यसरी भयो राजा र मदन भण्डारीबीच भेट



२०४६ सालमा पंचायत विरुद्धको आन्दोलन चर्किदै थियो । हामी दरबारका कर्मचारीहरु पनि अब के हुन्छु भन्ने अन्योलमा थियौं । मुलुकमा कम्युनिष्टहरुको बिगबिगी छ भन्ने सूचना पहिला नै दरबारमा आएकाले हामी त्यस तर्फ निक्कै सचेत थियौ । आन्दोलन चर्किदै गयो, सफल पनि भयो र बहुदल आयो । हामीले सुनेका नेताहरुमा धेरैजसो काँग्रेसका परिचितजस्तै थिए । सधैं नदेखिएका भए पनि उनीहरुको विषयमा दरबार र हामीबीच परिचित जस्तै अनुभूति हुन्थ्यो । कम्युनिष्टहरु अन्तरिम सरकारमा सहभागी भएपछि दरबारले कम्युनिष्टहरु राष्ट्रवादी रहेछन् भन्ने महसुस गरेको थियो । २०४६ को परिवर्तनपछि मुलुक पहिलो आम निर्वाचनको तरखरमा थियो । म त्यतिबेला राजा वीरेन्द्रको प्रमुख संवाद सचिवका रुपमा दरबारभित्र कार्यरत थिएँ ।

मनमोहन अधिकारी, साहना प्रधान, राधाकृष्ण मैनाली, झलनाथ खनाल जस्ता नेताहरुका बारेमा दरबारले राम्रै जानकारी राखेको थियो तर मदन भण्डारीका विषयमा भने दरबार त्यति जानकार थिएन । मदन एमाले महासचिव थिए । उनी बेजोड भाषणबाज हुन्, उनमा अतुलनीय प्रतिभा छ भन्ने चर्चा भने दरबारमा चलेको थियो । तैपनि  त्यसलाई त्यति वास्ता गरिएको थिएन । जब मदन भण्डारी  प्रधानमन्त्री समेत रहेका कृष्णप्रसाद भट्टराईसँग प्रतिस्पर्धामा उत्रिए । त्यतिबेलादेखि दरबारले उनको विषयमा जानकारी लिन थाल्यो ।

मदन भण्डारीले उक्त निर्वाचनमा काठमाडौँको  क्षेत्र नं. १ र ५ बाट लड्ने भएका थिए । काठमाडौँ १ मा तत्कालीन प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति कृष्णप्रसाद भट्टराई उनका प्रमुख प्रतिस्पर्धी थिए । आफ्नो चुनावी प्रचारप्रसारमा बेतोडसँग लागेका भण्डारीले एक दिन चाबहिलको चुनावी सभामा राजाकै विरुद्ध भाषण गरे । उनको भाषण यस्तो थियो, ‘हात नलम्काइबक्स्योस्, आँखा नचम्काइबक्स्योस् र आफ्ना शण्डमुशण्डहरुलाई नचलाइबक्स्योस् । यदि शण्डमुशण्डलाई नै चलाउने हो भने महाराजले श्रीपेच उतारेर, सिंहासनमा राखेर मैदानमा नेता भएर आइबक्स्योस्, ता कि प्रतिद्वन्दिता गर्न सकियोस् ।’

उक्त भाषणको चौतर्फी रुपमा निकै चर्चा भयो । राजा वीरेन्द्रकै विरुद्ध भाषण गरेपछि हामीलाई पनि अचम्म लाग्यो । यो भाषणले राजालाई चाहिँ कत्तिको छोयो थाहा भएन, हामीलाई भने छोयो । हामीले उनलाई भेट गर्न र कुरा गर्न खोज्यौ ।

