ओलीजी पदमा रहे पनि र नरहे पनि एउटा आदर्श राष्ट्र नायक !


केशवप्रसाद भट्टराई

१. २००७–२००८ मा ब्रिटिस राजकुमार ह्यारी सैन्य प्रशिक्षणको क्रममा रोयल गोर्खा राइफल्सको फस्ट बटालियनमा अफगानिस्तानमा कार्यरत थिए ।

इस्लामिक आतङ्कले त्रस्त मुलुकमा उनको सुरक्षा संवेदनशीलतालाई सङ्केत गर्दै त्यतिखेर उनलाई गोर्खा सैनिकहरूसँग रहेको उनलाई कहिले जानकारी भयो भन्ने प्रश्न सोधिँदा उनले जवाफ दिए– ‘गोर्खा सैनिकहरूको बीचमा भन्दा सुरक्षित अर्को स्थान दुनियाँमा कहीँ पनि छैन ।’

२. सिङ्गापुरका उच्च अधिकारीदेखि आममानिसमा पनि गोर्खा सैनिकहरूका प्रति त्यही धारणा रहेको पाइन्छ ।

भारतीय सेनामा र अन्य सेवामा पनि गोर्खालीहरू उम्दा मानिन्छन् ।

आफ्ना सेवामा रहेका गोर्खाली र नेपालीहरूका लागि भारतको आमभाषा ‘बहादुर’ हो ।

यो बहादुर शब्दले भारतमा राखेको महत्व नै भारतका एक पूर्वप्रधानमन्त्रीको नाम लालबहादुर शास्त्री रहेको हुन सक्दछ कि ?

नेपालमा भारतका एक राजदुत थिए– राज बहादुर !

बहादुर नेपाली !!

राष्ट्रसंघीय शान्ति सेनामा नेपाली सैनिकहरू विश्वमा अब्बल भनिन्छन्, कुनै पनि जिम्मेवारीका लागि श्रेष्ठ सैनिक मानिन्छन् ।

३. तर चार–पाँच हजार नेपाली सेनाको माझ राजा वीरेन्द्रको सम्पूर्ण परिवारको हत्या भयो ।

माओवादीले ब्यारेकमै नेपाली सेनालाई सखाप पारे, सबै हातहतियार लुटेर लगे ।

जनताको रक्षाको कुरै छोडौँ सेनालाई आफ्नै ब्यारेकहरू जोगाउन धौ–धौ थियो ।

न राजा जोगिए न आमजनता !

सेना, प्रहरी र सबै राज्य संरचनाहरू सदरमुकाममा गुडुल्किएर, थर्थरी कामेर बसेका हुन् !

जनता भगवान भरोसे !

४. सेनाले नेपालमा राम्रो पब्लिक स्कूल–कलेज चलाएको छ,

मेडिकल कलेज चलाएको छ,

पेट्रोल पम्प चलाएको छ,

पसल चलाएको छ, बाटो खनेको छ, ठेक्का–पट्टा लिएको छ ।

वनपालेको काम गरेको छ ।

तर सैन्य कर्म ???

५. नेपालका राजनीतिक दल पनि कम छैनन् ।

आन्दोलन र क्रान्ति उनीहरूको प्यासन बनेको छ ।

अरुले यौटै आन्दोलन र क्रान्तिबाट आफ्नो राजनीतिक, आर्थिक र सामाजिक लक्ष प्राप्त गर्न सफल भए ।

हामीलाई बारम्बार क्रान्ति र आन्दोलन गर्नु परेको छ ।

अरूलाई यौटै संविधानले पुगेको छ, यौटै संविधानमार्फत प्राप्य सबै प्राप्त छ उनीहरूलाई !

हाम्रा हरेकलाई नयाँ संविधान लेख्नु पर्दछ ।

हाम्रा नेताहरू १४–१५ वर्ष जेल बसेका छन् ।

देश–विदेश देखेका–बुझेका छन्,

पढेका पनि छन् ।

तर, सरकार चलाएको र पार्टी चलाएको हेर्दा ??

