वर्षैपिच्छे संकलन गरिँदै आएको यार्सागुम्बा सङ्कलनमा यस वर्ष रोक


वर्षैपिच्छे संकलन गरिँदै आएको यार्सागुम्बा सङ्कलनमा यस वर्ष रुकुम (पूर्व) मा रोक लगाइएको छ । यार्सा सङ्कलन गरिने ठाउँमा मानिसको भीड हुने भएकाले यस वर्ष यार्सा संकलनमा रोक लगाउनुपरेको पुथाउत्तरगङ्गा गाउँपालिकाले जनाएको छ । भीडभाडमा कोरोना संक्रमणको जोखिम उच्च हुने कारण यार्सा संकलनमा रोक लगाइएको गाउँपालिका उपाध्यक्ष ओमकुमारी शाहीले बताउनुभयो । जिल्लाको हिमाली क्षेत्रमा पाइने यार्सा सङ्कलन यस वर्ष रोक्नका लागि दलीय संयन्त्र समितिले गाउँकार्यपालिकालाई यसअघि नै प्रस्ताव पेश गरेको थियो । गाउँपालिकाको वडा नम्बर १, २ र ३ मा यार्सा पाइन्छ । विगत वर्षमा यार्सा व्यवस्थापन समितिले यार्सा संकलनका लागि जेठ पहिलो साता खुला गथ्र्याे। गाउँपालिका १, २ र ३ को पानीढल, फूलबारी अरविजा, जंगला, पूपाल, पूर्वाङ, भित्रीवन, उङ्ला, निम्कुलगायत ठाउँमा यार्सागुम्बा पाइने गरेको उपाध्यक्ष शाहीले जानकारी दिनुभयो ।

यस क्षेत्रका सर्वसाधारणको आम्दानीको मुख्य स्रोत यार्सागुम्बाबाट एक याममा स्थानीयवासीले वर्षभरिको आवश्यक घर खर्च, पढाइलगायतका लागि आम्दानी गर्छन् । सङ्कलन याममा एक महिनासम्म बुकीमै बिताउने उनीहरुले प्रतिपरिवार यार्सा टिपेरै न्यूनतम रु ३० हजारदेखि रु पाँच लाखसम्म आम्दानी गर्ने गरेको स्थानीयवासी बताउँछन् । अनुदानमा मकैको बीउ वितरण भूमे गाउँपालिकाले कृषकलाई उन्नत जातको मकैको बीउ वितरण गरेको छ । गाउँपालिकाले नौ वडाका कृषकलाई ७५ प्रतिशत अनुदानमा मकैको बीउ वितरण गरेको हो । अहिले जिल्लामा हिउँदे बाली गहुँ भित्र्याएपछि बर्खेबाली मकै लागाउने याम चलिरहेको छ । गाउँपालिकाका कृषि प्राविधिक शिखर विश्वकर्माले कृषकलाई देउती जातको मकैको बीउ वितरण गरिएको बताउनुभयो । उहाँका अनुसार अहिलेसम्म गाउँपालिकाभर १५ क्विन्टल मकैको बीउ वितरण गरिएको छ ।

बीस क्विन्टल बीउ वितरण गर्ने लक्ष्य लिइए पनि कोरोना महामारीको कारण गरिएको बन्दाबन्दीले समस्या परेको छ । गाउँपालिकामा आएको १५ क्विन्टल बीउ वितरण गरेर सकिएको र बाँकी पाँच क्विन्टल पुनः वितरण गरिने कृषि प्राविधिक विश्वकर्माले जानकारी दिनुभयो । लामो समयसम्म एउटै जातको मकै रोपिरहेका कृषकले उत्पादनमा कमी आएको गुनासो गरेपछि उन्नत जातको बीउ वितरण गरिएको थियो । भूमेमा उन्नत जातको देउती र मनकामना मकै राम्रो उत्पादन हुने बताइएको छ । गाउँपालिकाले स्थानीय जातको बीउको अनुसन्धान गरेर सबैभन्दा पुरानो बीउको पहिचान गरी संरक्षण गर्ने योजना बनाए पनि कृषकको माग अनुसार अहिले उन्नत जातको बीउ वितरण गरिएको अध्यक्ष रामसुर बुढाले बताउनुभयो । आगामी वर्षमा भने पुरानो बीउको पहिचान गरी संरक्षण गरिने र गाउँपालिकामा पनि स्थानीय बीउलाई नै प्राथमिकता दिइने छ । गाउँपालिकाले मूल बीउ उत्पादनका लागि कृषकलाई ७५ प्रतिशत अनुदानमा सिमीको बीउ पनि वितरण गरेको छ । प्रशस्त मात्रामा सिमी उत्पादन हुने त्यस क्षेत्रमा उत्पादनलाई अझ बढावा दिन बीउ वितरण गरिएको हो ।

प्रतिक्रिया दिनुहोस