लेखक केशवप्रसाद भट्टराईको स्पष्ट कुरा- किसुनजीलाई झैं ओलीलाई हटाइए शान्ति, विकास र स्थिरता धरापमा पर्छ


किसुनजीलाई देखाएर चुनावमा जाने अनि वर्ष दिन पनि टिक्न नदिने रणनीतिको परिणाम के भयो काङ्ग्रेसले सिकाएन र ?

१. तीस बर्ष पछि २०४८मा स्वतन्त्र प्रजातान्त्रिक आम निर्वाचन पछि गिरिजा प्रसाद कोइरालाको नेतृत्वमा वहुमतको सरकार गठन भयो
काङ्ग्रेस भित्रको आन्तरिक किचोलोले तीस वर्ष पछिको पहिलो जन निर्वाचित सरकार विस्थापित हुने वातावरण बन्यो र मुलुक मध्यावधि निर्वाचनमा गयो
पार्टीका आन्तरिक विवाद र व्यवस्थापनका कुरा आफ्ना ठाउँमा होलान तर अत्यन्त अराजक र असहिष्णु विपक्षको उपस्थितिमा पनि मुलुकको इतिहासमै सवैभन्दा बढी आर्थिक वृद्धि दर सो अवधिमा मुलुकले प्राप्त गरिरहेको थियो
६ प्रतिशत भन्दा माथिको त्यो वृद्धि दर संसारका धेरै मुलुकको भन्दा बढी थियो र दक्षिण एसियामा त सवैभन्दा बढी थियो
उद्योग, व्यापार र व्यवशाय क्षेत्रमा आएको उत्साहले मुलुकमा हरेक बर्ष पाँच -छ लाख रोजगारीको अवशर निर्माण हुँदै गएको थियो I

२. संसदमा माओवादीहरूले पनि ९ स्थान हाँसिल गरेका थिए
मुलुकमा मोटामोटी आम सहमतिको राजनीतिक वातावरण थियो
तर मध्यावधिले एकाएक मुलुक द्वन्द्वको नयाँ चरणमा प्रवेश गर्यो
कम्युनिस्ट पार्टीहरू वीचको झडपको क्रम बढ्दै जाँदा त्यसबाट निर्मित दवावको साथै निर्वाचन आयोगले साविकको चुनाव चिन्ह नदिँदा माओवादीहरू एक किसिमले जङ्गल जान वाध्य बनाइए
देश चरम र विकृत राजनीतिक अस्थिरताको चरणमा प्रवेश गर्यो
मुलुकको आर्थिक विकासको गति झ्याप्पै रोकियो

३. एमालेको समर्थनमा बनेको लोकेन्द्र बहादुर चन्द सरकारमा उप प्रधान तथा गृह मन्त्री थिए वामदेव गौत्तम
एक किसिमले गौत्तम नै वास्तविक प्रधानमन्त्री थिए र चन्द थपना मात्रै I
त्यसै वेला स्थानीय चुनाव भयो
वामदेवले प्रहरी र प्रशासनको वलमा आफ्ना कार्यकर्ताहरूलाई हिंसा र आतंकको लागि उकासेर गराइएको उक्त चुनाव नेपालको इतिहासकै सवै भन्दा हिंसात्मक र रक्तपातपूर्ण थियो I
चुनावको नाउमा ढोंग मात्रै थियो
त्यसले मुलुकभरीका सवैजसो स्थानीय तहमा एमालेहरूलाई विजयी गरायो I
त्यसपछि माओवादी हिंसा र आतंकको शृंखला एक्कासी बढ्न थाल्यो I
“दिउँसो दिउँसो एमाले राती राती माओवादी” त्यही अवधिको राजनीतिक चरित्र बन्न पुगेको थियो I
त्यही चरित्रले अन्तत एमालेको विभाजन गरायो I

४. २०५६को आम निर्वाचनमा दुई दुई पटक काङ्ग्रेस आफैँले अन्तर्घात गरेर हराएका कृष्णप्रसाद भट्टराईको नेतृत्वमा लड्यो
निर्वाचन पछिको प्रधानमन्त्रीको रूपमा किसुनजीलाई नउभ्याई चुनावमा बहुमत नआउने ठहर गरेरै काङ्ग्रेसले त्यसो गरेको थियो
काङ्ग्रेसको राम्रो बहुमत पनि आयो
किसुनजी नेतृत्वमा नयाँ सरकार पनि गठन भयो
त्यतिखेर सम्म माओवादी हिँसा र आतंक निकै बढिसकेकोले प्रधानमन्त्री भए लगत्तै किसुनजीले शेर बहादुर देउवालाई माओवादी समस्याको समाधानको लागि वार्ता लगायतका पहल गर्न र सरकारलाई आवश्यक सुझाव दिन जिम्मेवारी दिनु भयो
सात दोबाटोको खेलकुद परिसरमा कार्यालय खोलेर देउवाजीले व्यापक अभ्यासगर्नु भएको थियो
कुरो कहाँ पुगेको थियो थाहा भएन तर केही महिना पछि एकाएक किसुनजी हटाइनु भएपछि शेर बहादुरजी पनि सो जिम्मेवारीबाट मुक्त हुनुभयो
किसुनजी माओवादी सङ्कट समाधानको निकट पुग्नुभएको अवस्थामा उहाँ हटाइनु भएको विश्लेषण धेरैले गरे
शेरबहादुरजी हुँदै हुनुहुन्छ र माओवादी नेताहरू पनि त्यसैले त्यसबारे कुनै बेला वास्तविक कुरा बाहिर आउला

