किन जन अपेक्षा बुझ्ने प्रयास हुँदैन ?


जस जसले जे जे नारा लगाए पनि ,राजनीतिक पार्टीका घोषणा पत्रमा स्वर्णाक्षरले स्वर्ण युग ल्याउने आश्वासन दिइंदै आए पनि हामी बांचेको युगमा नेपाली जनता न सार्वभौमसत्ता सम्पन्न हुनसके न त यो मुलुक स्वाधीन राष्ट्रको हैसियतमा पुग्न सक्यो ।

राजनीतिक परिवर्तनका लागि भएका हरेक आन्दोलनका जगमा अघोषित रूपमा विदेशीकै भूमिका निर्णायक रहंदै आएको तीतो सत्य राजनीतिका हरेक विद्यार्थीलाई अवगत हुनुपर्छ ।

ऎतिहासिक कालखण्डका आधारमा विगतको मूल्याङ्कन गर्दा संवत२०५१देखि ०६२/६३ सम्म यो देशका सरकारको सङ्घटन र विघटनको कथाभित्र निहित सांसद खरिदबिक्री ,अपहरण लगायतका घटनाहरूमा विशेष त:भारतीय पक्षधरताको नाङ्गो हस्तक्षेप घाम जत्तिकै छर्लङ्ग छ ।

०६२/६३को आन्दोलनदेखि संविधानसभाबाट सङ्घीय संविधान ०७२ जारी हुंदासम्म विभिन्न चरणमा नेपाली सदनदेखि सडकसम्म जारी रहेका आन्दोलनहरूमा पनि भारतीय स्वार्थ हदैसम्म प्रतिबिम्बित हुँदै आएको थियोे । त्यतिमात्र होइन भारतीय स्वार्थ र आदेशविपरित संविधान जारी भएको भन्ने बहानामा नाकाबन्दीको चक्रव्यूह रची राजनीतिक अस्थिरता कायम राख्ने भारतीय चाहना मूर्त रूपमै प्रकट हुँदै आयो।

संविधानसभाबाट झन्डै ९०%को समर्थनमा जारी संविधानमाथि ठाडो हस्तक्षेप गरी तुरुन्तै संशोधनको चुनौती दिने भारतीय पक्षसामु देशका राजनीतिक दलहरूले सामुहिक जवाफ दिनु त धेरै परको कुरा ;आफ्नै नेतृत्वमा जारी संविधानको स्वामित्व लिने हिम्मत नगरी भारतीय स्वार्थ अनुसार नै संसदसामु संशोधन प्रस्ताव ल्याउनुले (खयर त्यतिबेला तत्कालीन एमालेको सशक्त भूमिकाले विफल भए पनि) अतिक्रमणकारी भारतीय पक्ष थप उत्साही बन्दै आयो ।

नेपाली जनताको राजनैतिक स्थिरताको चाहनालाई प्रतिबिम्बित हुने गरी दुई ठूला वामपन्थी दलको चुनावी तालमेलपछि पनि भारतीय राजनीतिक विश्लेषकहरू स्थिर सरकार बन्ने गरी कसैको बहुमत नआउने र फेरि पनि सरकार गठन विघटनमा दिल्लीको निर्णायक भूमिका रहिरहने कुरामा विश्वस्त देखिन्थे भने निर्वाचन परिणाम आफ्नो स्वार्थअनुकूल आओस् भन्ने कुरामा भारतीय पक्षको उच्च चासो र सतर्कता देखिन्थ्यो। वास्तवमा वामपन्थी गठबन्धनका पक्षमा झण्डै दुई तिहाई परिणाम आउनु भारतीय पक्षका लागि अप्रत्याशित परिणति रहन गयो ।

परिवर्तित नयाँ व्यवस्था र सङ्घीय संविधान अनुसार पहिलो निर्वाचनमै बहुमतको स्थायी सरकार र राजनीतिक स्थिरता कायम हुने गरी परिणाम आउनु आम देशवासी र राजनीतिमै जीवन बिताइरहेका हरेक का लागि गौरवको कुरा हो। तर नेपालका राजनीतिक दलहरूले यस उपलब्धिलाई सदुपयोग गर्न सकिरहेको देखिंदैन ।

