कौसी खेतीप्रति आकर्षण बढ्दो


काठमाडौँ, जेठ ५ गते । सरकारको नीति तथा कार्यक्रममा यसवर्ष कौसी खेती प्रवद्र्धन पनि परेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार सङ्घीय संसद्मा प्रस्तुत गर्नुभएको सरकारको नीति तथा कार्यक्रममा ‘आर्थिक वर्ष २०७७÷०७८ को नीति तथा कार्यक्रममा कौसी खेती प्रवद्र्धन गर्ने’ उल्लेख गरिएको छ ।
देशभर उत्पादनशील जमिन ठूलो मात्रामा बाँझो भइरहेको बेला विशेषतः सहरी क्षेत्रमा प्रचलित यो नीतिले अर्थतन्त्रमा कति योगदान देला ? यसको अध्ययन हुन बाँकी नै छ । विगत केही वर्षदेखि राजधानी लगायतका सहरी क्षेत्रमा यसले निकै स्थान पाइरहेको छ । विश्वव्यापी महामारीका कारण सिर्जना भएको अहिलेको वातावरणमा सहरी क्षेत्रमा बसोबास गर्ने नेपालीका लागि घरमा कौसी खेती समय कटाउने र खाँचो टार्ने उत्तम विकल्प हुन सक्छ ।
दुई महिनायता जारी बन्दाबन्दीको समयमा फुर्सदिला भएका उपत्यकावासीले कतिपयले घरको कौसीमा खेती गरिरहेका छन् । समय बिताउन पनि हुने र कौसीमा फलेका तरकारीले छाक पनि टर्ने भएकाले कौसी खेतीतर्फ आकर्षण बढेको हो । धेरैले कौसीमा फर्सी, करेला, काँक्रो, रायोको साग, सिमी, घिउ सिमी, टाटे सिमी, तने बोडी, स्विस साग, तेल साग लगायतका तरकारी लगाउने गरेको पाइएको छ । कतिपय फल्न थालेका छन् भने साग जातका तरकारी खान तयार भएका छन् ।
काठमाडौँ महानगरपालिका वडा नं.–१९ क्वेताहिटी निवासी शेषनारायण महर्जन घरको कौसीमै तरकारी फलाउन हुने, कौसीमा उत्पादन भएको तरकारीले ७५ प्रतिशतसम्म ताजा तरकारीको आवश्यकता पूर्ति हुने अनुभव सुनाउनुहुन्छ । महर्जनले विगत १२ वर्षदेखि घरको छतमै तरकारी फलाउँदै आउनुभएको हो । उहाँले बगैँचा बनाउने, नर्सरी लगायत कौसी खेतीका बारेमा समेत प्रशिक्षण दिँदै आउनुभएको छ ।
कम्पोस्ट मलबाट आयआर्जन
कुहिने सबै प्रकारका चिजबिज कम्पोस्ट मल बनाउन उपयोग गर्न सकिन्छ । काठमाडौँ महानगरपालिका वातावरण विभागमा कार्यरत सानुमैयाँ महर्जनले वार्षिक एक टन कम्पोस्ट मल बिक्री गरी आम्दानीसमेत गर्दै आउनुभएको छ । उहाँको अनुभवमा कुहिने प्रकारका पदार्थलाई मल बनाउँदा फोहोर कम निस्किने, नकुहिने फोहोर महिनौँसम्म जम्मा गर्दा पनि दुर्गन्ध नफैलिने र कम्पोस्ट मलको उपयोगले तरकारी र फलफूल त सप्रन्छ नै बढी भएको मल बिक्रीबाट अतिरिक्त आम्दानी पनि हुन्छ । महानगरपालिकामा समूह मिलेर तालिमको माग हुँदा समुदायमा गएर
कम्पोस्ट मल बनाउने तालिम पनि प्रदान गर्दै आएको महर्जनले बताउनुभयो ।
बिक्री नै नगरे पनि हरेक घरमा कम्पोस्ट मल बनाउँदाको फाइदा पैसामा किन्न नसकिने बताउनुहुन्छ उहाँ । गैरसरकारी संस्था गुठीले कौसी खेती अनलाइन तालिमको आह्वान गरेको थियो । तालिम सञ्चालक गुठीका प्राविधिक सल्लाहकार प्रकाश अमात्यका अनुसार तालिममा जुम तथा फेसबुक लाइभ मार्फत प्रत्यक्ष डेढ सय जनाले सहभागिता जनाएका थिए भने तालिम सञ्चालनको समयमा आठ हजार जनाले अवलोकन गरेर प्रशिक्षकका रूपमा सहभागिता जनाएका थिए ।
भान्छाबाट निस्कने कुहिने फोहोरको सदुपयोग गरी बनाइने कम्पोस्ट मल र कौसी खेतीका बारेमा बनाइएको तालिमको भिडियो राखेपछि एक सातामै १५ हजार जनाले हेरेर कम्पोस्ट मल बनाउन ‘कम्पोस्ट विन’ माग गरिरहेका छन् । गुठीका अनुसार नेपालमा प्रतिमहिना एक अर्ब ६० करोड रुपियाँ बराबरको तरकारी आयात हुन्छ जसमध्ये ६५ प्रतिशत तरकारी काठमाडौँमा खपत हुन्छ ।
काठमाडौँवासीले घरमै कौसी खेती गर्ने हो भने यसले हरेक घरमा ७५ प्रतिशतसम्म तरकारीको माग पूूरा गर्न सक्छ । यसले घरघरमा विषादीरहित तरकारी उत्पादन, पैसा बचत र वातावरणमा पनि राम्रो असर पु¥याउँछ । कोरोना सङ्क्रमितको सङ्ख्या बढेको खबरले सबै सञ्चार माध्यम र सामाजिक सञ्जाल भरिएका छन् । लकडाउन कति लम्बिने हो पत्तो छैन । यतिबेला कृषिकर्म बाहेकका सबै रोजगारी र व्यवसायका ढोका बन्द अवस्थामा छन् । खेतीयोग्य जमिन सहरमा ज्यादै कम छ । जमिनमा घर फलेका छन्, सबै घरमा कौसी पनि छँदैछन् । हरेक कौसीमा तरकारी लगायत घरका लागि उपयोगमा आउने हरेक प्रकारका फलफूल फल्दछन् ।   गोरखापत्रबाटबाट साभार्

प्रतिक्रिया दिनुहोस