काङ्ग्रेसले वीपीलाई परित्याग गरे जस्तै नेकपाले मदन कु भण्डारीलाई त्यागे के हुन्छ : केशव प्रसाद भट्टराई


मदन भण्डारी र भण्डारीको बहुदलीय जनवादको विश्व परिवेश !

काङ्ग्रेसले त्यागेको वीपी र नेकपाले त्यागेको भण्डारी !



१. १९४९ मा चीनमा कम्युनिस्ट शासन स्थापना भयो तर कम्युनिस्ट शासन स्थापना पछिको डेढ दशकसम्म पनि मुलुकको आर्थिक प्रगति अघि बढ्नै सकेन,

उत्पादक गतिविधि ठप्प प्राय हुन पुग्यो ,

चीनियाँ जनताको जीवन स्तरमा सुधारको गुन्जाइस नै देखिएन I

त्यसले चीनियाँ जनता र चीनियाँ कम्युनिस्ट पार्टी भित्र नै असन्तोष व्यापक हुन पुग्यो I

सत्ता संघर्ष र षड्यन्त्र जटील र खतरनाक हुन् पुग्यो I

त्यसैको परिणाम थियो माओको सांस्कृतिक क्रान्ति I

कम्युनिस्ट शासनप्रतिको जन असन्तोष र पार्टी भित्रको सत्ता सङ्घर्षको माओको उत्तर थियो — मे १९६६मा शुरू भएको एक दशक लामो सांस्कृतिक क्रान्ति I


२. माओको नेतृत्वमा चीनमा कम्युनिस्ट व्यवस्था स्थापनाकोलागि भएको गृहयुद्धमा भन्दा बढी मानिस सांस्कृतिक सुद्धिकरणको नाउमा भएको माओ नेतृत्वको सांस्कृतिक क्रान्तिमा मारिए I

स्कूल, कलेज र विश्वविद्यालयहरू बन्द भए I

कम्युनिस्ट पार्टीको स्कूल विभागनै शैक्षिक सवालमा सर्वेसर्वा मानियो I


३. माओको त्यही सांस्कृतिक क्रान्तिले भारतमा चारू मजुमदार,जंगल सन्थाल, कानु सान्यालहरूलाई जन्म दियो I

पाश्चिम बंगालको नक्सलबारी क्षेत्रमा किसान विद्रोहको नाउमा बर्ग शत्रु सिध्याउने भनेर उनीहरूले मच्चाएको उग्र हिँसा, हत्या र मारकाटबाट प्रभावित भएर नेपालमा पनि झापा हत्या काण्ड जन्मियो

त्यही काण्ड अन्तर्गत धर्मप्रसाद ढकाल,विष्णुप्रसाद बिमली , ईश्वरीप्रसाद चुँडाल र बुटन चौधरीहरूको बर्बर हत्या भयो I

विभिन्न नाऊ ग्रहण गर्दै र छोड्दै २०३५ पुसमा सीपी मैनालीको नेतृत्वमा नेकपा माले जन्मियो I

वर्ग शत्रु सखाप अभियानको नाउमा झापा काण्डको पृष्ठभूमिबाट जन्मिएको दल भएकोले वैचारिक रूपमा यस भित्र अन्यौल र विवाद त छँदै थिए I

त्यो अन्यौल र विवाद २०३६ सालको जनमत सङ्ग्रहमा पनि प्रदर्शित भयो I

जनमत संग्रहलाई धोखा भन्दै नेकपा माले वहुदलीय व्यवस्थाको विपक्षमा उभियो I


४. राजनीतिक र वैचारिक विवाद कठिन र जटील बन्दै जाँदा २०३९ सालतिर सीपी मैनालीले राजनीतिक स्वतन्त्रताको पक्षमा पार्टीमा वकालत गर्न थाले I

उनको त्यो विचार बहुदलीय व्यवस्थालाई अङ्गिकार गर्नु अघिको पूर्वाधार थियो I

तर उनले त्यसलाई व्यवस्थित तरिकाले पार्टीमा प्रवेश गराउन नसकेकोले त्यसले पार्टी भित्र चरम द्वन्द्व उत्पन्न गर्यो I


५. त्यसै क्रममा उनी महासचिवबाट हटाइए, दण्डित भए I

झलनाथ खनाल महासचिव भए I

तर पार्टी भित्रको राजनीतिक तथा वैचारिक द्वन्द्वमा अल्मलिएका र अर्कोतिर सरकारको दमनकारी नीतिको त्राष र दवावमा झलनाथ खनाल टिक्न सकेनन र राजिनामा दिए I

अन्यौल र अस्थिरताबाट गुज्रदै २०४६ साल भदौमा भएको मालेको पार्टीको चौथो महाधिवेशनले मदन मण्डारीलाई महासचिव निर्वाचित गर्यो I