म संवाद सचिव थिएँ । मैले बुझेसम्म त्यतिबेला २०४७ को संविधानले राजालाई संवैधानिक सीमामा राखेको थियो । एमाले महासचिव समेत रहेका भण्डारीले संवैधानिक राजालाई श्रीपेच खोलेर चुनावमा आउन दिएको चुनौतिपूर्ण भाषण कुनै पनि मानेमा राम्रो मान्न सक्ने अवस्था थिएन । भण्डारीको त्यो भाषणमा समेटिएका शब्दले मलाई निक्कै चिन्तित बनायो । संवैधानिक राजालाई चुनाव लड्न आऊ भन्ने कुराले राजा र दलहरुलाई राम्रो गर्दैन भन्ने मैले सोचेँ । त्यसपछि राजा वीरेन्द्रलाई भेटें र मदन भण्डारीसँग कुरा गर्ने कुरा गरें । कसरी कुरा गर्छौ ? तिमीले भनेको उनले मान्लान् र ? राजा वीरेन्द्रले यसो भने ।

मैले भण्डारीलाई कन्भिन्स गर्न सक्छु भन्ने लागेको छ । मैले कुरा गरेपछि सरकारलाई पनि भेटाउँछु ।  मैले भनें । त्यसपछि राजाले मलाई मदनसँग कुराकानी गर्न स्वीकृति दिए । चुनावकै दौरान मैले मदन भण्डारीलाई फोन गरें तर फुर्सद निकालेनन् । चुनाव सकिएपछि भेट्छु भन्ने जवाफ दिए । मलाई चुनावअघि नै भेट्नुपर्ने थियो । जतिपटक फोन गर्दा पनि फुर्सद छैन भनेर टार्न खोजे । उनको भावबाट मैले बुझें, उनी भेटघाट गर्ने पक्षमा छैनन् । म चाहिँ जसरी पनि भेटेर कुरा राख्ने पक्षमा थिएँ ।

उनले भेट्न नखोजेपछी मैले उनको जन्मकुण्डली हेर्ने पक्षमा थिए । धेरै सम्पर्कसूत्र लगाउँदा पनि भेटिएन । म आफु फलित ज्योतिष भएकाले उनको हाउभाउ र प्रस्तुतिबाट उनको अवस्था के छ भनेर हेर्ने कोसिस गरें । उनको चिना त बडो अचम्मको पो रहेछ । उनको चिना हेरेपछि उनी अत्यन्त राम्रो र जाज्वल्यमान भएको पाएँ । त्यसपछि मलाई झन् भेट्न मन लाग्यो । यत्तिको नेता नेपालमा छैनन् भन्ने पनि लाग्यो । मैले पुनः सम्पर्क गरें । मैले भनें, तपाईं साच्चिकै नेता हो भने फुर्सद निकालेर भए पनि भेट गर्नुपर्छ । यति भनेपछि उनी भेटघाटका लागि तयार भए तर खुला रुपमा होइन, गोप्य रुपमा भेट्ने र त्यसबारे कसैलाई जानकारी दिन नहुने शर्त राखे । मैले सहमति जनाएँ । राति १० बजे बालाजुको बाइपासमा भेट्ने कुरा भयो । चुनाव प्रचारको अन्तिम समय भएकाले लामो समय नबस्ने पनि शर्त थियो ।

त्यसै अनुसार राति १० बजे हामीले बाइपासमा भेट गर्यौ । उनी आफ्नो रातो गाडीमा आएका थिए । भेटघाटलाई गोप्य राख्नुपर्ने भएकाले मदनका ड्राइभर मेरो गाडीमा गए । मदन र म उनको गाडीमा बसेर कुराकानी गर्यौ । उनलाई भेट्नुअघि उनी कहाँ पढेको, के पढेको र उनीसँग कसरी कुरा गर्नुपर्छ भन्ने विषयमा मैले तयारी गरेको थिएँ । उनी पनि संस्कृतका विद्वान रहेछन् , म पनि संस्कृत पढेको हुनाले कुरा गर्न सहज हुने अनुमान गरेक थिएँ तर त्यति सहज पनि भएन र असहज पनि भएन ।

