कांग्रेस निकट बुद्धिजीवीको कथन- बहुराष्ट्रिय राज्यको मान्यता बोक्ने दललाई निर्वाचन आयोगले मान्यता दिनु हुन्न !


१. यही वैशाख १० गते सम्पन्न राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टीबीचको एकताको सहमति पत्रले ‘पहिचानमा आधारित संघीयता, सहभागितामूलक समावेशी लोकतन्त्र, बहुराष्ट्रिय राज्यसुहाउँदो समाजवाद, हिमाल, पहाड र मधेशका सबै राष्ट्रियताहरूको पहिचान र अधिकारसहितको संघीयता स्थापित गर्न तथा राष्ट्रिय मुक्ति आन्दोलनको आँधीबेरी सृजना गर्न पार्टी एकताको घोषणा गरिएको’ उल्लेख गरिएको छ ।

बहुराष्ट्रिय राज्य र सबै राष्ट्रियताहरूको पहिचान र अधिकार स्थापनाले यहाँ विशेष अर्थ बोकेको देखिन्छ ।

२. अब बहुराष्ट्रिय राज्य भनेको के हो भन्ने बारे छोटो चर्चा गरौँ ।

बहुराष्ट्रिय राज्यको मान्यताअन्तर्गत कुनै राज्यको राजनीतिक सीमाना र त्यसको जातीय वा सांस्कृतिक सीमाना एकै हुनुपर्दछ ।
हरेक अलग जाती र संस्कृति फरक राष्ट्र हो ।
हरेक जातीय वा धार्मिक–सांस्कृतिक समुदाय वा राष्ट्रलाई राज्य प्राप्त गर्ने अधिकार हुन्छ र त्यसलाई आत्मनिर्णयको अधिकार भनिन्छ ।
पूर्व सोभियत सङ्घ र पूर्व युगोस्लाभिया त्यसैको आधारमा टुक्रिए ।
सुडान र इथियोपिया टुक्रिएको धेरै भएको छैन ।
श्रीलंकाको लामो समयसम्मको जातीय हिंसा, विद्रोह र गृहयुद्ध त्यसैको परिणाम हो ।
काश्मिर, उत्तरपूर्वी भारतको समस्याको जड पनि त्यही हो ।

३. राष्ट्र राज्य (नेसन स्टेट)को मान्यताले जाती, धर्म र संस्कृतिलाई राज्यको आधारको रूपमा लिएको र राष्ट्र राज्यको यो मान्यता वर्तमान समयमा सान्दर्भिक नभएको अनुभव गरेर विद्वानहरूले हिजोआज राज्य राष्ट्र (स्टेट नेसन)को सिद्धान्त अघि बढाएका छन्, जसअन्तर्गत विभिन्न जाति, धर्म र संस्कृतिभित्रका समुदायको साझा र सवाल पहिचान निर्माण गरिन्छ र जनताबाट त्यस्तो राज्यले बलियो विश्वास र बफादारी आर्जन सक्दछ ।
विभिन्न जाती, धर्म र समुदायका विभिन्न पहिचानमाझबाट साझा र एक अर्काका पूरक पहिचान निर्माण गरिन्छ ।

४. जातीयता जब राष्ट्र र राज्यको आधार बन्दछ (त्यसले आफ्ना जनतालाई आधुनिक प्रजातान्त्रिक र समृद्ध राज्य दिन सक्दैन ।
जनताको राज्यप्रतिको विश्वास र वफादारीको स्रोत राज्यको सेवा, सुविधा, न्याय, सुरक्षा र समृद्धि दिने क्षमता नभएर राज्यका अधिकारीहरूको जातीय र सांस्कृतिक पहिचान बन्न पुग्दछ ।
त्यसबाट अर्थात जातीय र सांस्कृतिक आधारमा उत्पन्न हुने समर्थन, विरोध, पक्षपात, उत्पीडनले जातीय द्वन्द्व, घृणा, आतंक, अराजकता र राज्य असफलतामा गएका धेरै उदाहरण विश्वमा छन् ।

