सामाजिक सञ्जालमा भाइरल नेपालको नक्साको यथार्थ


सामाजिक सञ्जालमा नेपालले लिम्पियाधुरा समेटिएको भनिएको एउटा नक्सा अहिले भाइरल भएको छ । अधिकांश फेसबुक र ट्वीटर प्रयोगकर्ताले यस्तो स्टाटस शेयर गरेका छन्, ‘यो नक्सा कक्षा आठको किताबको हो। २०११ सालको जनसंख्या उल्लेख भएकोले २०१२-१३ सालतिर छापिएको हुनुपर्छ। यो नक्सामा लिम्पियाधुरा नेपालभित्रै छ। कहिलेदेखि नक्सा भारतप्रति लम्पसार परेर संशोधन गरे होलान् भन्ने अनुसन्धान गरिनुपर्छ। माननीयहरुले यसतर्फ पनि विचार गर्ने कि?’ प्रगतिशील लेखक संघका पूर्व अध्यक्ष मातृका पोखरेलले बैशाख ३० गते फेसबुकमा पोष्ट गरेको साे स्टाटस र नक्सा जेठ ४ गतेसम्म २४६ पटक शेयर गरिएको छ । त्यसमा जनाइएका ३१ प्रतिक्रियामा धेरैले उक्त नक्सा २०१२-१३ सालको पुस्तकबाट लिइएको अनुमान गरेका छन् । गोरखापत्र दैनिकका पत्रकार दीपक श्रेष्ठले वैशाख ३० गते सोही नक्सासहितको स्टाटस फेसबुकमा शेयर गरेका थिए । उनको पोष्ट १६३ पटक शेयर भएको छ। फेसबुक प्रयोगकर्ता शिवराम बोहाजुले वैशाख २८ गते आफ्नो फेसबुक वालमा शेयर गरेको उक्त पोष्ट १०६ पटक सेयर भएको छ।

रवि लामिछाने फ्यान क्लब नामको फेसबुक पेजले पनि उक्त पोष्ट शेयर गरेको छ । उक्त पोष्ट १४ पटक शेयर गरिएको छ ।

उक्त्त नक्सा ट्विटर प्रयोगकर्ताले पनि शेयर गरेका छन् । ट्वीटरमा हालै ट्रेण्डिङ भएको ह्यासट्याग #LipulekhBelongsToNepal मा पनि उक्त नक्सा प्रयेग गरिएको थियो ।

ट्विटर प्रयोगकर्ता शिर्जा श्रेष्ठले अङ्ग्रेजीमा लेखेको ट्विटको अनुवाद यस्तो छ-“कक्षा आठको अङ्ग्रेजी बिषयको पुस्तकमा रहेको नेपालको नक्सा। केही मूल्यवान कुरा तपाईभित्रै नभए दुश्मनले हमला गर्ने थिएन। भूमि अतिक्रमणका विषयमा भारतको सधै नराम्रो दृष्टि रहँदै आएको छ।”

आफुलाई भूगर्भविद भनी चिनाउने ट्विटर प्रयोगकर्ता दिलान्द्र पाठकले त्यो नक्सा राखेर लिपुलेक र लिम्पियाधुरा समेटिएको नक्सा भएको पुरानो दस्तावेज भनेर वैशाख ३१ गते ट्विट गरेका थिए।

अर्का ट्विटर प्रयोगकर्ता प्रदिप भट्टराई जेठ २ गते यस्तो लेखेका थिए :

“२०११ सालमा नेपालको नक्सा यस्तो थियो। जुन सहि नै थियो। तर त्यो चुच्चो परेको भाग २०३२ सालमा काटिएको रैछ। २०३२ मा कुनै आन्दोलन भए जस्तो लाग्दैन। २०३२ सालमा नेपालका प्रधानमन्त्री तुल्सी गिरी र राजा विरेन्द्र रहेछ्न। किन यसरी नेपालको भूभाग काटियो? कसैलाई जानकारी छ भने भन्नुहोला।” उनको ट्विट १६ पटक रिट्विट भएको छ ।

अधिकांश सामाजिक संजाल प्रयोगकर्ताले यो नक्सा नेपालको पुरानो दस्तावेजमा भएको, २०११/२०१२ सालतिरको पाठ्यपुस्तकमा भएको दाबी गरेका छन्। कतिपय प्रयोगकर्ताले रिप्लाई र प्रतिक्रियामा यो पुरानो नभएर अहिलेको पुस्तक भएको दाबी गरेका छन्।

