मुलुकको स्वतन्त्रता र स्वाधिनतालाई धान्न नसक्ने राजनीतिको स्तर र चरित्र


केशव प्रसाद भट्टराई

@kpbnepal

मुलुकको स्वतन्त्रता र स्वाधिनतालाई धान्न नसक्ने राजनीतिको स्तर र चरित्र

…..

अनि भारतीय र चीनियाँ राजदुतहरू हातमा सिठ्ठी लिएर नेपाली राजनीतिमा अम्पायरिङ्ग गरिरहेका छन् I

*****

*****

१ “हामी सधैँ स्वतन्त्र राष्ट्र रह्यौँ परतन्त्र अन्तर्गत रहेनौ !” भनेर ठूला ठूला दावी गरिरहन्छौँ ,आकाश -पाताल जोडेर हावादारी गुड्डी हाँकी रहन्छौँ ,तर हाम्रो राजनीतिको स्तर र चरित्रले भने हाम्रो त्यो दावीलाई निरन्तर खण्डन गरिरहेको छ I

हामीले सात सालको क्रान्ति गर्यौँ राणा शासन हटायौँ तर नेपालको मन्त्री परिषद्को बैठकमा भारतीय राजदुत रहने र राजाका प्रमुख सचिवमा भारतीय निजामती सेवाका वहालवाला उच्च अधिकारीलाई ल्यायौँ !

भारतीय राजदुतले मन्त्री र प्रधानमन्त्री सम्मलाई स्पष्टिकरण सोध्ने व्यवस्था ल्याएका थियौं हामीले I

हाम्रो मन्त्री परिषद भित्रका सदस्यहरूको विवाद भारतीय प्रधानमन्त्री र मन्त्रीहरुले मिलाइदिने दिन पनि देख्यो नेपालले I

*****

२. त्यस्को स्वरूपमा परिवर्तन आएको छ सारमा छैन I

सत्तारूढ दल भित्रको केही दिन अघिको सम्हालिनसक्नु जस्तो देखिने विवाद चीनियाँ सरकारको सशक्त हस्तक्षेप पछि एकाएक मिलेको देखियो I

प्रभुसत्ता सानो र ठूलो हुँदैन समान स्तरको हुन्छ भनेर फलाक्न नथाक्नेहरूले
कसरी लिएकाछन यो कुरो उनी जानुन !!

नेपालका प्रधानमन्त्री र पूर्व प्रधानमन्त्रीहरुको स्तरको विवाद हल गर्ने व्यक्ति एउटा विदेशी मुलुकको सहसचिव स्तरको कर्मचारी हुने स्तरको छ हाम्रो राजनीति र हाम्रो स्वतन्त्रता !

*****

३. भारत संलग्न नभई नेपालले सात साल, ४६ साल र ६२-६३को आन्दोलन संचालन गर्न र थाम्नसकेन I

भारतकै प्रतक्ष परोक्ष सहयोग र प्रेरणामा काङ्ग्रेसले सात साल, १८ साल र ३०-३१सालमा सशश्त्र गति विधि चलायो I

भारतले रोक भन्ने बित्तिकै रोकेको इतिहास छ I

नेपालमा सुरुङ्ग युद्ध चलाउने गुड्डी हाक्ने तर भारतको प्रेरणा ,सहयोग र संरक्षणमा माओवादीको कथित विद्रोह संचालन भएको अब घाम जत्तिकै टड्कारो भइसकेको छ !

*****

४. भारतीय र चीनियाँ राजदुतहरू र अधिकारीहरूसँगको नेपालका राष्ट्रपतिदेखि प्रधानमन्त्री र सेना प्रमुखहरूसम्मको सम्वन्धको लामो समय देखिको प्रोटोकलको स्तर र चरित्रले एउटा स्वतन्त्र र सार्वभौम राष्ट्रको मर्यादा राखेको छ ?

काङ्ग्रेस, एमाले, माओवादी सवैलाई शक्ति र सत्तामा पुर्याउन भएका आन्दोलन, क्रान्ति र परिवर्तनहरूमा सहयोग गर्ने,

र साविकको सत्तालाई विस्थापित गर्न निर्णायक राजनीतिक, आर्थिक र रणनीतिक दवाव दिने शक्तिले साविको सत्ता विस्थापित भए पछि आएको नयाँ सत्तासँग त्यसको मूल्य लिँदैन ?

माग्दैन ?

उसको हिस्सा लाग्दैन ?

यति निस्वार्थ चल्छ अन्तर्राष्ट्रिय राजनीति ?

शक्तिराष्ट्रहरूले आफ्नो रणनीतिक स्वार्थ नजोडिने कुनै मुलुकको आन्तरिक राजनीतिमा चासो राख्छन ? सहयोग र हस्तक्षेप गर्छन भन्ठान्नु हुन्छ ?

*****

५. हाम्रो प्रजातन्त्र वा लोकतन्त्र भनेको अत्यन्त सतही, निर्वाचनमुखी र केही व्यक्ति र दलको स्वार्थ र महत्वाकांक्षाको वरिपरी मात्रै घुमिरहने गरेको छ I

हिंसाको स्वरूप अलग अलग होला तर हिंसा नेपाली राजनीतिको मूलमा सधैँ रहने गरेको छ I

नेपालमा राजनीतिक हिंसा र समूहले गर्ने हिंसालाई दण्ड दिने संविधान, नियम , कानुन, सरकार अदालत बन्नै सकेन I

*****

६. कानुन र कानुन कार्यान्वयन गर्ने संरचनाहरूको कमजोरी र कायरताका कारण. नेपालमा दण्डहीनता, हिंसा र भ्रष्टाचार मात्रै मौलाएको छैन राज्यमा नियन्त्रण र सन्तुलन सधैँ गुम्ने गरेको छ ,

त्यसले राज्य संरचनाहरूलाई झनै कम्जोर बनाएको छ I

बनाइरहेको छ I

*****

७. मुलुकका साधन र स्रोतहरूमा र मुलुकलाई प्राप्त अवशरहरूमा योग्यता र क्षमताको आधारमा सवैलाई निर्वाध पहुँच नभएर केही व्यक्ति र दल वरिपरीका व्यक्तिहरूकालागि मात्र निर्धारित हुने गरिएकोले राष्ट्र र समाज सधैं आक्रोशित र कुण्ठित रहने गरेको छ I

चुनाव जित्नु सत्ता र सरकारमा पुग्नु जीवन र मरणको सवाल बन्न पुग्ने गरेको छ नेपालमा !

