भारतले लिपुलेकमा सडक बनाएकोप्रति नेकपाको कडा आपत्ति (विज्ञप्तीसहित)


काठमाडौं, २८ वैशाख– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले भारतले नेपाली भूमि लिपुलेकमा सडक निर्माण गरेको कार्यप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड)ले संयुक्त वक्तव्य जारी गर्दै भारत सरकारले नेपाली भूमिमा सडक निर्माण गरेको कार्यप्रति गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तीमा उल्लेख छ । विज्ञप्तिमा नेपाल कम्युनिष्ट पार्टीले नेपाल र भारतबीच असल छिमेकीको सम्बन्धलाई समान सार्वभौमिकता, भौगोलिक अखण्डता, आपसी सम्मान र लाभमा आधारित रहेको कुरामा विश्वास गर्ने उल्लेख गरिएको छ । विज्ञप्तिमा भनिएको छ, कोरोना भाइरसका कारण पूरै मानवजातीले अप्रत्यासित स्वास्थ्य संकट झेलिरहेको र हाम्रा सबै प्रयत्नहरू महामारी विरुद्ध लड्न केन्द्रित भइरहेका बेला यस्तो समयमा घटनाक्रमहरू विकसित हुनु दुखद भएको जनाइएको छ ।

सुगौली सन्धि लगायतका ऐतिहासिक तथ्य तथा प्रमाणहरुले काली (महाकाली)नदि पूर्वका लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालको भूमाग भएको स्पष्ट गरेको विज्ञप्तिमा उल्लेख छ ।

साथै सन् २०१५ मा भारतीय प्रधानमन्त्रीको चीन भ्रमणका बेला जारी गरीएको संयुक्त वक्तव्यमा नेपालको सहमति विना नै लिपुलेक पासलाई द्वीपक्षीय व्यापारिक मार्गका रुपमा समावेस गरिएकोमा पनि यी तथ्यहरूलाई नेपालले उठाएको कुरा नेकपाले विज्ञप्तिमा उल्लेख गरेको छ ।

साथै विज्ञप्तिमा भनिएको छ,दुई देशबीचको सिमा विवादको समाधानका लागि गठित परराष्ट्र सचिवको बैठकको मिति तय गर्न नेपाल सरकारले प्रस्ताव गरेको विषयबारे पनि नेपाल कम्युनिष्ट पार्टी जानकार रहेको उल्लेख छ । नेकपाले विज्ञप्तिमा भनेको छ, दुई देशको युगौ पुरानो सम्बन्धलाई ख्याल गर्दै सीमा विवादलाई कुटनीतिक माध्यमबाट समाधान खोज्ने नेपाल सरकारको प्रयासको समर्थन गर्दछ ।

विज्ञप्तिमा अहिलेको एक पक्षीय रुपमा भएको यो काम दुई देशका उच्च राजनीतिक तहको सहमतिमा खडा गरिएका सयन्त्रबाटै सबै खालका सीमा विवाद हल हुन पर्छ भन्ने नेपालको पटक पटकको अनुरोध विपरित भएको उल्लेख छ । साथै विज्ञप्तिमा नेकपाले नेपाल र भारतीय सरकार दुबैलाई सबै सीमा विवादहरु यस अघि भएका समझदारी अनुरुप कुटनीतिक माध्यमबाट समाधान गर्न तत्काल प्रयास थाल्न आग्रह गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, नेकपाले भारत सरकारबाट त्यस क्षेत्रमा भई रहेको सडक निर्माणको कामलाई तत्काल रोक्न र यस विषयलाई थप जटिल बनाउने खालका कुनै पनि गतिविधि नगर्न आग्रह गर्दछ ।

प्रतिक्रिया दिनुहोस