मृत गैँडामध्ये १९ को हाडखोर मात्रै


– नारायण अधिकारी चितवन, १२ वैशाख (रासस) : चितवन राष्ट्रिय निकुञ्जमा प्राकृतिक कारणले मरेका गैँडामध्ये आधा जति कुहिएको अवस्थामा भेटिएका छन् । चालू आर्थिक वर्षको साउन यता ४१ वटा गैँडा प्राकृतिक कारणले मरेका छन् । तीमध्ये १९ वटाको कुहिएका कारण लिङ्ग पहिचान हुनसमेत सकेको छैन । निकुञ्जका सूचना अधिकारी गोपाल घिमिरेका अनुसार लिङ्ग पहिचानसमेत हुन नसकेका कतिपय गैँडाको हाडखोर मात्र भेटिएका छन् । तीमध्ये कतिपयको हाडखोरमा लेउ लागेको अवस्थामा भेटिएका थिए । घिमिरेको भनाइमा लिङ्गसमेत पहिचान गर्न नसकिएका अधिकांश गैँडा विगतका वर्षहरुमा मरेका गैँडा हुन । उहाँले भन्नुभयो “एक वर्षमा २२÷२५ को हाराहारी गैँडा प्राकृतिक कारणले मरेको पाइएको छ ।” यस वर्ष मृत सङ्ख्यामा वृद्धि देखिएको भए पनि पहिले मरेका गैँडाका कारण सङ्ख्या बढि भएको उहाँले बताउनुभयो । घिमिरेका अनुसार निकुञ्जले चालू आर्थिक वर्षमा पटकपटक पूरै निकुञ्जको खानतलासी (स्विप अपरेसन) गरेका कारण पहिले मरेका धेरै गैँडा फेला परेका हुन् । विगतका वर्षहरुमा भन्दा बढी गैँडा प्राकृतिक कारणले नमर्ने उहाँको भनाइ छ । प्राकृतिक कारणले मरेको अवस्थामा भेटिएका अधिकांश गैँडा अमलटारी र कसरा क्षेत्रका रहेका छन् । निकुञ्जको तथ्याङ्कअनुसार हालसम्म मृत भेटिएका गैँडामध्ये २० वटा अमलटारी र १४ वटा कसरा क्षेत्रका रहेका छन् । अन्य गैँडा बगई, सौराहा, राष्ट्रिय वन क्षेत्र, ध्वर्से खोला क्षेत्रमा मृत भेटिएका हुन् । धेरै गैँडा भेटिएका क्षेत्र निकुञ्जको पश्चिमी क्षेत्र पर्दछ । दुई वर्ष अघि राप्ती नदीमा आएको बाढीले धेरै गैँडा बगाएका थिए । ती गैँडा निकुञ्जको पश्चिमी क्षेत्र हुँदै भारतसम्म पुगेका थिए । बाढीको प्रभावका कारण मरेका गैँडासमेत निकुञ्जको खानतलासीका क्रममा भेटिएको अनुमानसमेत गरिएको छ । बाढीले तितरवितर पार्दा अलमलमा परेर पनि गैँडा मरेको बताइएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका महानिर्देशक मनबहादुर खड्का यस वर्ष धेरै गैँडा प्राकृतिक कारणले मरेको नभएर अघिल्ला वर्षहरूमासमेत मरेको भेटिएको बताउनुहुन्छ । धेरै गैँडा कङ्काल अवस्थामा भेटिएको भन्दै उहाँले विगतका वर्षहरुमा मरेका गैँडाहरुसमेत अहिले भेटिएको बताउनुभयो । प्राकृतिक कारणले मरेका गैंडाहरु निकुञ्जको अपरेसनका क्रममा क्रमशः भेटिँदै गएको खड्काको भनाइ छ । यद्यपि गैँडाको मृत्युका कारण पहिचान गर्न निकुञ्ज विभागका उपमहानिर्देशकको संयोजकत्वमा प्राविधिकहरुको टोली गठन भई काम भइरहेको पनि उहाँले बताउनुभयो । एकै वर्ष धेरै गैँडा प्राकृतिक कारणले मरेको भन्ने हल्ला चलेको भए पनि तथ्याङ्क हेर्दा विगत वर्षहरुमा मरेको र पहिचान हुन नसकेका गैँडा धेरै भेटिएका खड्काले बताउनुभयो । यस वर्ष निकुञ्जको पूरै क्षेत्र समेट्ने गरी अपरेसन गरिएको उहाँको भनाइ छ । सशस्त्र द्वन्द्वको समयमा विसं २०५८ मा एकै वर्षमा ३७ वटा गैँडा शिकारीले मारेका थिए । योसँगै संरक्षणका लागि सरकार र दातृ निकायले चासो दिएपछि दुई वर्ष यता शिकारीले गैँडा मार्न सकेका छैनन् । निकुञ्जभित्र प्राकृतिक कारणले मरेकामा भाले–भाले जुधेर, ढिस्कोबाट लडेर, गोहीले हानेर, बाघले खाएर, बच्चा पाउन नसकेर, दलदलमा फसेर, बिरामी भएर र बूढो भएर कालगतिबाट मर्ने गरेका छन् । गैँडाको औसत आयु ६० वर्ष हुन्छ । निकुञ्जमा गत आर्थिक वर्षमा प्राकृतिक कारणले २६ वटा गैँडा मरेका थिए । पछिल्लो गणनाअनुसार निकुञ्जमा ६०५ गैँडा छन् । यसै आर्थिक वर्षमा पुनः गैँडाको गणना गर्ने भनिए पनि बजेट अभावका कारण आउँदो आर्थिक वर्ष गणना गरिने भएको छ । –––

प्रतिक्रिया दिनुहोस  
स्रोत नखुलेको रकम सहित दुई जना पक्राउ

पर्सा, वीरगंज महानगरपालिका-१५ बसपार्कबाट स्रोत नखुलेको नगद ४ लाख ५६ हजार ९ सय रूपैयाँ सहित २

अर्थमन्त्री जनार्दन शर्माको स्टाटस : स्थानीय तहको निर्वाचन समयमै गर्नुपर्छ

काठमाडौं, माघ १५ : नेकपा माओवादी केन्द्रका नेता एवं अर्थमन्त्री जनार्दन शर्माले समयमै चुनाव हुनुपर्ने

आगो ताप्दा सावधानी अपनाउन मन्त्रालयको अपिल   

काठमाडौँ, १५ पुस (रासस) : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोठालाई न्यानो बनाइराख्न आगो ताप्ने, हिटर

कांग्रेस उपसभापतिको मतगणना जारी , कसले कती पाए मत

  काठमाडौँ, २९ मङ्सिर: नेपाली कांग्रेसको उपसभापति पदको मतगणना जारी रहेको छ । गणना सानेपामा

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई