‘समायोजनको काम सफलतापूर्वक’- मन्त्री पण्डित
राँझा, १२ वैशाख: सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कर्मचारी समायोजनको काम सफलतापूर्वक सम्पन्न गर्न सरकार सफल भएको बताउनुभएको छ ।
निजामती कर्मचारीको आधिकारीक ट्रेड युनियन बाँकेले आज नेपालगञ्जमा आयोजना गरेको छलफल कार्यक्रममा मन्त्री पण्डितले सङ्घीयता कार्यान्वयनको महत्वपूर्ण पक्ष कर्मचारीको व्यवस्थापन सफलतापूर्वक सम्पन्न भएको बताउनुभयो । उहाँले बाँकी रहेका गुनासा पनि हल गरिने बताउनुभयो । “सरकारले खटाएको ठाउँमा जाँदै जाँदैनौँ भन्ने कुनै तर्क होइन, त्यहाँ जानै पर्दछ, त्यसक्रममा आउने समस्या न्यूनीकरणका लागि सरकार प्रतिबद्ध छ”, मन्त्री पण्डितले भन्नुभयो, “हामीले अत्यन्त महत्वपूर्ण काम सफलतापूर्वक सकेका छौँ, असन्तुष्ट कर्मचारीका ९० प्रतिशत गुनासामा मनका बह पोखिएका छन् । ती मनका बह पनि समाधान हुनेछन् ।” मन्त्री पण्डितले राष्ट्रसेवक भइसकेपछि सरकारले खटाएको ठाउँमा जानुपर्ने र खटाएको ठाउँमा नजाने कर्मचारीलाई कारवाही गरिने चेतावनीसमेत दिनुभयो । “राष्ट्रको सेवा गर्न भनी शपथ खाएर आएका कर्मचारीले सरकारले खटाएको ठाउँमा जानैपर्छ, गैर जिम्मेवार बन्न मिल्दैन”, उहाँले भन्नुभयो, “कसैलाई समायोजनमा चित्त नबुझेको भए उजुरी गर्न पाइने व्यवस्था छ, गुनासो सुनुवाइ समिति छ, जायज गुनासो सम्बोधन हुन्छ ।” समायोजनका असन्तुष्टि विधिपूर्वक समाधान हुनेमा ढुक्क रहन आग्रह गर्दै उहाँले कर्मचारीको यथोचित गुनासो सम्बोधन हुने बताउनुभयो ।
स्वास्थ्य क्षेत्रमा समायोजका क्रममा समस्या देखिएको र प्राप्त गुनासाका आधारमा समाधान खोजिने उहाँले उल्लेख गर्नुभयो । कर्मचारी समायोजनका कारण तीनवटै तहका सरकारका काममा केही अप्ठ्यारो परिरहेकाले एकअर्काको मर्म बुझेर काम गर्न उहाँले कर्मचारीलाई निर्देशन दिनुभयोे ।