यो नक्सालाई सामाजिक सञ्जालमा व्यापक बनाइएको यो पहिलो पटक चाहिँ होइन । नेपालले आफ्नो दाबी गर्दै आएको भूमिमा भारतले सडक बनाएपछि दुई देशबीच रहेको सीमा विवाद फेरि बल्झिएको छ। लिम्पियाधुरा, लिपुलेक र कालापानी रहेको नेपालको पश्चिमोत्तर भूभागलाई लिएर यसबेला फेरि विवाद शुरु भएको हाे ।

साउथ एसिया चेकले उक्त नक्साको बारेमा तथ्य जाँच गरेको छ । उक्त नक्सा शिक्षा मन्त्रालय अन्तर्गतको जनक शिक्षा सामग्री केन्द्रको पाठ्यक्रम विकास केन्द्रले २०७१ साल (सन् २०१४) मा निकालेको कक्षा ८ को अंग्रेजी विषयको पाठ्य पुस्तकमा रहेको फेला परेको छ । केन्द्रका निर्देशक गणेशप्रसाद भट्टराईले पाठ्य पुस्तकमा नापी विभागबाट प्राप्त आधिकारिक नक्साको प्रयोग गरिने भएपनि उक्त नक्सा गुगल सर्च गरेर लिइएको हुनसक्ने बताए । “हामीले पाठ्यपुस्तक र सन्दर्भ सामग्री प्रकाशित गर्छौ,” उनले साउथ एसिया चेकलाई बताए ।  “यदि कुनै कारणले डिजाइन गर्ने व्यक्तिले विभागको नभई अर्कै नक्सा राखेको रहेछ भने हामी बुझ्छौँ, ” उनले भने । हामीले भट्टराईलाई उक्त पाठ्य पुस्तकका केही पेज समीक्षा गर्नका लागि इमेलमार्फत पठायाैँ । त्यसमा कक्षा आठको ‘डिस्ट्रिक्ट प्रोफाइल’ भन्ने पाठमा डडेलधुरा शीर्षक रहेको भाइरल भएको उक्त नक्सा, पुस्तककाे आवरण  र लेखकहरुका नाम भएका पेज थिए ।

हामीले पठाएको पुस्तककाे पहिलो संस्करण सन् २०१५ मा निकालिएकाे थियाे भने  २०१६ र २०१७ मा पुन:मुद्रण भएको थियाे । हाल काठमाडौँका केही विद्यालयहरुमा उक्त पुस्तक पढाइ हुनेगरेको पाइएको छ। धापासीस्थित तिलिङ्गटार उच्च माध्यमिक विद्यालयमा अंग्रेजी विषयकी शिक्षिका राधा कार्कीले सरकारले निर्धारण गरेको उक्त पुस्तक पठनपाठन भइरहेको जानकारी दिइन्। “हाम्रो विद्यालयमा मात्रै होइन, देशभरिकै सरकारी र सामुदायिक विद्यालयमा यही पुस्तक पढाइ हुन्छ,” उनले भनिन् ।

उक्त नक्सा भएकाे कक्षा आठकाे अंग्रेजी पुस्तककाे आवरण (बायाँ) । केन्द्रकाे बेवसाइटमा रहेकाे पाठ्य पुस्तककाे सम्बन्धित पेज (दायाँ)

पाठ्यक्रम विकास केन्द्रका भट्टराईका अनुसार साउथ एसिया चेकले पठाएको संस्करणमा सन् २०१५ लेखिएको र लेखकको नामको ढाँचा पनि फरक छ । “हाम्रो पाठ्यपुस्तकलाई नै कपी गरेजस्तो देखिन्छ । म अहिले घरमा छु । लकडाउनले गर्दा बुझ्न पाएको छैन । फेरि म आउनुभन्दा अघिको कुरा हो यो,” उनले भने ।

पाठ्यक्रम विकास केन्द्रको वेबसाइटमा राखिएको उक्त पुस्तकको पेज १०६ मा ‘लिस्निङ’ अन्तर्गत ‘इन्गेज युअरसेल्फ’ शीर्षक पाठमा सो नक्सा हेरेर पाँच विकास क्षेत्रको मौसमको अनुमान गर्न भनिएको छ ।

तर भाइरल भएको नक्साको मुन्तिर डडेलधुराको ‘डिस्ट्रिक प्रोफाइल’ मा जिल्लाको जनसंख्या १,४२,०९४ भएको उल्लेख छ । सन् २०११ को जन गणना अनुसार उक्त तथ्यांक राखिएको हो । तर सामाजिक सञ्जाल प्रयोगकर्ताले सन् २०११ लाई विसं २०११ साल भनी अर्थ्याएकोले नेपालको पुरानो पाठ्य पुस्तकमा भएकाे नक्सा भनी भ्रम फैलिएको छ ।

southasiacheck.org बाट लिइएको 

प्रतिक्रिया दिनुहोस