मिस इन्फरमेसन, डिसइफरमेसन, डिक फेक र फेक न्युजहरूले दल र दलका नेतालाई प्रहार गरिनु दुखद : उपमहासचिव प्रदीप ज्ञवाली
काठमाडौं । नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले सूचनाको हक लोकतन्त्रको आधार भएको बताउनुभएको छ ।
आइतबार राष्ट्रिय सूचना आयोगले गरेको सूचनाको हक सम्बन्धी कानुनको अभ्यास विषयको अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले सूचनाको हकले लोकतन्त्र र पारदर्शीतालाई बलियो बनाउन सहयोग गर्ने बताउनुभयो । उहाँले एमाले लोकतन्त्र र सूचनाको हकका विषयमा पूर्ण प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो ।
लोकतन्त्रलाई मर्यादित बनाउन मर्यादित र सही सूचना प्रवाह हुन आवश्यक रहेको उहाँले बताउनुभयो । मिस इन्फरमेसन, डिसइफरमेसन, डिक फेक र फेक न्युजहरूले दल र दलका नेतालाई प्रहार गरिनु दुखद भएको उहाँले स्पष्ट पार्नुभयो । ‘लोकतन्त्रलाई मर्यादित कसरी बनाउने, लोकतन्त्रले दिएको अधिकारलाई सही सदुपयोग हुने व्यवस्था कसरी बनाउने भन्ने कुरालाई हेर्नुपर्छ’, उहाँले भन्नुभयो ।
राजनीतिक दलहरू पनि संविधान र कानुन मातहतमा रहेर नै काम गर्ने उहाँले बताउनुभयो । तर उनीहरूको बृहत् उत्तरदायित्व आम जनतासँग सम्बन्धित ज्ञवालीले स्पष्ट पार्नुभयो । ‘उनीहरूले गलत गरे भने जनताले आवधिक निर्वाचन मार्फत दण्डित गर्ने व्यवस्था पनि छ, यदि दलहरूले गल्ती गरे प्रचलित कानुनबाट पनि दण्डित हुन्छ’, उहाँले भन्नुभयो ।
दलहरूको आम्दानीको आर्थिक जीवनलाई पारदर्शी गर्ने हो भने राज्यको लगानीलाई पनि जोड्नु पर्ने उहाँले बताउनुभयो । त्यसो गरियो भने तिमीहरूले कहाँ खर्च गर्यो भनि माग्ने हक हुने उहाँको धारणा छ । यसो गर्दा दलको जीवनलाई पारदर्शी बनाउन सहयोग गर्ने ज्ञवालीले स्पष्ट पार्नुभयो ।
सरकारले अध्यादेश ल्याउन सक्ने बताउँदै ज्ञवालीले यो संसद् छल्नको लागि नल्याएको बताउनुभयो । संसद्को बैठक सुरु हुने बित्तिकै अध्यादेश अनुमोदनको लागि जाने भएकोले संसद्ले पास नगरे त्यो स्वतः खारेज हुने उहाँले स्पष्ट पार्नुभयो ।