थिक सुरक्षाको ग्यारेन्टी गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
सरकारले जनताको सुख, समृद्धि र सुरक्षाको उद्देश्य राखेको बताउँदै सामाजिक सुरक्षा कोषले त्यसको ग्यारेन्टी गर्ने बताउनुभयो । सबैको अन्तिम चाहना सुख भएको बताउँदै उहाँले राज्यले त्यसका निम्ति काम गर्ने स्पष्ट पार्नुभयो ।
प्रधानमन्त्रीले सरकारले सामाजिक सुरक्षाको दायरालाई पनि विस्तार गरिने बताउनुभयो । ओलीले ९० दिनपछि योगदानकर्ताका छोराछोरीले पनि कोषबाट लाभ पाउने र एक लाख भन्दा बढी उपचार खर्च लाग्ने योगदानकर्तालाई लाग्ने खर्चको ५० प्रतिशत कोषबाट बेहोरिने घोषणा पनि गर्नुभयो ।
उहाँले संविधानमा गरिएको मौलिक हकका व्यवस्था र दायित्वप्रति सरकार जिम्मेवार र जबाफदेही हुने बताउनुभयो । ओलीले मुलुकलाई गरिबी र पछौटेपनमा नभएको आधुनिक, विकसित र समृद्ध बनाउने दाबी गर्नुभयो ।
ओलीले अहिलेको संविधान र सरकार जनताप्रति जिम्मेवार भएको बताउनुभयो । त्यसैले सरकारले आफ्नो जिम्मेवारी पुरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा कोषअन्तर्गत बढी योगदानदाता र सेवा दिने विभिन्न व्यक्ति र संस्थालाई प्रधानमन्त्री ओलीबाट पुरस्कार प्रदान गरिएको थियो ।