६. झापा काण्डसँग नजोरिएका, वैचारिकरूपमा प्रखर, प्रष्ट, दृढ निश्चयी मदन भण्डारी पार्टी नेतृत्वमा आउँदै गर्दा पूर्वी युरोपमा कम्युनिस्ट व्यवस्था गर्ल्याम गुर्लुम हुँदैथियो I

सोभियत सङ्घ ढल्दै थियो I

चीन देङ्गको नयाँ सुधारवादी लाइनमा गइसकेको थियो I

त्यस अवस्थामा पार्टीलाई भविष्य प्रदान गर्ने र २०३६को जनमत सङ्ग्रह ताकाको राजनीतिक आत्महत्या जस्तो स्थितिबाट जोगिदै २०४६को जन आन्दोलनमा सशक्त भूमिका निर्वाह गर्दै आफ्नो दललाई मुलुकको प्रमुख राजनीतिक दलकोरूपमा खडा गर्ने चुनौती मदन भण्डारी समक्ष थियो I


७. झापा काण्डबाट जन्मिएको चरम अराजक र हिंसामा विश्वास गर्ने दललाई शान्तिपूर्ण आन्दोलन र बहुदलीय प्रजातन्त्रमा विश्वास गर्ने कम्युनिस्ट पार्टीमा रूपान्तरण गर्नु जस्तो झन्डै असम्भव कार्य वैचारिक रूपमा प्रखर, स्पष्ट र अत्यन्त अध्ययनशील र वस्तुवादी यथार्थवादी राजनीतिज्ञको रूपमा मदन भण्डारीले सम्पन्न गरे I

अनेकौँ दवाव र तनावलाई चिर्दै २०४७ सालको संविधान निर्माणमा रचनात्मक र निर्णायक योगदान पुर्याए I

परिणामस्वरूप त्यो पृष्ठभूमिबाट आएको राजनीतिक दलले २०४८ सालमा सम्पन्न मुलुकको दोस्रो आम निर्वाचनमा शानदार र सम्मानजनक मत आर्जनगरेर शक्तिशाली विपक्ष बन्न पुग्यो I


८. मदन भण्डारीको बहुदलीय जनवादको विश्व परिवेशबारे माथि अलिकता चर्चा छ I

वस्तुत: मदन भण्डारी युरोपियन कम्युनिस्ट आन्दोलनबाट बढी प्रभावित देखिन्छन् I

त्यस मध्ये एउटा हो “दी न्यु लेफ्टिजम ” अर्थात नयाँ वामपंथ I

सामान्यतया लेफ्ट अर्थात् वामपंथ भन्ने बित्तिकै त्यसको अर्थ- नकारात्मकता, अस्वीकृति, विरोध, आन्दोलन र विद्रोह I

साविकको व्यवस्थालाई पुरै उल्ट्याउने भन्ने लाग्दछ I

त्यो भनेको वर्तमान यथार्थतालाई अस्विकार गर्ने -राजनीतिक चिन्तन पनि हो I

तर नयाँ वामपन्थका प्रवर्तक मानिने हर्बर्ट मर्क्युज, जाँ पाल सार्त्र , लेस्जेक कोलाकोस्की, फ्र्यांक केर्मोड जस्ता चिन्तक, दार्शनिक र लेखकहरूले स्थापित पूँजीवादी मान्यता र बुर्जुवा शासनको पनि विरोध गरे र लेनिन, स्टालिन, ख्रुश्चेभ र माओहरूको एक दलीय निरंकुशता र जनतालाई पार्टीको दास बनाउने र प्रगतिशीलताको नाउमा कम्युनिस्ट पार्टीको गतिहीन, भावनाहीन र मानवताविहीन शासनलाई पनि अस्विकार गरे I

साविकको बुर्जुवा शासन र कम्युनिस्ट शासन वीच नयाँ , उदार र मानवीय समाजवाद, पूँजीवादको विकसित स्वरूपपछि प्राप्त हुने समाजवादको पक्षमा उनीहरू उभिएका थिए I

उनीहरुले बर्ग सङ्घर्षलाई पनि पूर्णत अस्विकार गरे I

साविकका बुर्जुवा र समाजवादी शासनमा व्यक्तिको स्वतन्त्रता र प्रभुसत्तालाई निस्तेज र अस्विकार गरिएको सन्दर्भमा नयाँ वामपन्थीहरुले आफूलाई त्यसको पक्षमा उभ्याएका थिए I


९. सोभियत र चीनियाँ कम्युनिस्ट शासकहरूवीचको अन्तरविरोध, रक्तपातपूर्ण सङ्घर्ष र कम्युनिस्ट नोकरशाही र निरंकुशताबाट कम्युनिजमलाई जोगाउने उद्देस्यले इटालियन कम्युनिस्ट पार्टीका नेता सिग्नोर युरिको बर्लिङ्गर,फ्रेन्च कम्युनिस्ट पार्टीका नेता जर्ज मार्केज र स्पेनिस कम्युनिस्ट पार्टीका नेता स्यान्टियागो क्यारिल्लोले मार्च १९७७मा स्पेनको राजधानी म्याड्रिडमा आयोजित शिखर बैठकद्वारा अंगिकार गरिएका राजनीतिक मूल्य र पद्धतिहरू यस्ता थिए —


