सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पुरा गर्न एमालेका कार्यकर्ताहरू सक्रिय रूपमा लाग्नु पर्छ ः उपमहासचिव ज्ञवालीले
नेकपा एमालेको उपमहासचिव एवं स्कूल विभाग प्रमुख प्रदीप ज्ञवालीले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पुरा गर्न एमालेका कार्यकर्ताहरू सक्रिय रूपमा लाग्नु पर्ने बताउनुभएको छ।
पार्टीको दमक नगर कमिटीले आयोजना गरेको दुई दिने प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उपमहासचिव ज्ञवालीले पार्टीलाई भइरहेको आन्तरिक बाह्य हमलालाई सामना गर्न हरेक नेता र कार्यकर्ता तयार रहनु पर्ने पनि उहाँले बताउनुभएको छ।
प्रशिक्षणको पहिलो दिन उपमहासचिव ज्ञवालीले एमालेका कुन तहका नेता तथा कार्यकर्ताको भूमिका के कस्तो हुनुपर्दछ भन्ने विषयमा स्पष्ट पार्नु भएको थियो। उहाँले स्थानीय तहका जनप्रतिनिधिहरूले पार्टीसँग कसरी समन्वय गर्ने र पार्टीका विकास निर्माणका योजनाहरूलाई कसरी पालिकाका योजनामा रूपान्तरण गर्ने भन्ने विषयमा पनि स्पष्ट पार्नुभएको छ।
पार्टी कार्यकर्ताहरूले सङ्गठन निर्माणमा वैचारिक ढङ्गबाट लाग्न सकुन् भनेर प्रशिक्षक प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको नगर कमिटी अध्यक्ष राम पौडेलले जानकारी दिनुभयो ।
प्रशिक्षणमा दमकको भूगोलमा रहेका १०६ जना कार्यकर्ताको सहभागिता रहेको छ । प्रशिक्षणमा पार्टीको १० औं महाधिवेशनद्वारा पारित नीति, सिद्धान्त, कार्यक्रम र कार्यदिशा, सामाजिक रुपान्तरणका लागि मार्क्सवादी विस्वदृष्टिकोण, पार्टीको कार्यशैली, पद्धति र अनुशासन लगायत विषयमा जानकारी गराइने छ।
शनिवार बेलुका सम्म हुने यो प्रशिक्षणमा पार्टी स्कुल विभागका सचिव घनश्याम कोइला, सदस्यहरु पर्शुराम मेघी गुरुङ, सुन्दर लामिछाने, केन्द्रीय कमिटी सदस्य रोमनाथ ओली लगायतले विभिन्न विषयमा सहजीकरण गर्ने तालिका मिलाइएको नगर कमिटी सचिव गिरेन्द्र चौँलागाईले जानकारी दिनुभयो ।
कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य एवं झापा इन्चार्ज रोमनाथ ओली, केन्द्रीय सदस्य एवं झापा क्षेत्र नं ४ का इन्चार्ज गोविन्द थापा लगायतको उपस्थिति रहेको थियो ।