काङ्ग्रेस तत्काल महाधिवेशनमा जान आवश्यक

जीतपुर, १६ वैशाख (रासस) : नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले पार्टीको तत्काल महाधिवेशन गर्न आवश्यक रहेको बताउनुभएको छ ।
कपिलवस्तुको बाणगङ्गा नगरपालिका–४ जीतपुरमा भएको कार्यक्रममा उहाँले काङ्ग्रेस केन्द्र र प्रदेश कहीँ पनि सत्तामा नरहेकाले महाधिवेशन गरेर अगाडि बढनुपर्नेमा जोड दिनुभयो । काङ्ग्रेस जिल्ला कार्य समिति कपिलवस्तुद्वारा आयोजित कार्यक्रममा नेता कोइरालाले सरकार असफल भएको अरोप लगाउनुभयो ।
काङ्ग्रेस केन्द्रीय सदस्य अत्तहर कमाल मुसलवान, पूर्वराजदूत दीपकुमार उपाध्याय र सांसद अभिशेक प्रताप शाहले सरकारलाई जनताले नरुचाएको र काङ्ग्रेसले प्रतिपक्षको भूमिका राम्रोसँग निभाउन नसकेको आरोप लगाउनुभयो । पार्टीका जिल्ला सभापति सुरेन्द्रराज आचार्य, पूर्वपार्टी सभापति राजेश आर्चाय, सुधाखर पाण्डे, प्रदेशसभा सदस्य रिना नेपाल, नेपाल विद्यार्थी सङ्घ क्षेत्रीय सभापति चन्द्रकान्त पोखरेललगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो ।