सम्पादकीय
दशैंको टीका लगाउन राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पुगेका एक पूर्व पदाधिकारीको तस्वीर यो साता विभन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमा छ्यापछ्याप्ति पोष्ट भए । तीमध्ये अधिकांशले उच्च ओहोदाका मानिसले घुँडा टेकाउनु एक हिसाबले सामन्ति शैलीको परिचायक थियो भनि आलोचना गरे । राजतन्त्रका बेला राजा रानीले यसै गर्ने गर्दथे भनि धेरैको टिप्पणी आयो ।
हो, माथिल्लो ओहोदामा रहेका हरेक व्यक्तिबारे जनताले सहजै प्रश्न गर्न सक्छन् । अझ जनमतबाट निर्वाचित पदाधिकारीबारे जनताले पक्ष-विपक्षमा आफ्नो अभिमत राख्न पाउनु सामान्य कुरा नै हो । यो लोकतन्त्रको सुन्दर पक्ष पनि हो । राष्ट्रपतिको हातबाट टीक ग्रहण गर्दैगर्दाको फोटोबारे लामो बहस र विवेचना हुनुले जनता आफ्ना जननिर्वाचित पदाधिकारीबारे कसरी सुक्ष्म तरिकाले नियाल्दै छन् भन्ने कुरा उजागर गरेको छ ।
हुन त ठेस लाग्न ठूलो कुरा चाहिदैँन् । सानै ढुंगा नै काफी छ । जनताले देशको सर्वोच्च स्थानमा रहेका जननिर्वाचित पदाधिकारीबाट टीको ग्रहण गर्दा घुँडा टेक्नुपर्ने पो हो कि भन्ने ढंगले शंका गरे । त्यसैलाई ठेसका रुपमा व्याख्या गरे । आफ्नो मतबाट निर्वाचित पदाधिकारीले घुँडा टेकाएको विषयलाई आम समुदायले आफूलाई नै ठेस पुर्याएको विषय मानेर हेरे । शंका गरे । त्यो शंकाको सुविधा राष्ट्रपति कार्यालयको व्यवस्थापकीय कमजोरीले प्रदान गर्यो ।
माथिल्लो ओहोदामा रहने हेरक पदाधिकारी वा नेताबाट जनताले जनहित हुने विषय आशा गर्छन् । कतिपय अवस्थामा उनैको सिको गर्छन् । तीनैलाई आफ्नो आदर्श मान्छन् । तर ती पदाधिकारी रहेका निकायबाट हुने साना कमजोरी पनि जनताका लागि ग्रह्य हुँदैन । राष्ट्रपतिसामु घुँडा टेक्दै टीको लगाएको विषय उनीहरुलाई ग्राह्य भएन किनभने राष्ट्रपति व्यक्ति होइन – सबैको साझा संस्था हो ।
केही मिडियाले राष्ट्रपति कार्यालयको हवाला दिँदै तोकिएको समयमा नपुग्ने पूर्वपदाधिकारी र नेताका कारण समस्या आएको भनी समाचार बाहिर आएको छ । यद्यपी आधिकारीक धारण आउन अझै बाँकी छ । काम गर्दै जाँदा कँहि कतै कमजोरी हुन सक्छ । कमजोरीलाई ढाकछोप गरेर होइन- स्वीकार गरे पनि जनताको मन जित्न सकिन्छ । जनताले मन पराएर जिताएका निर्वाचित पदाधिकारीले जनतासामु आफ्नो कमजोरी स्वीकार्न असजिलो मान्नु हुँदैन ।
अर्कोतिर राष्ट्रपति देशकै गरिमामय पद हो । जनस्तरबाट हुने आलोचना रचनात्मक र मर्यादित हुन पनि उत्तिकै आवश्यक छ । हामीले राष्ट्रपतिलाई कुनै दल वा नेताका रुपमा दन्तमझान गर्यो भने त्यसले सही अर्थमा रुपान्तरणतर्फ अग्रसर गराउँदैन । बरु दलीय बनाउँछ । त्यसैले सबै पक्षले आफ्नो गरिमा राख्न आवश्यक छ ।