९ अर्ब रुपैयाँ अनुदान र देशको कायापलट हुने योजना हस्ताक्षर गरेर प्रधानमन्त्री ओली स्वदेश फिर्ता
काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनको चारदिने औपचारिक भ्रमण पूरा गरी स्वदेश फर्किनुभएको छ।
बेइजिङबाट हिमालय एयरलाइन्सको चार्टर्ड उडानमा प्रधानमन्त्री ओली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुभएको हो। चीन भ्रमणबाट फर्किएपश्चात विमानस्थलमा पत्रकार सम्मेलनमा कुरा गर्दै ओलीले बीआरआईका परियोजनाहरुमा सम्झौता भएको बताउनु भयो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा प्रधानमन्त्री ओलीलाई उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, नेपाल सरकारका उच्च पदस्थ अधिकृत, सुरक्षा निकायका प्रमुखहरूले स्वागत गर्नुभयो। प्रधानमन्त्री ओलीलाई स्वागतमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो।
चीनले नेपाललाई करिब ९ अर्ब रुपैयाँ अनुदान सहयोग दिने घोषणा गरेको छ । साथै देशलाई कायापलट हुने योजनामा समेत हस्ताक्षर भएको छ । जसमा डडेलधुरामा अमरगढी सिटी हल र झापामा स्पोर्ट्स एन्ड एथलेक्टिस कम्प्लेक्स निर्माण परियोजना पनि ‘बीआरआई सहकार्य फ्रेमवर्क’ मा परेका छन।
यी हुन बीआरआई सहकार्य फ्रेमवर्कमा परेका १० परियोजना
१. टोखा–छहरे सुरुङमार्ग
२. हिल्सा–सिमकोट सडक परियोजना
३. किमाथांका–खाँदबारी सडक र पुल
४. जिलोङ–केरुङ–काठमाडौं सीमापार रेलमार्ग
५. डडेलधुरास्थित अमरगढी सिटी हल
६. जिलोङ–केरुङ–रसुवागढी चिलिमे २२० केभी सीमापार प्रसारण लाइन
७. मदन भण्डारी विश्वविद्यालय
८. काठमाडौं साइन्टिफिक सेन्टर एन्ड साइन्स म्युजियम,
९. दमकस्थित चीन–नेपाल औद्योगिक मित्रपार्क
१०. झापा स्पोर्ट्स एन्ड एथलेक्टिस कम्प्लेक्स