सके बेचेर ल्याउँछाैँ, हैन भने फालेर आउँला भन्दै व्यापारीले तरकारी लिएर जाने गरेपछी किसानहरू मार्कामा


काठमाडाैँ,  सिन्धुलीको घ्याङलेक गाउँपालिकाकी रोशनी श्रेष्ठ, भेटेरीनरी तथा कृषि प्राविधिक हुनुहुन्छ । एसइइ परीक्षापछि १५ महिनाको पाठ्यक्रम पूरा गरी यतिबेला उहाँ गाउँमै प्राविधिक सेवा गर्दै घ्याङलेक गाउँपालिकाको रामपुरमा व्यावसायिक तरकारी खेती गर्नुभएको छ । अघिल्लो वर्ष गोलभेँडाको निकै राम्रो मूल्य पाएपछि यो वर्ष १० रोपनी जग्गामा उहाँले गोलभेँडा खेती गर्नुभएको हो ।

उहाँको यतिबेला गोलभेडा उत्पादन भइरहेको छ । एक क्रेट गोलभेँडाको दुई सय रुपियाँसमेत दिन व्यापारी तयार नभएपछि रोशनी यतिबेला निकै चिन्तामा हुनुहुन्छ ।

‘सके बेचेर ल्याउँछाैँ, हैन भने फालेर आउँला भन्दै व्यापारीले तरकारी लिएर जाने गरेका छन् ।’ रोशनीले भन्नुभयो । यसो भन्दा एक क्रेट गोलभेँडाको मुस्किलले दुई सय रुपियाँ पाउने रोशनीको भनाइ छ । उहाँले स्थानीय सरकारसँगै प्रदेश सरकार तथा केन्द्रीय सरकारले कृषकको समस्याको बारेमा ध्यान दिन नसकेको गुनासो पोख्नुभयो ।

झण्डै एक दशक वैदेशिक रोजगारीको लागि खाडी मुलुकमा श्रम गरेर फर्कनुभएका काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिकाका श्याम तिमल्सिनाले प्रेरणा कृषी तथा पशुपक्षी फार्म स्थापना गरेर कृषी कर्ममा होमिनुभएको छ । यो वर्ष २० रोपनीभन्दा धेरै जग्गामा काँक्रो खेती गरेका तिमल्सिनाको एक केजी काँक्राको मूल्य पाँच रुपियाँभन्दा धेरै पाउनुभएकै छैन ।

‘अझ थोरै मात्र बाङ्गो काँक्रालाई व्यापारीले माइकल भन्दै फालिदिन्छन्,’ तिमल्सिना भन्नुहुन्छ, ‘राम्रो काँक्रा त पाँच रुपियाँमा भए पनि बिक्छ । अलिकति बाङ्ग्रो काँक्रो त पशुलाई आहार खुवाउने बाध्यता छ ।’

तरकारी उत्पादनको राजधानी मानिने पाँचखालका किसानकाे यस्तै समस्या छ । लामो समयदेखि प्राध्यापन पेसामा आबद्ध पाँचखालका जगन्नाथ अधिकारी पछिल्लो समय किसान निक्कै समस्यामा परेका बताउनुहुन्छ । नेपालभरिका किसान बिचौलियाको सिकारमा परेको अधिकारीको बुझाइ छ ।

उहाँ बिचौलियाले किसानसँग चार सय रुपियाँ प्रतिक्रेटका दरले किनेको गोलभेँडा उपभोक्तासम्म पुग्दा २२ सय रुपियाँसम्म पर्ने बताउनुहुन्छ ।

मोफसलबाट चार सय रुपियाँमा लगेको एक क्रेट गोलभेँडा काठमाडाैँ पु¥याएर थोक बिक्रेतालाई आठ सय रुपियाँ प्रतिक्रेटमा बेच्छन् । थोक बिक्रेताले खुद्रा तरकारी पसलेलाई एक हजार दुई सय प्रतिक्रेटमा बेच्दछन् । अनि उपभोक्तालाई आधा केजी र एक केजी गरेर खुद्रा पसलेले एक क्रेटबाट एक हजार छ सयदेखि दुई हजारमा सम्ममा बिक्री गर्छन् । यसरी हेर्दा किसानले २० रुपियाँ प्रतिकिलो पाउँछन् ।

उपभोक्तासम्म पुग्दा प्रतिकिलो ६० रुपियाँदेखि १०० सम्म तिर्नुपर्ने हुन जान्छ । प्रतिकिलो उपभोक्ता मूल्य ६० रुपियाँ नै भए पनि के बुझिन्छ भने, न त उत्पादन गर्नेले उचित मूल्य पाउँछन्, न त उपभोक्ताले सुपथ मूल्य । ‘बेलगाम बिचौलियाहरूले बिचमा बसेर उपभोक्ता शोषण गरी अनपेक्षित नाफा खाइरहेका हुन्छन्, अनि महङ्गो भइहाल्छ नि ! यसतर्फ कसले सोच्ने ?’ उहाँले तरकारी खेतीमा भएको बिचौलियाको कारणले पाएको समस्या बारेमा दुखेसो पोख्नुभयो ।यो समाचार गोरखापत्रको लागी केशवराज पौडेलले लेख्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस