सफल सरकार भन्न धक मान्नु पर्दैन !


सरकारका सहासी कामहरूबाट एक थरी प्रवृत्तिहरू आतङ्कित हुंदा देशमा अराजकता देखिए पनि रोशनीले चन्द्रमाका दागहरूलाई मेटाए जस्तै यो सरकारका झिनामसिना कमजोरीहरू पनि सरकारका कर्मका आलोकमा विस्तारै बिलाएर जानेछन् । अप्रमाणित ,अपुष्ट ,अप्रत्याशित र सुनियोजित रूपमा लगाइएका आरोपहरूका नाममा सरकारप्रति व्यापक भ्रम उत्पन्न गराइए पनि प्रमाणित रूपमा सरकारले धेरै महत्त्वपूर्ण कामहरूको थालनी गरिसकेको छ ।

अतिक्रमित सरकारी जग्गामा सरकारी स्वामित्व कायम गरेको कुरालाई ओझेलमा पारेर बालुवाटारको ट्वारट्वार जति नै रटे पनि बालुवाटार काण्ड सरकारको कमजोरी नभई सफलता को पक्ष हो ; जुन विगत २०४७ सालदेखि निजी स्वमित्त्व स्थापित गर्नमै उद्दत विगतका विभिन्न सरकारको कदमलाई उल्ट्याउंदै सरकारी स्वामित्व स्थापित गरिएको विषय थियोे ।

सेक्युरिटी प्रेस खरिद सम्बन्धि विषयलाई अनावश्यक रूपमा विवादमा तानेर वार्षिक खरबौं नेपाली रुपैयाँ विदेशिने कुरालाई रोकेर राहदानी छ्पाई, हुलाक टिकट ,नोट निष्कासन लगातका छ्पाइसम्बन्धी तमाम कामहरू स्वदेशमै उपलब्ध गराउने कुरा खाई पल्केका दलालहरूको कोपभाजनमा परी कथित सत्तरी करोड काण्ड जतिसुकै उछाले पनि त्यो अप्रमाणित प्रोपोगन्डा बाहेक केही होइन भन्ने कुरा समयले प्रमाणित गर्नेछ। त्यस्तै वाइड वडी लगायतका काण्डहरू पनि विगत सरकारकै पालाका काण्ड भएको तथ्य जगजाहेर कुरा हो। यी सबै निराधार आरोपका वाबजुद पनि कानुनी प्रक्रियाबाट तथ्य प्रमाणित गरी सफाइ लिनुपर्ने र वास्तविक दोषी पत्ता लगाई दण्डित गर्नुपर्ने कुरामा ढिलाइ हुंनाले सरकार आफैं झुठा मुद्दाको सार्वजनिक सिकार बनेको छ । प्रतिपक्षी अकर्मण्यताका कारण संवैधानिक आयोगहरूको पदपूर्तिमा ढिलाइ हुंनाले पनि कतिपय मुद्दा समयमै किनारा लाग्न नसकेका हुन् ।
कोविड ०१९ को महामारी नियन्त्रणमा पनि तथ्यङ्कका आधारमा हेर्दा दक्षिण एसियाली देशहरूविच नेपालको प्रगति अग्र स्थानमै देखिन्छ । साथै सरकारी तदारुकताले पछिल्लो परीक्षणमा उल्लेख्य विस्तार हुँदै गएको छ । विदेशबाट नागरिक फिर्ता ल्याउने ,क्वारेन्टाइनको थप व्यवस्थापन गर्ने , परीक्षणको दायरा बढाउन थप मेसिनको व्यवस्था गर्ने लगायतका काममा सरकारले राज्यको क्षमतानुसार तदारुकता बढाएकै छ ।
यो त भयो सरकारी असफलताको संक्षिप्त पाटो।सफलताको पेटारो खोल्ने हो भने राष्ट्रिय एकताको कुशल नेतृत्व प्रदर्शन गर्दै भारत अतिक्रमित भूमि समेटिएको नक्सा प्रकाशन गरेपछि यो सरकार आफ्नो सङ्कल्पमा कति दृढ छ त भन्ने कुरा सबैमा जगजाहेर भएकै छ। भौतिक विकास निर्माणका क्षेत्र मा हेर्ने हो भने सडक ,पुल,विमानस्थल , सिञ्चाई,विद्युत ,पेट्रोलियम पाइप लाइन लगायतका क्षेत्रमा हिजो र आजको तुलना गरे तथ्य आफैं बोल्दछ। सामाजिक सुरक्षा कोषको स्थापनालाई मजदुर वर्गीय जीवनवृतिप्रति सरकारी जिम्मेवारीको द्योतक मान्न सकिन्छ । रोजगारी सिर्जनाका क्षेत्रमा नयाँ नयाँ संभावनाका क्षेत्रहरूको खोजी,कृषि क्षेत्रमा व्यापक अनुदान , कृषि उद्योग तथा व्यावसायप्रतिको प्रोत्साहन आदिले सरकारको सफलता र लोककल्याणकारी कार्यको परिचय दिंदैनन र? केही संविधान प्रदत्त व्यवस्थाको प्राविधिक कारणले भ्रष्टाचार नियन्त्रणको कानुनी प्रक्रियामा ढिलाइ हुनुले सरकारले अपेक्षित जस लिन सकेको छैन। फेरि पनि सरकारप्रतिको आम नेपाली अपेक्षा र प्रचारात्मक शैली विच तालमेल नहुनुले सतहमा सरकारी लोकप्रियता कम देखिएको मात्रै हो , होइन भने विगतका सरकारसंग तुलना गरि हेर्दा यो सरकार धेरै गुना सफल छ भन्न धक मान्नु पर्दैन । अन्त्यमा वर्तमान सरकारका प्रधानमन्त्री नेकपा अध्यक्ष कमरेड केपी ओलीले पार्टीको आन्तरिक एकतालाई मजबुत पारी पार्टीलाई गुट-उपगुटरहित बनाउन आफूलाई थोरै लचिलो बनाउंदै ,आवश्यक परे जिम्मेवारीमा केही हेरफेर गरेर भए पनि आम कार्यकर्तालाई सरकारी समर्थनमा निर्धक्क समर्थन गर्ने वातावरण बनाई सरकार सञ्चालनको निर्वाध बाटो भने प्रशस्त गर्न सक्नुपर्छ ।
जय होस!

कृष्ण बन्धु

बुटवल

प्रतिक्रिया दिनुहोस