उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलको यस्तो आयो स्टाटस
राष्ट्रिय गौरवको आयोजनाको रुपमा निर्माणाधीन सिद्धबाबा सुरुङमार्गको मुख्य सुरुङ ‘ब्रेक थ्रु’ भएपछी उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सामाजिक सन्जालमा एक स्टाटस लेख्दै सुरुङ्मार्ग निर्माणको निर्णयमा पुग्दा कतिपयले यसलाई हांसो मजाकको विषय बनाएको उल्लेख गर्नुभएको छ ।
हेर्नुस उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलको स्टाटस
सिध्दबाबा सुरूङमार्गको सपना साकार हुँदैछ !
बर्षातमा मात्र होइन हिउंदमा समेत पहिरो खसेर कैयौंको ज्यान लिएको सिद्धबाबाको कुहीरे भीरले हामीलाई बर्षौं दुःख दियो । अत्यन्त असुरक्षित यो सडकलाई सुरक्षित बनाउने थुप्रै विकल्पमा हामीले छलफल गर्यौं । देश,विदेशका विज्ञ प्राविधिकहरुसहितको विस्तृत अध्ययनबाट अन्त्यमा हामी सुरुङ्मार्ग निर्माणको निर्णयमा पुग्यौं । तर कतिपयले यसलाई हांसो मजाकको विषय बनाए । चुरे भीरमा सुरुङमार्ग सफल हुनै नसक्ने जिद्दी गरे । बजेट सक्न खोजेको आरोप लगाए । तर हामी मृत्यु मार्गलाई जीवनमार्ग बदल्ने अभियानमा अविचलित भएर लागिरह्यौं । फलस्वरुपः आज हामी यस सुरूङमार्गको ब्रेक थ्रु सेलिब्रेसनको महत्वपूर्ण क्षनमा आइपुगेका छौं ।
आफैले देखेको सपना सोंचे भन्दा चांडै पुरा हुन लाग्दा हामी हर्षविभोर छौं । त्यो भन्दा ठूलो हर्ष नेपालमा सडक सञ्जालहरुलाई सुरुङमार्गहरुले जोड्ने तहमा हामी आइपुगेका छौं । सिद्धवावाको यो सुरुङमार्ग अब छोटो समयभित्रै सञ्चालनमा आउनेछ, यात्रुहरुले सुरक्षित यात्रा गर्नेछन् र यही सुरुङमार्गबाट पसेर हजारौं, लाखौं यात्रूहरू, पर्यटकहरु पाल्पा हुंदै पोखरा लगायतका पहाडी र हिमाली क्षेत्रमा प्रस्थान गर्नेछन् ।
खुसीको यस क्षणमा सिद्धार्थ राजमार्गको सिद्धबाबा खण्डमा सुरूङमार्ग निर्माण गर्न हामीलाई मार्गदर्शन / निर्देशन गर्नुहुने सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूप्रति हार्दिक सम्मान ब्यक्त गर्दछु ।