किन भईरहन्छन् बलत्कार ?


मनिषा दाहाल

@manishadahal0

म हरेक अभिभावकहरूलाई एउटा प्रश्न सोध्न चाहान्छु,’के तपाईहरूले आफ्ना सन्तानलाई यौनशिक्षाको वारेमा जानकारी गराउनुभयो?’ अब लजाउने समय पनि रहेन किनकि,हामी आधुनिकताको चरमोत्कर्षमा पुग्दैछौ नि हैन?

फलानो ठाउँमा बलत्कार,बलत्कारपछी युवतीको हत्या,नौ बर्षकि वालिकाको ५८ बर्षे पुरूषबाट बलत्कार,सामुहिक बलत्कार आदि-आदि। जब बलत्कारको घटना सुनिन्छ तब बलत्कारीसगँ रिस उठ्छ। आखिर बलत्कारको घटना किन दोहोरिन्छन् भन्ने बिषयमा तपाईले कति गहिराईसम्म पुग्नुहुन्छ,कि गहिराईको डरले किनार छेउ पुग्न समेत डराउनुहुन्छ?महिला अधिकर्मी छदैँछन् भनेर तपाईं पुरूषलाई पन्छिन सजिलै आउँछ नि है।सलाम् छ ती पुरूषप्रति जसले बलत्कारको पक्षमा वकालत गर्नुहुन्छ।

छोरी जन्मने बित्तिकै उनका कर्तव्यहरूको पङ्ती बनाउन हतार हुन्छ नि है,अनि अधिकार किन लुकाउन खोजिन्छ? अधिकार खोज्दा खोज्दै कति छोरीको त अस्तित्व नै धराप पर्न जान्छ।छोरीलाई सानैबाट लजाउन सिकाउने समाजले कहाँ लजाउनु हुन्छ र कहाँ हुदैन भनेर सिकाउन कन्जुस्याई किन? छोराले मनपरी खाओस्,हिडोस्,बोलोस् जे गरोस् वाह् हुने अनि तिनै कर्महरूको पचास प्रतिशत छोरीले गरिन् भने छ्या!अनि तपाईले भन्नुहोला त्यो जमाना रहेन अब।हो,तपाईको सहरमा छैन कि।गाउँले समाजको अध्ययन गर्नुस् अनि विस्तृत जानकारी प्राप्त हुनेछ।सलाम छ ती अभिभावकहरूलाई जसले छोरा र छोरीको अन्तरको दुरी घटाउदैँ उदाहरण बन्द‌ै हुनुन्छ।

विशेष गरि छोरीलाई यौनहिंसा जन्य विषयको बारेमा एकदमै ध्यान दिएर सम्झाउनु पर्छ।किशोरावस्थामा पाईला राख्दै गर्दा तीव्र रूपमा हुने शारीरिक परिवर्तनले गर्दा सहि र गलत छुट्याउन सक्दैनन्।छोरीले नलजाई आफुमा आउने समस्याहरू आफ्ना परिवारसमक्ष भन्न सकेनन् भने स्थिति भयावह हुन्छ।यौनहिंसाको पनि चरणहरू हुन्छन्।’के छ नानी खबर’भनेर सुरू भएको संवादले बलत्कार सम्म पुग्छ भनेर सोच्नुभएको छ?आफ्ना छोरीलाई कसैले नराम्रो म्यासेज गरेको छन् छैनन्,उनीहरू को सगँ कसरी बोल्छन्,कहाँ जान्छन् आदि साना कुराको ख्याल अभिभावकले गर्नैपर्छ।फेरि यसो भनिरहदँ छोरीलाई बन्धनमा राख्नुपर्छ भन्ने अर्थ होईन।छोरीलाई समस्यासगँ डराएर भाग्ने बनाउने होईन समस्या नै आउन नदिने बनाउने जिम्मा तपाईं अभिभावकको हो।सलाम छ ती छोरीलाई जसले आफ्नो कुरा निर्धक्कसगँ परिवारलाई भन्न सक्छे।

