कविता : सजाय


कथित्
तल्लो र माथिल्लो
जातको रट लगाउँदै
भेरीमा फेरि एक पटक
मानविय क्रुरताको
पराकाष्ठा उदाङ्गियो ।

कथित माथिल्लो जातकी
केटीलाई प्रेम सम्बन्ध
राखे कै, कसुरमा
कथित् तल्लो जातको
केटाको र उसका
साथीहरुको गला
कलिलै उमेरमा रेटियो ।

भेरीको रहमा
कुटी कुटी
ढुङ्गाले हिर्काएर
हत्या गरेर
मान्छेको चार
हातपाउ बाँधेर
पाता फर्काएर
हेलियो
बिचरा कलिला
नवराज बिक र उसका
छ जना किशोर
साथीहरुहरूलाई
गहिरो भेरी नदीमा
मानवियताको
हुर्मत नैं लिने गरी

दिन दहाडै
सबैको सामुन्नेमा
पुरै सोती गाउँ उल्टिएर
खेद्दै लखेट्दै
भेरी नदीमा
निर्ममता पूर्वक
भाग्दा भाग्दै
क्रूरता पूर्वक
हात खुट्टा बाँधेर
हत्या गरेर चोपलियो ।

क्रुरतम राणा शासन,
शाही शासन ,
पञ्चायती शासन
व्यवस्थालाई नैं
माथ गर्ने गरी
संघीय लोकतान्त्रिक
गणतान्त्रिक व्यवस्थामा
व्यवस्था कै हुर्मत
लिने गरी
मध्य युगीन दास युग
बिर्साउने गरी
कलिला छ वटा
मुनाहरु
फक्रीन नै नपाई,
टुसाउन नपाउँदै
निमोठीयो ।

संसारमा
पुरुष र महिला
दुई जात मात्रै
छ भन्छन्
भन्नेहरू
तर खै ?
आज
रुकुम पश्चिमको
सोती गाउँमा
मल्ल र विक परिवार को
एक जोडी
किशोर किशोरीले
एक अर्कोमा
मायाँ प्रेम
गरेकै अपराधमा

केटा सहित उसका
सहयोगी मित्रहरू
मारिनु पर्छ भन्ने
कसले सोचेका थिए?

बर्सौ देखि
ज्वाइँ पालिए झैं
पालिएका
थरीथरीका
सुरक्षा निकायहरु,
स्थानिय सरकार र
प्रशासन कार्यालयका
कामचोर ठालुहरु
थरीथरीका
डलर हसुर्ने देशी विदेशी
मानव अधिकारवादी
संघ संस्थाहरु र
उनीहरू कै
हित गर्छु भनेर
खडा भएका
दलितआयोगहरु
के गर्दै बसे ?

के तिनीहरू
शोभा बढाउनका लागि मात्र
खडा भएका
संघ संस्थाहरु हुन् ?

आज तिनीहरूको
औचित्य माथि नै
गम्भीर प्रश्न चिन्ह
उब्जिएको छ ।

एक ठाउँबाट
अर्को ठाउँमा
जान नपाउने गरी
बन्दाबन्दि
लागू भएको
बेलामा पनि
जाजरकोटदेखि
रुकुम पश्चिमको
सोती गाँउसम्म
ह्वार ह्वार्ती
मान्छेहरु
ओहोर दोहोर गर्दा
पुरै गाउँ उल्टेर
ताण्डव नृत्य गर्दा
त्यहाँको राज्य र
सरकारले
के हेरेर
बसेको थियो ?

अहिलेको
समयमा पनि
मानवीयताको भावना
लजाउने गरी
भएको
उक्त घटनाको
निष्पक्ष छानबिन गरी
कडा भन्दा कडा
सजाय दिइयोस् ।

आजको युगको नै
धज्जी उडाउने
नर पशुहरूलाई
संविधान कानून
संशोधन गरेर
भए पनि
ती अपराधीहरूलाई
मृत्यू दण्डको
व्यवस्था गरियोस् ।

संविधान र कानुनको
किताबमा
लेखेर मात्रै हुँदैन
जन जनको हृदयमा
जमेर बसेको
छुवाछुत र
जातीय भावनाको
कालो तुवाँलोलाई
जरैदेखि उखेलेर
फाल्नु पर्छ ।

चरम मानव अधिकार
उल्लघनका
दोषीहरुलाई
सबक सिकाउन
कडा भन्दा कडा
सजाय दिइनै पर्छ ।

मान्छे मान्छे
बीचको
बिभेद हटाउन
कम्मर कसेर
लाग्नै पर्छ ।

गोपाल बराल जोरपाटी, मडगाल

प्रतिक्रिया दिनुहोस