दलीय राजनीतिमा जनमतको निर्णयलाई सुझबुझपूर्ण ढङ्गले स्वीकार गर्नु दलीय व्यवस्थाको सुन्दर पक्ष हो। त्यसमाथि एउटा पक्षलाई बहुमत प्राप्त हुनुले सरकार बनाउने र ढाल्ने अस्थिर खेलमा हुँदै आएको विदेशी हस्तक्षेपलाई सदाका निम्ति विदा गरेर नेपाल र नेपालीहरू वास्तविक रूपमा स्वाधीन र सार्वभौमसत्ता सम्पन्न हुने सुअवसरका रूपमा राजनीतिक दलहरूले यो परिणामलाई सामुहिक उपलब्धि बनाउन र मान्न सक्नुपर्थ्यो तर त्यस्तो हुन सकेन ।

यद्यपि कालापानी ,लिपुलेक,लिम्पियाधुरा समाविष्ट नक्सा पारित गर्ने सन्दर्भमा संसदमा दलहरूले देखाएको एकता एक हदसम्म अभूतपूर्व मान्नुपर्छ फेरि पनि त्यो एकताको सन्देशभित्र विशुद्ध राष्ट्रिय भावधाराभन्दा पनि एक प्रकारको अहङ्कार साधना प्रतिबिम्बित हुनुले भारतीय पक्षलाई वार्ताको यथेष्ट दवाव पुग्न सकेको छैन भने अर्कातिर अधिकांश सांसदहरूले त प्रधानमन्त्रीलाई भूमि फिर्ता गर्न नसक्ने चुनौती दिंदै आफैंले जाहेर गरेको एकताको आफैं खिल्ली उडाउनेसम्मको निकृष्ट अभिव्यक्ति र व्यवहार पनि प्रस्तुत गरे ।
अझै नागरिकता सम्बन्धि विधेयकसम्म आइपुग्दा त नेपालका पाका भनिने राजनीतिक दलहरूको कांचो पना राम्ररी छर्पष्ट हुन पुग्यो । यसले आज पनि नेपालका कतिपय राजनीतिक दलहरू नेपाली जनतामा भन्दा भारतीय प्रभूमै बढी भरोसा गर्छन् भन्ने प्रष्ट देखिन्छ ।

यदि नेपालका राजनीतिक दलहरूमा नेपाललाई सांच्चै सार्वभौमसत्ता सम्पन्न स्वाधीन राष्ट्रका रूपमा विश्वसामु परिचित तुल्याउने ईच्छाशक्ति छ भने नेपाल भारत खुला सीमा ढिलो चाडो बन्द गर्नै पर्छ । जुन अपरिहार्यतालाई संभव हुन नदिने मुख्य कडी भनेकै नेपाल भारतविचको कथित रोटी-वेटी सम्बन्ध नै हो। जहाँसम्म भारतसंगको रोटीको सम्बन्ध छ त्यो क्रमशः घट्दो क्रममा रहेको छ ।

हिजो जस्तो लाहुर जाने चलन अत्यन्तै नगन्य हुंदैछ भने भारतसंगको वेटीसम्बन्ध पनि यदि निस्वार्थ हो भने क्रमशः कम कम गर्दै एक दिन राज्यले नै सांस्कृतिक प्रचलन अनुसारको वैधानिक विवाह आफ्नो राष्ट्रिय सीमाबाहिर नगर्ने भन्न पनि सक्छ र सक्ने हैसियत क्रमशः बनाउनै पर्छ ।

तब मात्रै हाम्रो सीमानालाई सुरक्षित गर्न खुला सीमा सदाका लागि अन्त्य गर्दा हाम्रो स्वाधीनता पनि पक्कै उंचो हुनेछ । कृपया बुझ्ने प्रयास गरौ।
अस्तु।

कृष्णबन्धु पौडेल
कीर्तिपुर ,काठमाडौ

प्रतिक्रिया दिनुहोस