छोरा तिमी मर्द हो,बहादुर हो भनेर सिकाउनुको अौचित्य म देख्दिन।छोरा र छोरी दुवै मर्द र बहादुर हुन्छन्। छोरालाई संस्कार सिकाउन हामी किन चुक्दैछौ भन्ने बिषयमा सोच्नुभएको छ?असल संस्कार दिएको खण्डमा छोरा पनि संस्कारी हुन्छन्।छोरालाई सानैबाट आमाको महत्व र दिदिबहिनीको महत्व सिकाउन कन्जुस्याई नगरौ न हुन्न।धर्मकर्म,भजन,किर्तन,व्रत गर्नुपर्छ भनेर छोरालाई किन भनिद‌ैन?छोराले यसो गर्नुहुदैँन भनेर लेखेको छ र कत‌ै?कि छोराले धर्मकर्म गर्नैपर्दैन?अलिकति सोचौँ न हुन्न।संकारसहितको शिक्षा छोरालाई आवश्यक छ।अनि छोरालाई पनि यौनहिंसाको शिक्षा दिन अभिभावकले नभुलौ।सलाम छ ती छोरालाई जसले भगवानको किर्तनमा मन लगाउँछन्।

जसरी पुरूषहरू आफ्नो लक्ष्य पूरा गर्नको लागि आफ्नो परिवार समेत त्यागेर अगाडि बढ्छन्,त्यसैगरी महिलाले अगाडि बढ्न पाएका छैनन्।बन्धनमा रहेका महिलाहरूले स्वतन्त्रताको अर्थ बुझ्न नसकेर महिलाहरू यौनहिंसाको सिकार बन्न पुग्छन्।आफू यौन हिंसामा परेको छु भनेर बुझ्न समेत समय लागेको छ।पुरूषप्रधान समाजलाई पल्टाएर महिलाप्रधान बनाउने भन्ने पनि होईन।महिला अगाडि बढ्न हिम्मत र साहस चाहिन्छ।परिवार र समाजले साथ दिएमा बलत्कार हुन पाउने छैन।यौनशिक्षाको पूर्ण रूपले ज्ञान पाएका महिलाहरू आफुलाई सुरक्षित बनाउन लागिपरेका हुन्छन् र सफल पनि भएका छन्।सलाम छ ती महिलाहरूलाई जसले यौनहिंसा विरूद्द खुलेर विरोध गर्दै महिला न्यायको लागि सशक्त भूमिका खेल्द‌ै हुनुन्छ।

पुरूषमा किन त्यति धेरै घमण्ड हुन्छ?उसलाई परिवारले,समाजले अनि देशले घमण्डी बनाएको हुनुपर्छ,सायद।जुन पुरूषले आफ्नी आमाको महत्व बुझेको छ उसले सबैतिर सकरात्मक देख्छ।बलत्कार त ती पुरूषले गर्छन् जसले आमाको महत्व,दिदिबहिनीको महत्व बुझ्दैनन्।हो उसैले नै क्षणिक सुखको लागि कसैको शरीर लुट्न तयार हुन्छन्।बलत्कार गर्नुमा समेत पुरूषको बहादुरी भनेर व्याख्या गर्ने समाजले पिडित महिलाको बारेमा किन सोच्दैन।महिलाद्वारा पुरूषको बलत्कार भनेर कसैले सुनेको छ?देहव्यापार गर्ने महिलाको कथा अर्कै होला,त्यसतर्फ नजाउ।फेरि सवाल उठ्ला सबै महिलालाई दिदिबहिनीको रूपमा हेरे को सगँ बिहे गर्नु भनेर,यसको लागि आमाबुबा हुनुन्छ सोचिदिने तपाईं पुरूषले हतार नगर्नुस्।सलाम छ ती पुरूषलाई जसले महिलाको सम्मान र आदर गर्नुहुन्छ।।

