सुदूरपश्चिमका विभिन्न नाकाबाट ४० हजार नेपाली भित्रिए


सुदूरपश्चिम प्रदेशको विभिन्न नाका भएर भारतका विभिन्न शहरबाट जेठ २ गते यता ३९ हजार ८६० नेपाली भित्रिएका छन् । रोजगारीका लागि भारतका विभिन्न शहर गएकाहरू आउनेक्रम अझै जारी छ । बिहीबार बैतडीको झुलाघाट नाकाबाट समेत नेपाली भित्रिएका छन् ।
जिल्ला प्रशासन कार्यालय, कैलालीका अनुसार जेठ २ गतेदेखि अहिलेसम्म गौरीफन्टा नाकाबाट २८ हजार ८७९ जना भित्रिएका छन् । जसमा जेठ २ मा ३८३ जना, ३ गते ४०३, जेठ ७ गते ८३४, ८ गते दुई हजार ४९८, जेठ ९ गते दुइ हजार ११, १० गते एक हजार ९५९, ११ गते तीन हजार ९६४, १२ गते दुई हजार २२७, १३ गते पाँच हजार २४२, १४ गते चार हजार ७९४ र १५ गते चार हजार ५६४ जना रहेका छन् ।
त्यसै गरी, कञ्चनपुर जिल्ला प्रशासन कार्यालयका अनुसार बुधबारसम्म आठ हजार नेपाली गड्डाचौकी नाकाबाट भित्रिएको बताउँदै बिहीबार दुई हजार ४०५ नेपाली उक्त नाकाबाट भित्रिएको जनाइएको छ । त्यस्तै, बैतडीको झुलाघाट नाकाबाट ५७६ जना नेपाली भित्रिएको जिल्ला प्रहरी कार्यालय, बैतडीका ले जनाएको छ । गोरखपत्रवाट

प्रतिक्रिया दिनुहोस