५. नेपालको भूगोल एकीकृत छ ।
यौटै पहाड र नदीले तीनै क्षेत्रलाई जोडेको छ ।
अपवादको रूपमा बाहेक नेपाली भाषा नबुझ्ने समुदाय नेपालमा छैनन् ।
परम्परा र अभ्यासमा केही स्थान भेद होला तर हिन्दु धर्म र संस्कृतिले हिमाल, पहाड, मधेश सबैलाई जोडेको छ ।
मुसलमानहरूले पनि दशैँ र फागु अर्थात् होली मान्ने देश हो नेपाल ।
सिम्रौनगढ अर्थात ‘सिम्रौन’ राज्यलाई गयासुद्दीन तुग्लकले ध्वस्त पारेपछि हरिसिंह देव आत्म रक्षाकोलागि काठमाडौं उपत्यका आए, कर्नाट राजवंश स्थापना गरे । सिङ्गो नेपालको राज्य चलाए ।
मकवानपुरका राजाको शासन पहाडमा सिन्धुली र रामेछापदेखि वबारा–पर्सा हुँदै बुटवल र भैरहवाको भूभागदेखि झापा मोरङसम्म विस्तारित थियो ।
यातायात र सञ्चारको सुविधा नभएकोले विभिन्न स्थानमा स्थानीय सामन्तहरूमार्फत उनीहरूले शासन गर्दथे ।

६. पाँच दशक अघिसम्म एक सय रूपैयाँभन्दा कम रकमको जग्गा जमिनको किनबेच गर्दा स्थानीय जिम्वाल, मुखिया वा तालुकदार कहाँ गएर गर्दा हुन्थ्यो, जिल्लाको माल अड्डामा जानु पर्दैनथ्यो ।
जिम्वाल, मुखिया वा तालुकदारले कसैलाई कुनै ऐलानी जमिनको स्वामित्व दिएर कानुनी मान्यतासहितको रैकरमा दर्ता गरिदिन्थे ।
ती जिम्वाल, मुखिया वा तालुकदार कुनै जात विशेषका थिए भन्दैमा त्यहाँ त्यो जातीको राज्य भएको अर्थ बुझिन्न ।
त्यसैको आधारमा कुनै जातीय राज्यको आधार निर्माण हुन्न ।
स्थानीय शासनका विभिन्न मोडेल विभिन्न समयमा रहे ।
नेपालका राजाले दूरदराजका इलाकामा शान्ति सुरक्षालाई प्रभावकारी बनाउन कहीँ कसैलाई विशेष अधिकार दिए पनि नेपालको आकार समय क्रममा कहिले सानो र कहिले ठूलो भए पनि यो भूगोलमा सधैं एकीकृत राज्य रह्यो ।

७. युरोपका विभिन्न मुलुकहरू राष्ट्र राज्यको सिद्धान्तबाट निर्मित भए तर अमेरिका, क्यानाडा, अस्ट्रेलिया, चीन, भारत, स्पेन आदि मुलुकहरू राज्य राष्ट्रको आधारमा खडा छन् ।

८. त्यसैले नेपाल बहुराष्ट्रिय राज्य होइन ।
नेपाल विभिन्न राष्ट्र राज्यको सङ्घ पनि होइन, कहिल्यै थिएन ।
सधैँ एकीकृत राज्य रह्यो ।
यसको भूगोल र संस्कृतिले पनि त्यसलाई सावित गर्दैन ।
यसलाई बहुराष्ट्रिय राज्यको रूपमा ग्रहण गर्नु भनेको यसको विखण्डनलाई राजनीतिक र सैद्धान्तिक आधार प्रदान गर्नु हो ।

९. त्यसैले यो घोषणा सहितको दल दर्ताको निवेदनलाई निर्वाचन आयोगले मान्यता दिनु हुन्न ।

भट्टराई कांग्रेस निकट बुद्धिजीवी हुन

केशव प्रसाद भट्टराईको फेसबुकबाट

प्रतिक्रिया दिनुहोस