देश बनाएरै छाड्छौँ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले धेरै संस्था खोल्दा स्वीकार्य संस्थाको कमी हुने बताउनुभएको छ ।
जापानको टोकियोमा आइतबार प्रवासी नेपाली मञ्च राष्ट्रिय कमिटी जापानले आयोजना गरेको नेपालको आर्थिक विकासमा प्रवासी नेपालीहरूको लगानीका अवसर र चुनौतीहरू विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै पोखरेलले धेरै संस्था हुँदा ती आवाजलाई सम्बन्धित निकायले सहजै स्विकार्न नसक्ने बताउनुभयो । त्यसैले धेरै पार्टी होइन, धेरै संस्था होइन, बलिया पार्टी र संस्था चाहिन्छ’, उहाँले भन्नुभयो ।
राजनीतिक स्वतन्त्रता नभएको बेला राजनीतिक दल खोल्ने र संगठित गर्ने कुराको महत्त्व हुने भए पनि लोकतन्त्रमा आइसकेपछि धेरै दल भन्दा पनि बलिया दल आवश्यक पर्ने उहाँले बताउनुभयो । बलिया राजनीतिक दलले मात्र स्थिरता, सुशासन र समृद्धिका लागि काम गर्ने पोखरेलले स्पष्ट पार्नुभयो । ‘तानासाही शासन व्यवस्थामा पार्टी वा संस्था खोल्ने कुरा बहादुरी थियो, अहिले संविधानले नै स्वतन्त्रता दिएको छ, अब संस्था खोल्ने बहादुरी होइन, संस्थालाई स्वीकार्य बनाउने कुरा अब विषय बनाउनु पर्छ’, उहाँले भन्नुभयो ।
समय सीमित भएकोले थोरै संस्था भए भने संस्था व्यवस्थापन गर्न सहज हुने उहाँले बताउनुभयो । अब समय व्यवस्थापनमा ध्यान दिन नसक्ने हो भने अघि बढ्न नसकिने उहाँले स्पष्ट बताउनुभयो । ‘ पछौटेपनको प्रमुख कारण समयलाई पछ्याउन नसक्नु हो, विकास र समृद्धिका लागि समयलाई पछ्याउन जरुरी छ’, पोखरेलले भन्नुभयो ।
जापनिजहरू समयको पालना गरेर समृद्ध भएका आफूले अनुभव गरेको उहाँले बताउनुभयो । त्यस्तो मुलुकमा बस्ने नेपालीहरू समेत समय प्रति सचेत नभएका उहाँले स्पष्ट पार्नु भयो । ‘यहाँ बस्नेलाई समयको गतिमा हिँड्न सिक्नु पर्ने रहेछ भने नेपालमा बस्नेलाई थाहा नै छैन, उहाँहरूलाई गाली गरेर भएन, सिकाउनु पो पर्यो त, समयलाई सिक्न सक्यो भने विकास र समृद्धिमा योगदान पुर्याउन सकिन्छ, जापानका बास्नेले नेपालीलाई समय सिकाएर योगदान गरिदिनु पर्यो’, उहाँले भन्नुभयो ।
काम गर्ने मानिसलाई सम्मान गर्ने र अनुशासनको कुरा नेपालीले जापानबाट सिक्नु पर्ने उहाँले बताउनुभयो । देशको प्रश्नमा देशका पक्षमा उभिनु पर्दछ भन्ने कुरा पनि जापानीबाट सिक्नु पर्नेमा उहाँले जोड दिनुभयो । ‘राज्य बनाउने चिन्तन हामीले सिक्नु पर्दछ’, उहाँले भन्नुभयो ।
पोखरेलले कमाएको पुँजी नेपाल पठाएर मात्र देश नबन्ने बताउँदै जापानको प्रविधि, सिप र क्षमता देशको लागि प्रयोग गर्न आग्रह गर्नुभयो । शानको लागि लगानी हैन स्वाभिमानको लागि लगानी गर्न एनआरएनहरूलाई उहाँले आग्रह गर्नु भयो ।
लगानी गर्ने भनेर घोषणा गरेर मात्र नहुने बताउँदै उहाँले हुनेहरूलाई देशमा दत्त–चित्त भएर लगानी गर्न आग्रह गर्नुभयो । ‘देश बनाउनको लागि हामी आएको हौँ, समस्या आउँदा भाग्दैनौँ, समस्या समाधान गरेर अघि बढ्ने हो, देश बनाएरै छाड्छौँ’, उहाँले भन्नुभयो ।
राज्य कमजोर भयो भने देश नबन्ने बताउँदै पोखरेलले देश बनाउन प्रधानमन्त्री अधिकार सम्पन्न हुनुपर्ने बताउनुभयो । जापानका प्रधानमन्त्रीले त्यही अधिकार प्रयोग गरेर देश बनाउन सक्नु भएको उहाँको धारणा छ ।