५. किसुनजीलाई त्यसरी हटाएर प्रधानमन्त्री हुनुभएका गिरिजाबाबु धेरै समय टिक्नु भएन
होलेरी काण्डपछि राजिनामा दिन वाध्य हुनुभयो
शेर बहादुरजी पुनः प्रम हुनुभयो
यहाँ सम्म आइपुग्दा माओवादीहरू सेनाको ब्यारेकमै आक्रमण गर्ने हैसियतमा पुगिसकेका थिए I
दाङ् आक्रमण पछि मुलुक नयाँ मोड लिन थाल्यो

६. काङ्ग्रेस र एमालेको सहमतिमा सङ्कट काल लाग्यो तर सङ्कटकाल लम्ब्याउने सवालमा पहिला काङ्ग्रेसले देउवा सरकारलाई अनुमति दियो र प्रधानमन्त्री देउवाले सङ्कटकालको म्याद थप्ने प्रस्ताव संसदमा प्रस्तुत गरेपछि पार्टी सभापति गिरिजा प्रसादले उक्त प्रस्ताव फिर्ता लिने आदेश शेर बहादुरलाई दिनु भयो
शेरबहादुरले उक्त प्रस्ताव फिर्ता गर्न सरकारकालागि सम्भव नभएको जानकारी गिरिजाबाबुलाई गराएपछि र गिरिजा प्रसाद आफ्नो अडानमा कायम रहेपछिको स्थितिमा नयाँ चुनावको घोषणा, शेर बहादुरको पार्टी सदस्यताबाट समेत निष्कासन, काङ्ग्रेसको विभाजन, चुनाव हुन नसक्ने अवस्था, चुनाव स्थगनको निर्णय, असोज १८, माघ १९, हुँदै १२ बुँदे सम्झौता, ६२-६३को जान आन्दोलन हुँदै मुलुक आजको स्थितिमा छ

७. २०४६ पछि काङ्ग्रेसले दुई पटक संसदीय वहुमत प्राप्त गरेको थियो
तर दुवै पटक एउटा संसदीय कार्यकालभरी टिक्ने सरकार चलाउन सकेन
एक पटक मध्यावधिले मुलुकको शान्ति र प्रगतिको बाटो छेक्यो
अर्को पटक एउटा कार्यकालमा तीन प्रधान मन्त्री भए
दल यौटै भए पनि अविश्वास, तनाव, घात-प्रतिघात भने विरोधी दलको भन्दा बढी थियो
त्यस्तो हुन नपाएको भए मुलुकले अर्कै दिशा र गति लिने निश्चित थियो
मुलुकको शान्ति, स्थिरता र समृद्धि निकै सुदृढ भइसकेको हुने थियो

८. अहिले त्यस्तै अवस्था निर्माण भएको छ
कोरोना अघि मुलुकको आर्थिक वृद्धिको गति र अन्य सूचकांकहरू दुनियाँ मै उत्कृष्ट मध्ये थियो
नेपालमा जस्तो अन्य कुनै इलम योग्यता, क्षमता नभएका र आजीवन सरकारी र राजनीतिक पदमा झुन्डिइरहनु पर्ने विकृत मनोरोग पालेकाहरूले अर्को कसैलाई पदमा सहन नै सक्दैनन्
सधैँ षड्यन्त्र कै तानाबाना मै व्यस्त रहने नै भए
सरकारलाई निर्धक्क भएर काम गर्ने वातावरण नै हुन्न

९. अर्को कुरा, हामी कसैको विरोध र समर्थनमा कत्तिको इमान्दार छौँ ?
मिडिया र नागरिक समाजको तर्फबाट आउने जायज -नाजायज, वास्तविक-काल्पनिक विरोध र आरोपलाई खेप्दै, राजनीतिक षड्यन्त्रलाई चिर्दै र आफ्नो पद र राजनीति धान्नु पर्ने वाध्यता भित्र जो कोहीलाई पनि काम गर्न कठिन हुन्छ
त्यसमाथि यस्तो आन्तरिक र वाह्य अभाव र सीमामा बाँधिएको मुलुक

१०. हामीसँग दर्जनौदर्जन पूर्व मन्त्रीहरू छन् !
आधा दर्जन पूर्व प्रधानमन्त्रीहरू छन् !
उनीहरूको र धन्दा भनेको आफ्नो गुट चलाउनु, फेरी पदमा आउने षड्यन्त्र -गरिरहनु मात्रै हो I
प्रधान मन्त्री वा मन्त्रीको रूपमा मुलुकलाई उनीहरूको योगदान के रह्यो ??
पदमा हुँदा हुँदा के राम्रो गर्नु भयो ? दुनियाँले विर्सनै नसक्ने के दिनु भयो ?
छ कहीं हिसाव र मूल्यांकन ?
छ कुनै लेखाजोखा ?

