नियति र २०४६ को नाकाबन्दीको एउटा सन्दर्भ


केशव प्रसाद भट्टराई

@kpbnepal

नियति र २०४६ (१९८९-९०) को नाकाबन्दीको एउटा सन्दर्भ

र ओली सरकारको स्मरणार्थ पनि !

*****

*****

१. नेपाल -भारत वीचको व्यापार र पारवहन सन्धिको म्याद सकिँदै गर्दा दुई मुलुक वीचको एउटा प्रमुख व्यापारिक विवाद सतहमा आएको थियो I

त्यो भनेको नेपालले विदेशबाट झिकाएका विलाशी बस्तु तथा सामानहरूको निर्वाध भारत प्रवेश र त्यसले भारतीय उत्पादनहरूमाथिको असर थियो I

थप कुरो त्यस्ता प्रकृतिका भारतीय उत्पादनहरूमाथि नेपालले अतिरिक्त कर लगाएको तर तेस्रो मुलुकबाट आयात हुने सामानमा कर कम लगाएको आरोप भारतीय पक्षको थियो I

त्यतिखेर नेपालका सवै सीमावर्ती बजार भारतीय उपभोक्ताहरू लक्षित त्यस्ता विदेशी सामानहरूले खचाखच भरिएका हुन्थे र तिनले तस्करीको माध्यमबाट सजिलै भारतीय बजारमा पनि प्रवेश पाउँथे I

*****

२. बढी करका कारण नेपालको बजारमा त्यस्ता भारतीय सामान महँगा हुन्थे तर तेस्रो मुलुकका त्यस्तै सामान भने कम करका कारण नेपालमा सस्ता हुन्थे I

त्यसैले १९८८मा सचिव स्तरमा दुइ देश त्यस्ता भारतीय बस्तुमा ५० प्रतिशत कर घटाउन सहमत भैसकेका थिए ,

सहमति पत्रमा हस्ताक्षर पनि भइसकेको थियो I

सहमति अनुसार मन्त्रीस्तरमा व्यापार र पारवहन सन्धि हुनु अघि नेपाल सरकारले एउटा आयात-निर्यात विज्ञप्तिद्वारा भारतीय सामानमा त्यस्तो छुटको घोषणा गर्ने र त्यसपछि दुवै मुलुकले मन्त्री स्तरमा उक्त सन्धिमा हस्ताक्षर गर्ने सहमति भएको थियो I

तर केही व्यापारीहरूको दवावमा परेर नेपाल सरकारले त्यस्तो विज्ञप्ति जारी गरेन I

‘पहिला व्यापार र पारवहन सन्धि होस् अनि त्यस्तो विज्ञप्ति …… भनेर नेपाल सरकार बस्यो र २०४५ चैत्रमा व्यापार र पारवहन सन्धिको म्याद सकियो I

*****

३. सेप्टेम्बर ४ १९८९का दिन असंलग्न राष्ट्रहरूको नवौँ शिखर सम्मेलनमा बेलग्रेडमा राजा वीरेन्द्र र भारतीय प्रधानमन्त्री राजिव गान्धीवीच अत्यन्त सौहार्द र मित्रतापूर्ण वातावरणमा दुई घण्टा लामो वार्ता भयो I

तर परराष्ट्र मन्त्री शैलेन्द्रकुमार उपाध्यायले बेलग्रेड छोड्नु अघि दिएको वक्तव्यमा दुई मुलुकवीच सम्पन्न त्यस्तो महत्वपूर्ण वार्ताबारे उल्लेख सम्म गरेनन् तर नेपाल र भारत माझ सम्वन्ध सामान्य हुन लामो प्रतीक्षा गरिनु पर्ने उल्लेख भने उनले गरे I

तर आफ्नो मुलुक फर्किएपछि राजिव गान्धीले राजा वीरेन्द्रसँग भएको सद्भाव पूर्ण वार्तामा दुवै पक्ष वीच सवै महत्वपूर्ण विषय समेटिएको उल्लेख गरेका थिए I

*****

४. बेलग्रेडमा सर्वोच्च दुई नेता वीच व्यापार र पारवहन सन्धिबारे एउटा सहमति भइसकेको र बेलग्रेडबाट नेपाल फर्किने क्रममा राजा वीरेन्द्र नयाँ दिल्ली हुँदै आउने र सो अवधिमा पुन राजा र राजिव गान्धीवीचको वार्ताबाट बाँकी सवै कुरा छिनोफानो हुने सहमति पनि भएको थियो तर नेपाल सरकारले दिल्ली भएर नेपाल फर्किने वातावरण बन्न दिएन I