सरकारहरूको स्वच्छता, राजनीतिक वैधता, र उत्तरदायित्वमा निरन्तर प्रश्नहरू उठिरहने अवस्थाले नेपालको राजनीतिले हिंसा र वाह्य हस्तक्षेपलाई सधैं आमन्त्रण गरिरहेको हुन्छ I

अतिवादलाई प्रेरणा दिइरहेको हुन्छ I

*****

८. दलहरू वीचको सम्वन्धमा अतिवाद,

दल भित्रका नेताहरू वीचको सम्वन्धमा अतिवाद ,

सरकारका सदस्य हरु वीचको सम्वन्धमा अतिवाद र दलहरूका नेता, कार्यकर्ता, समर्थक र मतदाताहरूमा अतिवाद I

विदेश सम्वन्धमा अतिवाद र अन्य मुलुकहरूलाई हेर्ने नेता देखि कार्यकर्ता सम्मको दृष्टिकोणमा अतिवाद !

*****

९. हिंसा र द्वन्द्व जन्माउने चुनाव,

भ्रष्टाचार बढाउने चुनाव,

मतदाताहरू किनवेच हुने चुनाव,

जातिगत मतदानलाई प्रोत्साहन र संरक्षण गर्ने चुनाव,

विचारहीन र मूल्यहीन चुनाव अनि त्यस्तो चुनावपछि केन्द्रदेखि स्थानीय स्तरसम्म हुने चुनाव !

राम्रो र प्रभावकारी सरकार छान्न नभएर दल, जात र स्वार्थ छान्न हुने चुनाव !

*****

१०. आमूल राजनीतिक परिवर्तन भनेको सत्ता संचालनको स्वरूपमा मात्रै होइन, चिन्तनमा परिवर्तन हो !

संस्कृतिमा परिवर्तन हो I

त्यस्तो चिन्तन र संस्कृतिमा परिवर्तन ल्याउने राज्यस्वरुप निर्माण हो !

चुनावको मर्यादा र व्यवस्थापन हो !

अतिवादलाई अन्त्य गर्ने राजनीतिको स्वरुप र चरित्र हो !

*****

११. हेरौं शासन र शासनमा बस्नेको चिन्तनको शैली– कसैले आरोप लगायो एक जना सभामुख हटाइए !

को ल्याइए ?

कस्ता ल्याइए ? भनिरहन नै परेन !

एक जना कुनै मन्त्रीले कमिसन मागेको विवादित अडियो सार्वजनिक भयो , उनी हटे /हटाइए तर.कस्ता कस्ता चाँही पद मै टाँसिएर बसेका छन् भन्न परेन !

*****

१२. कोही चुनाव हार्दछ तर चुनाव हारेको भोलीपल्ट देखि उसले विजयी व्यक्तिलाई सामूहिक रुपमा नै पाइलै पिच्छे काम गर्ने नदिने, अवरोध मात्रै पुर्याइरहने, कुनै निर्णय गर्ने नदिने र निर्णय गर्न नसक्ने भनेर छेकारो काटिरहने अवस्था हो !

यो कुनै व्यक्ति विशेषको कुरा होइन नेपाली राजनीतिको चरित्र हो !

यो स्तर र चरित्रको राजनीतिले प्रजातन्त्र र राष्ट्रको स्वाधिनता र स्वतन्त्रतालाई थाम्न सक्दैन I

अनि मुलुकको स्वतन्त्रता र स्वाधिनता विरूद्ध जाने स्वतन्त्रता र स्वाधिनताको सडक छाप नारा उरालिन्छ !

*****

१३. मुलुकमा जतिखेर जे पनि हुन सक्दछ !

प्रजातन्त्र भनेको सवैले सुरक्षित मर्यादित जीवन बाँच्न पाउने अधिकार सहितको शासन प्रणाली हो !

त्यसकोलागि दलहरू , सरकारहरू र राज्य यन्त्रहरू मर्यादित र अनुशासित हुनुपर्यो !

त्यो स्वैच्छिक कुरो होइन ,

बलियो राजनीतिक, कानुनी , नैतिक बन्धन र व्यवस्थाको कुरा हो I

त्यसकोलागि मुलुकले एउटा केन्द्र निर्माण गर्नु पर्दछ !

मियो गाड्नु पर्दछ !

अम्पायर चाहिन्छ !

मुलुकको केन्द्र मासिएकोले ,मियो ढालिएकोले अब लैनचौर वा हात्तिसार/ बालुवाटार केन्द्र बन्न पुगेको छ I

अनि भारतीय र चीनियाँ राजदुतहरू हातमा सिठ्ठी लिएर नेपाली राजनीतिमा अम्पायरिङ्ग गरिरहेका छन् I

त्यसले नेपालको सङ्कटलाई अत्यन्त जटील र संवेदनशील बनाएको छ !

नेपालको स्वतन्त्रता, स्वाधिनता र प्रभुसत्ता ???

प्रतिक्रिया दिनुहोस