१. बहुदलीय प्रतिष्पर्धा सहितको शासन प्रणाली,

२. नागरिकलाई पूर्ण स्वतन्त्रता,

३. कुनै एउटा पार्टीको र कुनै राष्ट्रको नेतृत्वदायी शासनको अस्विकृति,

४. सर्वहारा वर्गको अधिनायकवादको अस्वीकृति,

५. बुर्जुवा संसदीय व्यवस्थाका नियम र कानुनहरूको पालना,

६. शान्तिपूर्ण माध्यमबाट सारकार र शक्ति प्राप्त गरिने प्रतिवद्धता ,

७. सवै प्रजातान्त्रिक शक्तिहरूसंगको सहकार्य ,


१०. स्मरणीय छ – मदन भण्डारीद्वारा प्रतिपादित बहुदलीय जनवादमा नयाँ वामपंथ र युरोपियन कम्युनिस्ट पार्टीहरूको प्रभाव थियो I

यही बहुदलीय जनवादकै कारण विश्वमा अस्वीकृत भैसकेको कम्युनिस्ट पार्टीलाई स्व. भण्डारीले राष्ट्रिय र अन्तर्राष्ट्रिय मान्यता र स्वीकृति दिलाए I

उनको पार्टी विश्व कम्युनिस्ट आन्दोलनको एउटा महत्वपूर्ण अध्याय बन्न पुग्यो र सोही सन्दर्भमा विश्व प्रशिद्ध अमेरिकी साप्ताहिकले मदन भण्डारीबारे लेख्दै नेपालमा मार्क्स जीवित छन् भनेर भनेको थियो I


११. आज कम्युनिस्ट पार्टी नेपालको संसदमा झन्डै दुई तिहाई स्थानमा पुग्नुको कारण मदन भण्डारीद्वारा आफ्नो पार्टीको लागि उनले अङ्गिकार गरेको र गराएको सिद्धान्त हो I


१२. आज माओवादीसँग पार्टी एक गर्ने क्रममा भण्डारीको पार्टीले भण्डारीले पार्टीलाई प्रदान गरेको सिद्धान्त र विचारलाई निलम्वित गरेको छ I

एक किसिमले परित्याग गरेको छ I

यो काङ्ग्रेसले वीपीलाई परित्याग गरे जस्तै देखिन्छ I

विडम्वना के छ भने वीपी कोइरालाका भाइ नेपालको राजनीतिमा सर्वेसर्वा हुँदा नेपाली काङ्ग्रेसले वीपीको सम्पूर्ण राजनीतिक जीवनको निष्कर्षकोरूपमा प्रतिपादित राष्ट्रिय मेलमिलापको नीतिलाई परित्याग गर्यो र त्यसको विकृत र भ्रष्ट व्याख्या गरेर तात्कालिक सत्तालाभको राजनीतिमा लाग्यो I

राष्ट्रको स्वतन्त्रता, स्वाधिनता, स्वाभिमानको रक्षाकोलागि मुलुकको आन्तरिक राजनीतिलाई वैदेशिक हस्तक्षेपबाट मुक्त राख्न जीवनको मूल्यमा नेपाल प्रवेश गरेर राष्ट्रिय मेल मिलापको नीति अवलम्वन गर्ने वीपीको जीवनको अन्तिम काल खण्डमा उनले अंगिकार गरेका मान्यता, विश्वास र शिक्षाको सवैभन्दा बढी उल्लङ्घन, तिरस्कार र परित्याग उनका भाइ र भाइका सहयोगीहरूले गरे I


१३. मदन भण्डारीकै सिद्धान्त बोकेर उनको पार्टी ठूलो बहुमतका साथ सरकारमा छ I

भण्डारीका निकट मित्र र अनुयायी शक्तिशाली सरकारका प्रमुख छन् I

भण्डारीकै धर्मपत्नी मुलुकको राष्ट्र प्रमुख हुनुहुन्छ I

तर सत्तारूढ दलमा भण्डारीको विचार निलम्वित छ , एक किसिमले अस्वीकृत छ I


१४. म मदन भण्डारीको अनुयायी होइन,

उनको विचारको समर्थक होइन,

उनको पार्टीको मतदाता पनि होइन I

तर उनको प्रशंसक हूँ I

उनले नेपालको प्रजातान्त्रिक आन्दोलन र प्रजातन्त्रको विकासमा ठूलो योगदान पुर्याएका छन् I

त्यसैले मेरो मनमा उनकाप्रति सम्मान छ I


भण्डारीमा हार्दिक श्रद्धान्जली !

भट्टराई कांग्रेस निकट बुद्धिजीवी हुन

केशव प्रसाद भट्टराईको फेसबुकबाट

प्रतिक्रिया दिनुहोस