छिमेकी


प्रकाश अधिकारी

मेरो एउटा छिमेकी
मसँगै
दुश्मनी गर्छ
दुश्मन भए पनि
मैले उसलाई
सम्मानको दर्जामा राखेको छु
मान सम्मान गरेकै छु
कहिले आफन्तको रुपमा
कहिले अतिथिको रुपमा ।

ऊ मलाई बेहद घृणा गर्छ
मेरो घरमा खुसी नआओस् भन्छ
मेरो घरको कानून
ऊ आफैँ बनाउनु भन्छ
मेरा बाबुको दर्जा खोज्छ

घर भित्र छिरेर
मैले पकाएर खानेँ
अगेनो पुर्न खोज्छ ।
कहिले …
मैले हिड्ने बाटो बन्द गर्छ
मेरै जमिन मिचेर
छिमेकीको घर छिर्ने बाटो बनाउँछ ।

म मौन बस्दा
ऊ पनि मौन बसे झैँ गर्छ
र सड्यन्त्र बु्न्छ
मेरो अन्याय
म आफैँले बोल्दा
अर्को छिमेकीले
उचाल्यो भन्छ
उसको घरको
जाउलो ,ताउलो र रोइलोमा
मैले कहिल्यै आँखा गाडेको छैन
तर पनि
मेरा प्रत्येक गतिविधिमा जासुसी गरेर
मेरो घरको खुसी उखेलेर
रमाउन खोज्छ
मेरै आँगनको बाटो हिड्ने
मेरो एउटा छिमेकी ।।

प्रतिक्रिया दिनुहोस