छिमेकी (कविता)


-रमाकान्तमणि नेपाल

कस्तो हो बलिया छिमेकीहरुको
निर्धा निमोठ्ने पारा
जानेरै जान्न नसकिने भयो भनि
भन्दैछन् दुनियाँ सारा।

कु-कर्मको प्रचार पनि किन
बाजै बजाउने गरि
नाङ्गो नाच छिमेकीको घर छिरि
लाजै लजाउने गरि।

ठालुका किन नमिलेका होलान्
सानालाई थिच्ने रीति।
देखी आज छक्क! छन् जगत नै
सिमाना मिच्ने नीति।

चाह यदि नभए मद्दतको
चाहिँदैन भो त्यो छोड
भित्रेका सडक खण्डहरु
अब पारी लगेरै जोड।

गिद्ध झै नजर डुलिरुने सधैँ
गण्डक कोशी भेकमा
कुन नक्सा हो तिम्रो सडकको?
त्यो लिपुको लेकमा

तनाव यो छर-छिमेकीहरुको
हुन्न यसरी अब
भुल्किन्छन जिउमा तातो खुन सधैँ
बाझो निस्कन्छन् जब।

मिली दुइ “मुली” बिषयहरुको
निम्ट्याउ एकै ठाउँ बसि
सुल्झियोस् तर निष्पक्ष तवरले
हेरि आ-आफ्ना दसी।

प्रतिक्रिया दिनुहोस