११. उनीहरू फेरी फेरी किन आउने ?
के गर्न आउने ?
सामाजिक सेवा गरेर , अध्ययन र अध्यापनमा लागेर वा थिङ्क ट्यांक चलाएर बसे हुन्न ?
बेलायतमा, जर्मनीमा, फ्रान्समा, अमेरिकामा कुनै पूर्व प्रधान मन्त्री वा राष्ट्रपति पदवाट हटेपछि फेरी फेरी प्रधान मन्त्री वा राष्ट्रपति हुने प्रयत्न, षड्यन्त्र वा चलखेल गरेको सुनिन्छ ?
त्यहीं भारतमा , चीनमा पनि हेरौँ न !
कति पटक किन कोही प्रधानमन्त्री हुनुपर्ने ?
स्मरणीय छ यो शक्ति सङ्घर्ष होइन !
सत्ताको लडाई पनि होइन !
त्यस्तो सङ्घर्ष त मूल्यको लागि हुन्छ , सिद्धान्त र आदर्शको लागि हुन्छ !
विधि, पद्धतिको लागि हुन्छ !
हामी कहाँ ???

१२. अनि अहिले ओली सरकार हटाउने प्रयत्न कथं सफल भैहाले भोली ओली चुपो लगेर बस्ने होलान ?
चुप लागेर बस्ने बनाउने राजनीतिक र नैतिक साहश र क्षमता होला उनका उत्तराधिकारी सामू !
किसुनजीलाई देखाएर चुनावमा जाने अनि वर्ष दिन पनि टिक्न नदिने रणनीतिको परिणाम के भयो काङ्ग्रेसले सिकाएन र ?

त्यसो नभएको भए मुलुकमा काङ्ग्रेस र प्रजातन्त्रको भविष्य निकै सुरक्षित भैसकेको हुने थियो होलानी !
माओवादी विद्रोह त्यति उग्र चरणमा नपुग्दै समस्याको समाधान भएर शान्ति प्रक्रिया यति जटील हुने थिएन होला नी !


१३. आन्तरिक कारण थुप्रै थिए होलान, तर गिरिजा प्रसादको सरकारको धन्यवाद प्रस्ताव असफल हुँदा कुन कांग्रेसीले जिते ?
त्यहाँबाट लिक छोडेको प्रजातन्त्र आज सम्म लिकमा आउन नसकेको होइन र ?
शेर बहादुरलाई हटाउँदा आएको राजनीतिक सङ्कट, हिंसा र द्वन्द्वको विकराल रूप, राजनीतिक दलहरूको मूल्य, मान्यता र विश्वासमा आएको चरम स्खलन र अर्को जन आन्दोलन, डेढ दशक लामो सङ्क्रमण र अझै बन्दुक नबिसाइएको परिवेश र
वेलायतको जेलमा नेपालका बहालवाला कर्णेल थुनामा रहेको अवस्थालाई टुलु टुलु हेरिरहनु परेको अवस्थाको बाटो नेपालका थुप्रै राजनीतिक नेतृत्वले पनि कर्णेल लामाको नियति भोग्नु पर्ने स्थिति आउन नदिन गम्भीर भएर आम विश्वास र सहमतिको राजनीतिमा लाग्नु पर्ने होइन र ?

१४. नेपालमा जसले जसलाई जे भने पनि हुन्छ
जति भ्रम र झूठ फैलाउन पनि छुट छ
राजनीतिक, सामाजिक र पेशागत मर्यादाको जति धज्जी उडायो त्यति चर्चित र स्थापित होइन्छ I
भाइरल होइन्छ
हिजो पनि त्यही हो र आज पनि त्यही हो
त्यसैले सवाल ओलीको हुँदै होइन
इतिहास त्यही रूपमा दोहोरिन सम्भव हुन्न तर त्यसको चरित्र र लय भने बारम्बार दोहोरिरहन्छ I
त्यो नदोहोरियोस भन्ने मात्रै हो

मुलुकको शान्ति, विकास र स्थिरतामा पहिला जस्तै खलल पुग्छ कि भन्ने चिन्ता मात्रै हो
संविधान मात्रै गए त केही थिएन आठौँको ठाउँमा नवौँ संविधान आउंथ्यो होला
देश के होला भन्ने मात्रै हो

(कांग्रेस निकट बुद्धिजीवी तथा राजनीति विश्लेषक भट्टराईको फेसबुकबाट)

प्रतिक्रिया दिनुहोस