कमजोरले शासन गर्ने होइन, ठुला दललाई सहयोग गर्ने हो : महासचिव शंकर पोखरेल
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुक राजनीतिक अस्थिरता र आर्थिक संकटमा गुज्रिएको बेला एमाले नेतृत्वको वर्तमान सरकार बानेको बताउनुभएको छ ।
आइतबार बिहान प्रेस चौतारी नेपाल महोत्तरीले बर्दिबासमा आयोजना गरेको पकार सम्मेलनमा बोल्दै पोखरेलले दुई पार्टी मिलेर राजनीतिक स्थायित्व गर्ने सोचका साथ अहिलेको सरकार बनेको बताउनुभयो ।
यो बिचको अवधिमा केही सुधारका काम भएको र त्यसको परिणाम देखिन लागेको उहाँले बताउनुभयो । नयाँ सरकार बनेपछि पुँजीगत खच बढेको, विदेशी मुद्राको सञ्चिति बढेको तथा आर्थिक क्षेत्र चलायमान भएको उहाँले बताउनुभयो । तथापि लगानी र आर्थिक क्रियाकलापको क्षेत्रमा केही समस्या देखिएको कारण दुई दलीय संयन्त्र बनाएर सरकाले आर्थिक क्रियाकलाप सुधारको लागि सरकाले पाँचवटा अध्यादेश ल्याएको उहाँले स्पष्ट पार्नुभयो ।
संसदीय प्रक्रियामा कानुन बनाउन केही लामो समय लाग्ने र मुलुकको आर्थिक सङ्कट लामो समयसम्म पर्खेर बस्ने अवस्था नभएकोले सरकाले त्यसको सुधारका लागि ती अध्यादेश ल्याएको उहाँले बताउनुभयो । नेपालका व्यावसायिक संस्थाहरूले अध्यादेशको खुलेर समर्थन गर्नुले पनि यसको आवश्यकता पुष्टि भएको पोखरेलको भनाइ छ ।
राजनीतिक अस्थिरतामा खेल्न चाहनेहरूले यो सरकार आजै ढल्छ, भोलि नै ढल्छ भन्ने प्रचार गरिरहेका भए पनि त्यसमा कुनै सत्यता नरहेको उहाँले बताउनुभयो । प्रतिपक्षमा हुँदैमा विरोध नै गर्नुपर्छ भन्ने मानसिकता त्याग्नु पर्नेमा उहाँले जोड दिनुभयो । दुई पार्टीको समझदारीमा बनेको सरकार भएकोले सरकार ढल्ने कुनै सम्भावना नरहेको उहाँले बताउनुभयो ।
लोकतन्त्रमा जनताले पत्याएका दलले नै शासन गर्नुपर्ने बताउँदै उहाँले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अहिले गठबन्धन अप्राकृतिक भयो भन्दै मजाक गरेर हिँड्नु भएको पोखरेलले बताउनुभयो । ‘कमजोरले शासन गर्ने होइन, ठुला दललाई सहयोग गर्ने हो, कमजोरले शासन गरेर देश कहिल्यै बन्दैन, बलियाहरूले नै हो, जनादेश पाएकाले नै हो देशको नेतृत्व गर्ने’, उहाँले भन्नुभयो ।
मधेसका समस्याका विषयमा एमाले अति संवेदनशील रहेको उहाँले बताउनुभयो । मधेसको विकास कसैले गर्छ भने त्यो एमालेले मात्र गर्ने पोखरेलले प्रष्ट पार्नुभयो ।
नीतिगत रूपमा मुलुक सञ्चालन गर्न नसक्दासम्म देशले निकास नपाउने उहाँले बताउनुभयो । मुलुकलाई विकासको बाटोमा एउटा पार्टीले बहुमत सहित पाँच वर्षसम्म नेतृत्व गर्न पाउने उहाँले स्पष्ट पार्नुभयो ।
आउने चुनावमा कांग्रेस र एमाले बिच एक्लाएक्लै चुनाव लड्ने सहमति भएको उहाँले बताउनुभयो । ठुला पार्टीको बुई चढेर साना पार्टीले चुनाव जित्दा देशमा अस्थिरता भएको उहाँको भनाइ छ ।