ती आमाको छोरो म


मेरि ती आमा !
पर्वतकी छोरी हुन।
झरनामा थापिन्छिन।पहारामा केश सुकाउँछिन।
हिमतालको पानी पिउछिन !
काली नाग हातमा खेलाउँछिन।
बघिनीको दूध दुहुन्छिन ! सिंहको जुँगा गन्छिन।
बच्छीम बिच्छीलाई, जिब्रोमा टोकाउँछिन।

उनी जन्मदै,
फोकसुण्डोमा डुवुल्की मारीन।
मेची , काली र नारायणि पौडेर तरिन।
सिस्नो, सिउँडी र काँडाघारी मडारीन।
छहरा कन्दरा गुफा ओडारमा पसिन,
टाकुराको हुरि बतास र सिरेटोलाई सहिन।
हिउँको डल्लामा पुल्टुङ्गमारी खेलिन।

वाल्यकालमै,
शालिग्रामको गट्टा खेल्थिन।
डाडा काँडाको पाइला गन्थिन।
सगरमाथालाई अंगालो मार्थिन!
वाज छोपेर चारो खुवाउँथिन।
गैंडाको सिङ्ग समाइ बुर्कुसी मार्थिन,
मत्ताको सुँडमा झ्याँङकुसी खेल्थिन।

जान्ने भयपछी,
शीखर बाट संसार चियाउँथिन,
ध्यान गर्न लुम्बिनी आउँथिन।
मुक्तिनाथको जल , जनकपुरमा चढाँउथिन!
देवघाटमा स्नान गरि, पशुपतिको दर्शन गर्थिन।
डोलेश्वरमा दिप वाली कुद्दै पुग्थिन गोसाइकुण्ड।
पाथिभरालाई फूल चढाई सलहेस मेला भर्थिन।

संगत तीनको,
सीता , गार्गी, भृकुटी र पासाङ दमाली।
जनक, बुद्ध र ब्यास संग शिक्षा लीई।
अमर, भक्ती ,बलभद्रको, खुकुरिमा धार लाउँथिन।
पहाड भेदन गरि तीर चलाउँथिन।
गुराँस गुँथ्थीन, डाँफेको प्वाँख सिउरिन्थिन।
जोसुकै होस, वैरीका शीर जुद्धा पार्थीन।

तीनकै छाती चुसेको म,
कमजोर र निर्धो कसरी बन्न सक्छु?
भुसुनाको गणित गरि ,धेरै कसरी भन्न सक्छु।
जसको रक्षकै भाग्थ्यो, मेरि ती आमा देखि,
उसैलाई बलवान् सम्झी, म कसरी झुक्न सक्छु।
मेरा जिजुको त्रासमा , अनिदै काल गुजारेकाले,
हेपेको आज, सहन कहाँ सक्छु?

सवैको रक्षा गर्ने म!
आफ्नै माटो रक्षार्थ,पिठ्यू कहाँ फर्काउँछु?
बरु मर्छु, बाँचुन्जेल रगत बगाउँछु।
पूर्खाले दिएका गर्दन मेरा, छाती पाखुरा छन।
आमाको दूध सर्सराउँछ,उम्का रगत उम्लिन्छन।
पहाडले च्याँप्दा नखोल्सिने छाती मेरा।
कहाँ पछि हट्छ?आकार ठूलो देखेर!

मेरा ती अग्रजसंग थाकेकाहरु,
विश्व उनकै पछि छ! म कहाँ हार्न सक्छु?
जाइकटक पो नगर्या हो र!
आइपरे , झिकी कटक कहाँ टार्न सक्छु !
आधुनिक हतियार र शक्तिको, हवाला दिनु पर्दैन,
अग्रेज उ बेलै यस्तै थियो।
केवल खुकुरिको भरमा, नेपालीले तह लाईदियो।

रगतले लेखिएको ,
ईतिहास मेरो देश भक्ती र वीरताको।
हार्न कहिल्यै नजानेको, शौर्य पराक्रम र धीरताको।
मेरा वाउ बाजे र जिजु बराजुहरुले ,
देशको हितमा हाँसी हाँसी ,प्राणको वलिदान दिए।
आफू मरेर पनि बचाए नेपाल!
हेपिएन नेपाली माटो र स्वाभिमान रह्यो अक्षुण अटल।

मातृभूमिका निम्ति!
भोक तिर्खा र जस्तोसुकै कष्ट हुण्डरी सहन सक्छु।
छातीमा बज्र थाप्छु! तरवारमा घाँटी अड्याउँछु।
गोलि बारुदको सामना गर्छु,
मेरो भूमि दागा गर्नेलाई,यमराजको निम्तो सुनाउँछु।
प्राण र प्रलयको प्रवाह छैन।
आगो निल्छु, जल सुकाउँछु! वायुको बेग रोक्छु।

दुनियाले बुझून!
वचनको म पक्का छु, मरेपनी फेरिन्न!
सोझोमा म गौप्राणी हूँ, ज्यान दिएको थाहा पाउन्न ।
सत्यमा युधिष्ठिर हूँ,मित्रमा कर्ण जस्तै ।
देशका रिपु र अत्याचारीका निम्ति काल !
संख्याको वसमा घमण्ड पाल्नेले आँखा खोल!
सवैलाई सिध्याउने त नि :सस्त्र र केवल एक छ।

मेरो एउटै उद्देस्य!
अरुको आस गर्दिन,आफ्नो कसैलाई दिन्न।
मित्रवत व्यवहार चाहान्छु! छोटे पुन्टे सहन्न।
समानता र सहअस्तित्व, सर्वकालको मान्यता ।
निम्छरो स्वाभिमानमा रमाउन सक्दिन ,
दुधले सराप्छ,रगत र इतिहासले धिक्कार्छ।
ती आमाको छोरो म परचक्री कहाँ स्वीकार छ?

© नर नहादुर घर्ती
शुद्धोधन -४ रुपन्देही।

प्रतिक्रिया दिनुहोस