६. यहीँका यिनै सरकारी स्कूल र कलेजमा पढेकाहरू दुनियाँको कुनै पनि उत्कृष्ट विश्वविद्यालयमा प्रवेश पाउने ल्याकत राख्दछन् ।

ती विश्वविद्यालयबाट उत्कृष्ट नतिजासहितको परीक्षा परिणाम आर्जन गरेका छन् ।

विश्वका नामी र ठूला व्यवसायिक प्रतिष्ठानहरूमा र त्यहाँका सार्वजनिक सेवाका क्षेत्रमा असाधारण क्षमता प्रदर्शन गरेका छन्,

तर उनीहरू जब नेपालमा आएर काम गर्न थाल्दछन्– स्तरहीन, गतिहीन, उर्जाहीन र सङ्कल्पहीन भएर साधारण नेपाली कर्मचारी, हाकिम, सांसद, मन्त्री बनेर सकिन्छन् ।

किनकि योग्यता, क्षमता र परिश्रमले हुने आर्जन भन्दा वीसौँ–पचासौँ गुणा बढी आय सरकार र दलका नेता वरिपरी घुमेर सजिलैसँग प्राप्त हुन्छ भन्ने कुरा उनीहरूले दुई–चार दिनमै सजिलै बुझिहाल्छन् ।

७. हाम्रा श्रमिकहरू आगोको मुस्लो आउने जस्तो तातो ठाउँमा राम्रो काम गर्न सक्दछन्, बाह्रै महिना हिँउ पर्ने ठाउँ, बाह्रै महिना पानी पर्ने र कहिल्यै पानी नै नपर्ने ठाउँमा दैनिक १८ घण्टा काम गरेर खान सक्दछन् ।

तर दुनियाँकै उत्कृष्ट हावापानी र भूगोलमा आफ्नो परिवारका साथमा रहेर ६–८ घण्टा काम गर्न सक्दैनन् ।

८. तिनै मानिस अन्यत्र गए आजीवन उत्पादक भएर बाँच्न चाहन्छन् नेपालमा आए बाँचुन्जेल राजनीतिमा लागेर सुतेर र ठगी खान मात्रै जान्दछन् ।

अन्यत्र गए कुकुरको दिसा रूमालमा उठाएर घरमा ल्याउँछन् वा निश्चित ठाउँमा लगेर ठेगान लगाउँछन्, नेपालमा भए सडकमा र पार्कमा कुकुर हगाउन लैजान्छन् ।

९. संसारको सबैभन्दा अवैज्ञानिक विचार हामीकहाँ सबैभन्दा वैज्ञानिक बन्दछ ।

भ्रममा बाँच्न हामीलाई औधि मन पर्दछ ।

आडम्बर, झूठ र असत्य हाम्रो राजनीतिक र सामाजिक जीवनको अङ्ग बनेको छ ।

हाम्रोलागि संसद र सडक एकै हो ।

हामीलाई निर्वाध लुटेर खान मात्रै राष्ट्र चाहिएको हो ।

सत्तरी वर्षदेखिको संविधानसभाको हाम्रो सङ्घर्षपूर्ण प्रतीक्षापछिको संविधानसभाले सुतेको खाएको दिसा–पिसाब गर्न गएको समेत समय जोड्दा सत्तरी घण्टामै संविधान पास गर्ने मुलुक हो हाम्रो ।

१०. एउटा सामान्य कानुन, अध्यादेश वा संसदीय अनुमोदन चाहिने कुनै अनुदान सम्झौतालाई पार्टीभित्र व्यापक छलफलको माग हुने हाम्रो मुलुकमा संविधान पारित हुँदै गर्दा कुनै पार्टी प्रणालीमा छलफल भएको सुनिएन, पढिएन ।

जुन संविधानबारे पार्टीमा कहिल्यै छलफल भएन त्यो संविधानको एउटा अनुसूचिको कुनै व्यवस्थाको संशोधन नगरी नहुने व्यवस्थालाई संशोधन गर्दा हामीले पार्टीमा व्यापक छलफलको आवश्यकता देख्ने गर्दछौँ ।

११. नेपालको मानिएको तर आधिकारिक रूपमा नेपालको नक्सामा समावेश नभएको दुई मुलुकबीच विवादित रहेको भूभाग सम्बन्धमा ओली सरकारले आफ्नो औपचारिक दृष्टिकोण राखेकै थियो ।

त्यो दुई मुलुकबीचको सघन कूटनीतिक वार्ता र लेनदेनको विषय थियो ।

तर प्रचण्ड–माधव नेपाल गूटले प्रधानमन्त्री ओलीलाई राजनीतिक र कूटनीतिक अप्ठेरोमा धकेल्ने उद्देश्यले सीमासम्बन्धी नेपालको दाबीलाई तत्काल राष्ट्रपतिको सम्वोधनमा समावेश गर्न सचिवालयको बहुमत जुटाएर दबाब दियो ।

केही दिनअघि मात्रै फरक रायसहित सार्वजनिक भएका ओलीलाई त्यसैको आडमा राजनीतिक रूपमा खुइल्याउनसम्म खुइल्याउने र प्रधानमन्त्रीको रूपमा टिक्न नदिने रणनीति त्यसभित्र रहेको बुझ्न सकिन्छ ।

