दैलेख जिल्लामा कोरोना सङ्क्रमण पुष्टि भएका ३५ वर्षीय युवाको दु:खद कथा


दैलेख, जेठ ७ गते । कर्णाली प्रदेशको दैलेख जिल्लामा कोरोना सङ्क्रमण पुष्टि भएका ३५ वर्षीय युवा भारतको उत्तर प्रदेशस्थित आगराबाट आएको खुलेको छ । भारतमा कोरोना भाइरसको सङ्क्रमणको हल्ला भएपछि उनीलगायत ३९ जनाको टोली हिँडेर कन्चनपुर जिल्लाको गड्डाचौकी नाकामा आइपुगेका थिए । भारत र नेपालले लकडाउनसँगै नाका बन्द गराएपछि ४५ दिन गड्डाचौकी नाकामा भारतले निर्माण गरेको क्वारेन्टाइनमा बसेका थिए । १४ जना वनबासा नजिकको शारदा इन्टरकलेजमा र बाँकी २५ जना टनकपुरस्थित एमडि स्कुलमा क्वारेन्टाइनमा समय बिताएका थिए ।

दैलेखका ३९ जनाले आफूहरू समस्यामा परेको खबर सामाजिक सञ्जालमा राख्दै उद्धार गर्न माग गरेपछि उनीहरूलाई स्थानीय सकारले जेठ १ गते गड्डाचौकी नाकाबाट दैलेखको आठबिस नगरपालिका वडा १ मा ल्याएको थियो । स्थानीय सरकारले उद्धार गरी ल्याएर नगरपालिकाका वडा १ ले उनीहरू लक्ष्मी माध्यामिक विद्यालयमा निर्माण गरेको क्वारेन्टाइनमा बसेका थिए ।

स्वास्थ्य सेवा कार्यालय, दैलेखबाट पिसिआर परीक्षणका लागि गएको टोलीले गत शनिबार स्वाब सङ्कलन गरेर ल्याएको थियो । त्यहाँबाट ल्याएको स्वाब कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरस्थित प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा गरिएको कोरोना परीक्षणमा रिपोर्ट पोजेटिभ देखिएपछि थप नमुना परीक्षणका लागि युवाको स्वाब सङ्कलन गरी नमूना नेपालगन्ज पठाइएको थियो । स्वास्थ्य मन्त्रालयका अनुसार नेपालगञ्जस्थित भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना सङ्क्रमणको पुष्टि भएको थियो ।

आठबिस नगरपालिकाका नगरप्रमुख खड्कराज उपाध्यायका अनुसार सीमापारि भारतको वनबासामा अलपत्र परेका नागरिकको उद्धारका क्रममा नगरपालिकाले चैत्र ३१ गते सङ्क्रमित युवासँगै ४९ जनालाई उद्धार गरेको थियो । स्वास्थ्य कार्यालय दैलेखका खोप अधिकृत तथा कोरोना सूचना आधिकारी थिरप्रशाद रेग्मीका अनुसार सङ्क्रमितलाई उपचार गर्न स्वास्थ्य सेवा कार्यालय, दैलेखमा ल्याउने तयारी भैरहेको छ ।

दैलेखका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलको अध्यक्षतामा बसेको बैठकले उनको उपचार जिल्ला अस्पतालमा गर्ने निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी कट्टेलका अनुसार उनलाई जिल्ला अस्पतालसम्म ल्याउनका लागि एम्बुलेन्स पठाईएको छ । ‘उनको पहिलो चरणको उपचार यतै हुन्छ प्रमुख जिल्ला अधिकारी कट्टेलले भने थप उपचारको लागि प्रदेश सँगको सहकार्य अनुसार काम गर्छाैँ ।

सङ्क्रमित युवासँगै शनिबार स्वाब सङ्कलन गरिएका ३९ जनामध्ये ३८ जनाको रिपाेर्ट नेगेटिभ आएको छ । सँगै बसेकामध्ये कोरोना सङ्क्रमण देखिएका युवाले स्वाब सङ्कलन गरिसकेपछि पनि उनीहरुसँगै बस्ने, खाने र देउडा समेत खेलेका कारण पुनः सबैको पिसिआर परीक्षण गर्न स्थानीयले माग गरेका छन् ।गोरखापत्रवाट

प्रतिक्रिया दिनुहोस