बलत्कार आजको मात्र समस्या भने होईन।हुनसक्छ मानव सभ्यातासगैँ सुरू भएको हो कि। त्यसवेला गरिने जबरजस्तीकरणीलाई बलत्कार भनिएन सायद।मानव सभ्याता आधुनिकताले बढाउदैँ लग्यो।हिजो र आज संसार पूर्ण रूपमा बदलिएको छ।सञ्चार माध्ययमले सबैलाई आफ्नो मुठिमा कसेर राखेको छ। आधुनिक समाजमा बलत्कार हुनु भनेको ज्यादै जटिल समस्या हो।छोरी घरमा सुरक्षित छैनन्।भन्दा पनि दु:ख लाग्छ कि आफ्नै बुबा,दाजु,भाइ अंकल,ठुलोबुबा नै छोरीको शत्रु हुनसक्छन्।मेरी छोरी,मेरी बहिनी,मेरी दिदी भनेर सम्बोधन गरेर मात्र भएन।हरेक परिवारका पुरूष सदस्यहरूले आफ्नो जिम्मेवारी भुल्नु हुदैँन।घरमा छोरी सुरक्षित हुनु भनेको अन्य घरहरूमा पनि सुरक्षित हुनु हो।जब छोरी,बिहिनी र दिदिको सम्मान हुन्छ अनि अरूका चेलीबेटि माथि गिद्दे नजर लगाउने कोसिस न‌ै हुदैँन।

एकपल्ट तपाईं पुरूषले मनन गर्नुस् कि मैले कति सम्मान गरेको छु अथवा छैन भनेर।५८ बर्षे पुरूषले ९ बर्षकि वालिकालाई बलत्कार गर्नुपर्ने कारण के हो? कृपया मलाई कसैले भनिदिनुस् न!घरमा सुरक्षित भएमा समुदायमा सुरक्षित,समुदायमा सुरक्षित भए समाजमा एवम् रितले देशमै सुरक्षित हुनसक्छिन्।कहिले आउला छोरीले निस्फ्रिक्रि भएर हिड्न पाउने,रमाउन पाउने आदि।

बलत्कार हुने पहिलो कारण आमा तथा चेलीबेटिको महत्व बुझ्न नसक्नु नै हो।बलत्कारीलाई कडा भन्दा कडा सजाय दिन नसक्नु भनेको बलत्कारीलाई उक्साउनु हो।जसोतसो समाए जस्तो गर्ने अनि भित्रभित्रै के के गरेर हिरासतबाट उम्काउने।बलत्कार भएपछि बलत्कार भएको प्रमाण खोज्छ अदालतले,आफै सोच्नुस एक बलात्कृत चेलीले कसरी प्रमाण दिन सक्छिन्?भत्किएको मन अनि चुडिएको भविष्यको कसलाई मतलव र यहाँ।बलात्कृत भएपछिको जीवन झन् कष्टप्रद हुदो हो।अोहो! सम्झिदा मुटु च्वास्स घोच्दछ।

महिलालाई निरीह बनाउने परिवार,समुदाय,समाज अनि सिङ्गो देश नै हो हरेक चेलीको बलत्कार हुनुको कारण।परिवर्तन चुट्किको भरमा हुने प्रकृया त होईन तथापी बिस्तारै बदलिनु जरूरी छ।पुरूषलाई मात्र आरोप लगाउने मेरो मनसाय पटक्कै छैन,कतै महिलालाको कारणले पनि चेली बलात्कृत भएकि छिन्।सामाजिक समस्यालाई उन्मुलन गर्न महिला र पुरूष दुवैको साथ र सहयोग आवश्यक छ।तपाईं जिम्मेवारीबाट पन्छिनु हुन्छ भने धिक्कार छ महिला र पुरूष दुवै प्राणीलाई।नेपाललाई कहिले बलत्कारमुक्त देश बनाउने??

प्रतिक्रिया दिनुहोस