त्यो वातावरण मिलाएन I

राजा सोझै काठमाडौँ आए र नेपाल फर्किएपछि राजाले देशवाशीलाई गरेको सम्वोधनमा नेपाल सरकारको नीति र कार्यशैलीप्रति परोक्षरूपमा आफ्नो असन्तोष पनि प्रकट गरेका थिए I

*****

५. एउटा महत्वपूर्ण अर्को पक्ष पनि छ I

राजा वीरेन्द्र बेलग्रेडपछि फिनल्याण्ड समेतको भ्रमणमा गएका थिए I

नेपालको भारतसँगको सम्वन्धमा रहेका जस्तै चुनौती र समस्याहरू फिनल्याण्ड -सोभियत सङ्घ ( हाल रूस) वीचको सम्वन्धमा थियो र छ I

तर फिनल्याण्डले रूससँग निकट सम्वन्ध राख्दै आफ्नो स्वतन्त्रता र समृद्धिलाई सुनिश्चित गरेको थियो I

फिनल्याण्ड भ्रमणको अवशरमा राजा वीरेन्द्रले त्यहाँको प्रमुख अखवार हेल्सिङ्गिन सानोमाटलाई विशेष अन्तर्वार्ता दिएका थिए I

सो अन्तर्वार्तामा हेल्सिङ्गिन सानोमाट ले राजालाई ११ प्रश्न सोधेको थियो I

त्यस मध्ये पाँच प्रश्न नेपाल भारत सम्वन्धमा मात्र केन्द्रित थिए I

सो अन्तर्वार्तामा राजाले नेपाल भारत सम्वन्धमा फिनल्याण्ड मोडेल अनुशरण गर्न सकिने सङ्केत गरेका थिए I

*****

६. सो अनुसार सन्धिको म्याद सकिए पछि भारतले दुई बर्षको लागि पुरानै सन्धिको म्याद बढाउने र शान्ति क्षेत्र प्रस्तावलाई समेत मान्यता दिने प्रस्ताव पनि गरेको थियो I

त्यसको पुष्टि भारतीय साप्ताहिक रविवार (१७-२३ सेप्टेम्वर १९८९)ले पनि गरेको थियो I

प्रधानमन्त्री मरिचमान सिंह र परराष्ट्र मन्त्री शैलेन्द्रकुमार उपाध्याय नेपाल भारत सम्वन्धमा राजाको आशय अनुसार कार्य गरिरहेका थिएनन् I

राजा भारतबारे नरम अभिव्यक्ति दिन्थे तर प्रधान मन्त्री , परराष्ट्र मन्त्री र अन्य पन्च नेता र अधिकारीहरू उग्र प्रतिक्रिया दिइरहेका हुन्थे I

नेपाल सरकारका अधिकारीहरू १९८९को नोभेम्वरमा भारतमा हुने आम निर्वाचनमा राजिव गान्धीको सम्भावित पराजय पर्खेर बसेका थिए I

बेलग्रेड पछि नेपाल र भारत वीचको सम्वन्धमा तीक्तता बढ्दै गयो I

*****

७.समय अघिपछि भयो रह्यो, तर नियतिले राजा वीरेन्द्र र राजिव गान्धी दुवै माथि समान कहर बर्षायो I

वीपी कोइरालाले भन्ने गरेको अडिट फर्मुलाका अनुयायीहरू त्यतिखेर दुवै मुलुकमा निर्णायक स्थानमा पुगेका थिए I

राजा वीरेन्द्र र राजिव गान्धी दुवै आफ्नो शासन सत्तामा अडिटवादीहरूको बढ्दो प्रभाव र पहुँचबाट स्वतन्त्र हुने असफल कोशिश गरिरहेका थिए I

उता नेपाल र भारतका अडिटवादीहरू वीपीद्वारा प्रतिपादित राष्ट्रिय मेलमिलापको नीतिलाई असफल सावित गर्न र दुवै मुलुक वीचको सम्वन्धलाई पनि खतरनाक स्थितिमा धकेल्न उद्यत थिए I

*****

८. ती अडिटवादीहरू आजको नेपालमा को हुन् ? र भारतमा को होलान ? त्यो छुट्याउने जिम्मा हजुरहरूलाई !

प्रतिक्रिया दिनुहोस