मरिसेकेको राजतन्त्र फर्कन सक्दैन : योगेश भट्टराई
काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले सामाजिक सञ्जालको नियमन आवश्यक रहेको बताउनुभएको छ ।
बिहीबार प्रेस चौतारी नेपाल सुर्खेतले आयोजना गरेको पत्रकार भेटघाटमा कार्यक्रममा बोल्दै भट्टराईले नेपालमा डिजिटल प्लेटफर्महरू कानुन अनुसार दर्ता गरेर सञ्चालन गर्नुपर्ने बताउनुभयो । उहाँले अन्य देशमा पनि यस्तो व्यवस्था भएको बताउनुभयो । ‘ नेपालमा मात्रै छाडा हुनु हुँदैन, देश सानो, ठुलो हुनसक्छ तर आचरण सबैले पालना गर्नुपर्छ’, उहाँले भन्नुभयो ।
पत्रकार भेटघाट कार्यक्रममा बोल्दै भट्टराईले कर्णालीको विकास सरकारको पहिलो प्राथमिकतामा रहेको बताउनुभयो । सुर्खेत विमानस्थलको धावनमार्ग विस्तार, कर्णालीका जलविद्युत् आयोजना, पर्यटन र पूर्वाधार विकास सरकारको प्राथमिकतामा रहेको उहाँले जानकारी दिनुभयो ।
अहिले राजा फर्काउने भन्दै केही पश्चगमनकारीहरु लागिरहेका बताउँदै भट्टराईले नेपालमा राजतन्त्र समाप्त हुनुमा स्वयं पूर्वराजा ज्ञानेन्द्रकै हात रहेको स्पष्ट पार्नुभयो । ‘राजतन्त्रको अन्त्य हामीले गरेको होइन, स्वयं पूर्वराजाले नै त्यसको आधार तयार गरेका हुन्, अब मरिसेकेको राजतन्त्र फर्कन सक्दैन’, उहाँले भन्नुभयो ।