भातको लडाइमा भविष्य हार्ने,जुंगाको लडाइमा नाक काट्ने काम बन्द गरौ


गुरु भट्टराई

@Gurubhtt
नेताहरुलाइ खुइल्याउने वा अनुचित रुपमा प्रतिरक्षा गर्नु पर्ने कुनै कारण छैन, दिलचस्पी पनि हैन। मुल प्रश्न हो – मुलुकका जनताले पटक पटक आन्दोलन गरेर ल्याएको राजनीतिक परिवर्तन के अमुक अमुक नेतालाइ कुर्सीमा पुर्याउन मात्रै हो त? के राजनीतिको अन्तिम लक्ष राजनीति देखी राजनीतिसम्म मात्रै हो भनेर हज्जारौ जनताले बलिदानी गरेका हुन त? त्यसैले नागरिकका प्रश्न गलत प्रबृतिसंग हो, राजनीतिको मुल ध्ययबाट च्युत हुने कुरालाइ हो, प्रश्न गलत चिन्तनशैली र आत्मकेन्द्रित राजनीतिसंग हो ।

मुलुक परिवर्तनको निम्ति ज्यान गुमाएका हजारौ ब्यक्तिका परिवारको पिडामा नेताहरुको लुछाचुडीले नुनचुक छर्ने काम गरेको छ । घाइते र गोली शरिरमा लिएर जीउन बाध्यहरुको कारुणिक कथा कहालीलाग्दो छ । मुलुकका बिकट पहाडी जिल्लाका नागरिकले त राज्यको अनुहार समेत सुम्सुम्याउन पाएका छैनन । पाए डाँको छोडेर रोएर भए पनि चित्त बुझाउथे होलान ।

मानमर्यादा र शक्ति पदमा रहेमात्र प्राप्त हुन्छ भन्ने सामन्तबादी चेतले छिनाझप्टीमा उत्रिने नेताहरुले मदन भन्डारी, पुष्पलाल र वीपिहरुलाइ सम्झिए हुँदैन? मान र सम्मान कसरी प्राप्त हुने रहेछ भनेर । हरेक नेताका असल र खराब पक्षहरु हुन्छन । एउटा नेता सर्बगुणले सम्पन्न हुन्छ भन्ने मान्ने हो भने किन चाहियो लोकतान्त्रिक चुनाव? एउटा खोजेर ल्याएर महाराज झै पुजा गरे भो । तर यहाँ त कसैका सवल पक्षमा होस्टे र हैसे गरेर मुलुक बनाउँ भन्ने भन्दा पनि उसका दुर्बल पक्षको पहाड खडा गर्ने, खुइल्याउने र समाप्त पार्ने अनि आफु त्यस ठाउँमा स्थापित हुने सपना देखिन्छ । हिजो आफैले गरेका गल्ति कमजोरी आज अरुमा कतै यसो देखिन थाल्यो भने त्यसैलाइ हतियार बनाएर पद र शक्ति प्राप्त गर्ने तिक्डम रचिन्छ र नागरिक बिभाजन गरिन्छ ।

मैले पटक पटक भन्ने गरेको छु – लोकतान्त्रिक समाजको राजनीतिमा Absolute right र Absolute wrong खोज्नेहरुले राजनीतिक बिधाको कुरै नगरे हुन्छ । लोकतान्त्रीक राजनीतिको आधार समाजका मुर्ख, बिद्वान, धनी गरीव, शिक्षित, अशिक्षित, जातजाती, धर्म संस्कार, अनुशाशित, अराजक सबै सबैबाट प्राप्त शक्ति बाट तयार हुने भएकाले (बिद्वान र मुर्खले दिएको मतको फरक भार हुदैन) यसका छिटा नेतृत्वमा पनि देखिन्छ । तर मुल कुरा भनेको राजनीतिको मुल ग्रिप कुन दिशामा छ भन्ने कुरा प्रमुख हो । लोकतन्त्र भनेको कसैलाइ अनावस्यक घच्चापच्ची नगरी उन्नति हासिल गर्नु पर्ने ब्यबस्था हो । यहा उन्नति प्रगति बिकास जत्तिकै हरेक नागरिकका मानवाधिकार तथा ब्यक्तिगत अधिकार प्रमुख हुन्छन, बल मिच्याइ नगरीकन हरेक कुरा बिधि र पद्धतिमा मात्रै गर्नु पर्दा एउटा असल तानाशाहले नमान्ने नटेर्ने नागरिकलाइ बन्दुक देखाएर बिकास र उन्नतिको काम गरेजस्तो चमत्कार लोकतन्त्रमा हुँदैन । दुबै कुरा सन्तुलित बनाउनु पर्दा समय लाग्ने हुन्छ । यसको अर्थ कार्यक्षमता, बैमानी, अरुची ना निजी स्वार्थका कारण हुने बिलम्भ पनि स्वभाविक हो भन्न खोजेको कदापी हैन ।

लोकतन्त्रको विकल्प लोकतन्त्रै हो; यसको अर्को विकल्प छैन । यसको सबल पक्षलाइ बढाउने, दुर्बलपक्ष न्युनिकरण गर्दै जाने र यस प्रणालीलाइ निरन्तर अभ्यासमा लगेर मात्रै मुलुक र जनताको हित हुन्छ । प्रणाली रहे मात्रै जनताले पनि आफ्नो गल्ती सच्याउन पाउछन (नीर्वाचन मार्फत), नेताले पनि जनताका चाहना बुझ्न सक्छन । खराब प्रबृति आफै संलिदै जान्छ । त्यसैले हरेक कुरामा सापेक्षित आलोचनात्मक चेत बिकास गर्न जरुरी छ । नेताहरुलाइ देख्दा सुन्दा गर्वले छाति फुलोस, तव न नेता; राजनीति सम्झ्यो कि घृणामात्रै जाग्ने हो भने त्यस्तो राजनीतिको नेता हुनुको के अर्थ? तथ्य खोज्दै जाने हो भने सबै नेताका बैगुन भेटिन्छन; कोहि कसैले आफुलाइ “आइडियल” ठानेको छ भने त्यो भ्रमबाट मुक्त भए हुन्छ ।

सबै नेताका सबल पक्ष एकढिक्का बनाएर मुलुक बनाउँ भन्ने मेरो चै अपिल रहन्छ । हैन भने भविष्य कसैको निजी स्वार्थमा अल्झिदैन; “भातको लडाइमा भविष्य हार्ने”, “जुंगाको लडाइमा नाक काट्ने” काम बन्द गरौ । आगे नेताजीकै मर्जी!

प्रतिक्रिया दिनुहोस