१२. सरकार चलाउने कुरामा जे–जस्तो कमी–कमजोरी देखिए पनि राजनीतिक आत्मरक्षा र प्रतिरक्षाको सवालमा प्र.म. ओलीको छैठौँ इन्द्रिय अत्यन्त जागरूक देखिन्छ ।

सचिवालयको बहुमतले ल्याएको उक्त सवाललाई उनले आफ्नो आत्मरक्षाको मात्रै नभएर आफ्नो राजनीतिक पूँजी निर्माणको अचूक साधनको रूपमा स्वीकार गरे ।

पार्टीमासमेत आफ्ना विरोधीलाई ठेगान लगाउने हतियारको रूपमा लिए ।

तत्काल राष्ट्रपतिको सम्बोधनमा उक्त विषय समेटिदिए, नयाँ नक्सा पनि जारी भयो ।

सोअनुरूप संविधान संशोधनको प्रस्ताव दर्ता गराए ।

१३. उक्त भूभाग आजको भोली नै नेपालले प्राप्त गर्ने त होइन,

लामो राजनीतिक र कूटनीतिक यात्रा तय गर्नु पर्दछ त्यसको लागि ।

यो बाँकी अढाई वर्ष ओलीजीलाई हटाउने कोसिस कसैले गर्ने हो भने उक्त भूभाग नेपालमा ल्याउने प्रयासमा बाधा पुर्याउने उद्देश्यको रूपमा चित्रित हुने छ ।

अर्को चुनाव उनको पार्टीले त्यसैको नाउमा लड्ने छ ।

अघिल्लोपटक लिम्पियाधुरा–लिपुलेक र कालापानी नक्सामा ल्याइयो, अबको पटक भूभाग नै ल्याइने नाराका सामू अरू नारा ??

ओलीजी कुनै कारणले पार्टी सभापति र प्रधानमन्त्री हुन सकेनन् भने जो ओलीप्रति जो जत्ति बढी बफादार हुन्छ,

जसले ओलीजीलाई आफ्नो आदर्श मान्दछ,

जसले उनको नाममा चुनाव लड्छ, पार्टी सभापति र प्रधानमन्त्रीमा उसको दाबी र सम्भावना उत्तिकै बलियो बन्न पुग्दछ ।

ओलीजीका विरोधी र उनलाई सताउने भनी चिनिएकाहरू राम राम !?

नेपालको राजनीतिक अभ्यासको चरित्र यही हो ।

१४. र अन्त्यमा,

आफ्नै पार्टीभित्र वा बाहिरबाट सरकारका अक्षमता र अभावविरूद्ध पार्टी फोरम वा सडकमा उठ्ने हरेक आवाजलाई गुमेको भूभाग फिर्ता ल्याउने सरकारको प्रतिबद्धता विरूद्दको षड्यन्त्र र राष्ट्रघातको रूपमा चित्रण गर्न ओली र सरकार पक्षलाई छेक्न कसैलाई निकै सकस पर्ला नै !

सरकारविरूद्धका हरेक कदम सरकारलाई भूभाग फिर्ता ल्याउनबाट रोक्ने वाह्य शक्ति प्रेरित गतिविधिको ठप्पा लगाइदिन कसले छेक्ने अब ?

ओली समर्थकहरूलाई प्राप्त हुने भयो राजनीतिक संजीवनी बुटी !

महा मृत्युन्जय मन्त्र !

ओलीजी पदमा रहे पनि र नरहे पनि एउटा आदर्श राष्ट्रनायक !

यो त अमोघ सुरक्षा कवच भयो ओलीजीलाई !

त्यसैले यो व्यवस्था रहिरहे यसैगरी जाला अर्को एक–दुई चुनाव !

आफ्नो राजनीतिक भविष्यको लागि आवश्यक देखिए ओलीले एमसीसी फालिदिन्छन् ।

एमसीसीको विरोधी ओली होइनन्, प्रचण्ड, झलनाथ, माधव नेपाल समूह हो भनेर चिनाइदिए, पुग्यो उनलाई ।

एमसीसीको खारेजीले लाभ ओलीजीलाई, नोक्सानी प्रचण्ड–माधव नेपाल समूहलाई !

नक्साको सवाल ??

राजनीतिक लाभ आफूलाई, रणनीतिक नोक्सानी विरोधीलाई, यही हो ओलीको मास्टर स्ट्रोक !

१५. हामी यस्तै हौँ !

यसरी नै चलिरहेको छ र चल्ने हो हाम्रो देश !

तर कतिञ्जेल हो भगवान जानुन् !

प्रतिक्रिया दिनुहोस