आँधिहुरी चलिरहेको बेला नेपालमा लोकतान्त्रिक विकल्प कम्युनिष्ट पार्टी नै हो भन्ने विचार र आँट दिने व्यक्तित्व जननेता भण्डारी हुनुहुन्थ्यो : प्रमका प्रमुख राजनीतिक सल्लाहकार रिमाल


प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य विष्णु रिमालले आँधिहुरी चलिरहेको बेला नेपालमा भने लोकतान्त्रिक विकल्प कम्युनिष्ट पार्टी नै हो भन्ने विचार र आँट दिने व्यक्तित्व जननेता भण्डारी हुनुहुन्थ्यो भन्दै आज मदन–आश्रितको २७औँ स्मृति दिवसको सम्झना गर्नुभएको छ ।

उहाले आज सामाजिक सन्जाल फेसबुकमा एक स्टाटस लेख्दै भन्नुहुन्छ ‘२७ बर्षअघि जेठ ३ गते हामीले जननेता मदन भण्डारी र नेता जीवराज आश्रितलाई एकैसाथ, अकस्मात गुमाएका थियौं ।

कमरेड मदन भण्डारी हाम्रो समयको सबैभन्दा लोकप्रीय नेता हुनुहुन्थ्यो, जीवराज आश्रित कुशल संगठक हुनुहुन्थ्यो। जननेता मदन पार्टीको महासचिव मात्रै हैन नेपाली कम्युनिस्ट आन्दोलनको सिद्धान्तकार हुनुहुन्थ्यो।सार्वजनिक भएको साह्रै छोटो समयमा उहाँ देशभित्र समर्थक वा आलोचक हरेकले सम्मानका साथ लिईने र अन्तर्राष्ट्रीय जगतको चर्चित नाम हुनुहुन्थ्यो । उहाँको ‘सपना’संग सिङ्गो मुलुक आबद्ध थियो । आफूभन्दा झण्डै ३ दशक पाको उमेरका तत्कालिन पार्टी अध्यक्ष मनमोहन अधिकारीद्वारा सम्मान र भरोसा गरिएको युवा महासिचव एवं राजनेता हुनुहुन्थ्यो । विश्वमा कम्युनिष्ट पार्टी र कम्युनिष्ट सत्ताहरु एकपछि अर्को गरी ढाल्ने आँधिहुरी चलिरहेको बेला नेपालमा भने लोकतान्त्रिक विकल्प कम्युनिष्ट पार्टी नै हो भन्ने विचार र आँट दिने व्यक्तित्व जननेता भण्डारी हुनुहुन्थ्यो ।

उमेरका हिसावले वा आन्दोलनमा कति भोटो फटाएको छ भन्ने हिसावले कोही नेता हुने हैन । फाइल बढुवा गरे जस्तो या रोलक्रम तोकेर पनि नेतृत्व स्थापित हुँदैन । मदन भण्डारी, एक सहकर्मीको अवसानबाट मात्रै अर्काले ‘राजपाठ’ को जिम्मा पाउने ‘अस्वस्थ प्रकृतिका स्थापित मान्यता’को विकल्पको खोजीमा हुनुहुन्थ्यो ।

सचेत पहलकमदीबाट जनतामा स्थापित हुने, सहकर्मीबीचको स्वस्थ प्रतिस्पर्धामा खारिएर श्रेष्ठता हासिल गर्ने र हिउँद–बर्खा–घामपानी झेलेका, विचारमा स्पष्ट कमरेडहरू मध्यबाटै सुयोग्य नेतृत्व स्थापित हुने” विधि उहाँले सुझाउनु भयो ।

नामका अगाडि ‘लोकतान्त्रिक’ लेख्दैमा कुनैपनि दल बा व्यक्ति लोकतान्त्रिक हुने हैन, त्यो व्यवहारले पुष्टी गर्ने हो भन्ने तथ्य उहाँले स्थापित नै गर्नुभयो । आफ्नो नेतृत्वमा विकसित मौलिक सिद्धान्त– ‘जनताको बहुदलीय जनवाद’लाई पार्टी महाधिवेशनबाट पारित गर्नुअघि उहाँले “सयौं विचारहरु बीच प्रतिष्पर्धा हुन देऊ” भनेझैं विचारहरु बीच सार्वजनिक तर मर्यादित ढङ्गले बहस सञ्चालन गराउनु भयो ।

योग्य नेताले आफ्नै कार्यकालमा सुयोग्य उत्तराधिकारीको विकल्प तयार गर्छ। जननेता भण्डारी यसमा स्पष्ट हुनुहुन्थ्यो । उहाँले कहिल्यै पनि पदलाई महत्व दिनु भएन र उहॉसंग मतामत गर्ने आफ्ना कमरेडहरुलाई “टीम अफ राईभल्स” ठान्नु भएन । बरू उहॉहरू मैं पार्टीको भावी नेता खोजी गर्न ‘सम्वाद–बहस– प्रतिवाद– र सहमती’को विधि आरम्भ गर्नुभयो ।

कम्युनिस्ट पार्टीलाई विचारले सवल बनाउने, त्यसलाई जन–आधारित बनाउने, प्रशिक्षित कार्यकर्ता पंक्ति परिचालित गरी समाजको रुपान्तरण गर्ने र रुपान्तरणलाई दिगो बनाई परिवर्तनको फल जनतामा न्यायोचित वितरण गर्नेमा उहाँ स्पष्ट हुनुहुनथ्यो ।

जननेता मदन भण्डारी परिवर्तनको आन्दोलन र परिवर्तपछि हुने नेकपाको भूमिकाका बारेमा पनि स्पष्ट हुनुहुन्थ्यो।

“संघर्षको मैदानमा रहँदा जनताका मुद्धालाई उजागर गर्दै उनीहरुलाई गोलबन्द गर्दै अघि बढ्नु पर्छ । सत्तामा रहँदा तिनै मुद्दालाई कार्यान्वयन गर्न सरकार सक्रिय हुनुपर्छ । सरकारले जनहितका काम गर्दा अवाञ्छित तथा प्रतिक्रियावादी तत्वबाट हुने अबरोध र वितण्डाको विरोध र भण्डाफोर गरी आफ्नो सरकारको प्रतिरक्षा गर्नुपर्छ । तर त्यो प्रतिरक्षा, राज्यसत्ताको दुरूपयोग वा जोर-जवरजस्तीबाट हैन, पार्टी कार्यकर्ता तथा सचेत जनसमुदायको परिचालनबाट गरिनु पर्छ ।

आज हामी पार्टी एकताको बर्षगॉठ पनि मनाई रहँदा जननेता भण्डारीका विचारलाई आत्मसात गर्न सकौं ।

भावपूर्ण श्रद्धांजली कमरेड मदन भण्डारी! भावपूर्ण श्रद्धांजली कमरेड जीवराज आश्रित !!

प्रतिक्रिया दिनुहोस