सिङ्गो पार्टी एक ढिक्का भएर अध्यक्षलाई स्थापित गर्नुपर्छ : महासचिव पोखरेल
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालको राजनीतिमा साना पार्टीले ठुला पार्टी माथि शासन गर्न लागेपछि कांग्रेस र एमाले मिलेको बताउनुभएको छ ।
नेकपा एमाले विराटनगर महानगर कमिटीको जरा केन्द्रित अभियान उद्घाटन तथा प्रशिक्षण कार्यक्रमलाई शनिबार मोरङको विराटनगरमा सम्बोधन गर्दै ३२ सिटे पार्टीले पाँचै वर्ष शासन गर्ने कुरा गर्न लागेपछि दुई ठुला दल मिल्न बाध्य भएका बताउनुभयो । राजनीतिक अस्थिरता मच्चाएर त्यही अस्थिरतामा खेल्ने काम भएपछि अस्थिरतालाई रोक्न बलिया पार्टी मिल्नु परेको उहाँले सुनाउनुभयो ।
नेपालमा राजनीतिक अस्थिरताको हाबी भएपछि संविधान परिवर्तन गरेर भए पनि स्थायित्व प्रदान गरी नागरिकको निराशा चिर्नु पर्छ र देशलाई समृद्धिको बाटोमा अघि बढाउनु पर्छ भनेर दुई दल एक ठाउँमा उभिनु परेको उहाँले बताउनुभयो । ‘आज जनतामा जुन प्रकारको निराशा छ, कुण्ठा छ, युवा पलायन छ, यो कुरालाई रोक्न नसक्ने हो भने हामीले ल्याएको परिवर्तनलाई जोगाउन सकिन्छ र ?’, उहाँले प्रश्न गर्नुभयो ।
वर्तमान सरकार नबन्दासम्म सडकमा एक खालका रमिता सुरु भएको उहाँले स्मरण गराउनुभयो । राजा आऊ देश बचाउ भन्ने नारा समेत विगतमा सडकबाट लागेको उहाँले स्मरण गराउनुभयो । ‘मुलुकलाई निशाबाट जोगाउन नसके प्रतिगमन तर्फ जान लागेको राजनीतिलाई फर्काउन सकिँदैन भन्ने अठोटका साथ हामी मिलेका हौँ’, उहाँले भन्नुभयो ।
कांग्रेस र एमाले मिलेर सरकार बनाएपछि व्यवसायीहरूमा उत्साह बढेको उहाँले बताउनुभयो । उद्योगी व्यवसायीहरूले यो सरकार बनेपछि सोचे भन्दा पनि राम्रो काम भएको भनेर खुल्ला रूपमा नै भन्न लागेको उहाँले सुनाउनुभयो ।
एमाले र कांग्रेसको अहिले संयुक्त सरकार भए पनि आउने निर्वाचनमा दुई दल अलग अलग चुनाव लड्ने उहाँले बताउनुभयो । त्यसैले एमाले संगठन निर्माणको अभियानमा लागेको उहाँले प्रष्ट पार्नुभयो । सोही अभियानलाई सफल पार्न गाउँ केन्द्रित अभियान सुरु गरिएको उहाँले बताउनुभयो । यो अभियान नेता कार्यकर्ताको कामको मूल्याङ्कन गर्ने अभियान पनि भएको पोखरेलले स्पष्ट पार्नुभयो ।
समृद्ध नेपाल सुखी नेपालीको लक्ष प्राप्तिको लागि यो पार्टीले गर्न सक्दछ भन्ने विश्वास नागरिकलाई जगाउनु पर्ने उहाँले बताउनुभयो । नागरिकको पार्टी प्रतिको आकर्षण कामबाट नै बढाउनु पर्नेमा पोखरेलले जोड दिनुभयो । जनताले भोगिरहेको समस्या समाधान गर्ने गरी योजना बनाएर काम गर्न पोखरेलले पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिनुभयो । ‘कुन वडामा के गर्ने भन्ने सोच र दृष्टिकोण बनाउनु पर्दछ, यसो गर्दा मात्र जनता पार्टीसँग जोडिन्छ’, उहाँले भन्नुभयो ।
जनतालाई राजनीतिमा जोड्ने हो भने जनतासँग बसेर उनीहरूका समस्या माथि केन्द्रित रहेर छलफल गर्नुपर्ने पोखरेलले बताउनुभयो । अहिलेको जरा केन्द्रित अभियान यसैमा केन्द्रित रहेको स्पष्ट पार्नुभयो ।
नीति र नेतृत्वको एकताले मात्रै पार्टीले सफलता प्राप्त गर्न नसक्ने बताउँदै उहाँले यसको लागि समग्र पार्टी भित्र नै एकता आवश्यक रहेको बताउनुभयो । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपाली राजनीतिमा सबैभन्दा बढी योगदान गरेको, इतिहासलाई वस्तुनिष्ठ ढङ्गले मूल्याङ्कन गर्ने सक्ने, नेपाली समाजलाई सबैभन्दा गहिरो गरी बुझ्न सक्ने र इतिहासलाई वस्तुनिष्ठ ढङ्गले बुझ्न सक्ने नेता भएको बताउँदै पोखरेलले सिङ्गो पार्टी एक ढिक्का भएर उहाँलाई स्थापित गर्नुपर्ने बताउनुभयो । यस्तो सामर्थ्य भएको नेता पार्टी अध्यक्ष भएको अवस्थामा नेकपा एमाले मिसन २०८४ लिएर अघि रहेको पोखरेलले स्पष्ट पार्नुभयो । यस्तो बेला पार्टी भित्र माथिदेखि तलसम्म थप एकता आवश्यक रहेको स्पष्ट पार्नुभयो ।