भेटमा मैले सुरुमै भनें, नेताले त सिद्दान्त  र नीतिका कुरा गर्नुपर्छ तर तपाईंले त्यस विपरीत अभिव्यक्ति दिइरहनुभएको छ, त्यसैले तपाइँहरुलाई तत्काल फाइदा होला तर कालान्तरमा घाटा हुँदैन ? मदनले प्रतिप्रश्न गरे, के विषयमा ? के भयो ? अमूर्त कुरा नगर्नुस, खुलेर कुरा गर्नुस् । त्यसपछि मलाई यिनी त साँच्चै नेता रहेछन् भन्ने लाग्यो । मैले भनें, अहिलेको संविधानको निर्माता तपाईहरु नै हो । तपाईंहरुले बनाएको संविधानले राजा चुनाव लड्ने व्यवस्था कतै पनि गरेको छैन तर तपाइँले त राजालाई प्रतिस्पर्धा गर्नका लागि चुनाव नै लड्न आऊ भन्दै भाषण नै गरिदिनुभयो । संवैधानिक राजाले यसरी चुनाव लडेको घटना छन् र कतै ?

भण्डारीले भने यतिबेला प्रजातन्त्र भरखर आएको छ । कुनै न कुनै रुपमा प्रजातन्त्र पुनः गुम्यो भने त्यो राम्रो हुँदैन । हिजोका घटनाक्रमले यहि देखाएको छ । राजालाई उकासेर फेरि प्रजातन्त्रलाई मास्न पनि सक्छन् । मेरो आशय यो पनि हो । राजा चुप लागेर बस्छन् भने हामीले यो संविधानलाई आलोचनात्मक समर्थन गरेका छौं । तपाईलाई थाहै होला संवैधानिक राजा कहिलेकाहिँ उकासिने गर्छन् त्यसो नहोसन्ने अभिव्यक्तिको आशय हो । यसलाई गुण र दोषको आधारमा पनि समर्थन र विरोध गर्न सकिन्छ । तत्काल यो अभिव्यक्तिलाई चुनावी भाषणका रुपमा मात्र नबुझिदिन अनुरोध गर्दछु ।

मैले प्रतिवाद गर्दै भनें, तपाइँ नै संविधानको बर्खिलाप बोल्दै हिड्नुहुन्छ अनि राजा कसरी संविधानको सीमाभित्र बस्छन् ? मैले फेरि थपें, ? राजा त यतिबेला तपाईहरुले नै तयार गरेको स्पेसमा छन्, होइन र ? पौने घण्टाको त्यो कुराकानीमा मदनले मेरो कुरामा केही सहमति जनाए । उनले उठाएका धेरैजसो सवालमा मैले सहमति जनाएपछि हामी आफ्ना आफ्ना गन्तव्यतिर लाग्यौं ।

मदन भण्डारीसँग भएको कुराकानीबारे मैले राजालाई जानकारी गराएँ । त्यस दिनपछि हामीले मदन भण्डारीका भाषणसम्बन्धी समाचारहरु खोजीखोजी पढ्न थाल्यौं । राजाले पनि उनका भाषणलाई रुचिपूर्वक पढ्न र सुन्न थाले । चुनाव भयो । उनले काठमाडौँ ५ मा त जिते नै अन्तरिम सरकारका प्रधानमन्त्री कृष्ण प्रसाद भट्टराईलाई पराजित गरेर काठमाडौँ १ बाट समेत जित हासिल गरे ।  उनको जितमा दरबारविरुद्ध उनको उत्तेजक अभिव्यक्तिले पनि भूमिका खेल्यो होला भन्ने महसुस गरियो । चुनावमा विजय हासिल गरेकामा फोन गरेर मैले मदनलाई बधाई दिएँ ।

बधाईका साथ फेरि भेटघाटका लागि प्रस्ताव राखेँ । भेटघाटका लागि यसपटक उनी सहजै तयार भए तर समय भने दिन सकेनन् । कति हार्दिक देखिए भने , चुनावी अभियानका दौरान आफू कालिमाटीस्थित मेरो घरनजिकै पुगेको तर व्यस्तताको कारणले भेट्न नपाएको समेत सुनाए । दोश्रो भेट कोटेश्वरनजिकै तीनकुनेमा गर्ने तय भयो तर समय मिलाउनका लागि मलाई फेरि कठिन भयो । बल्ल समय मिलाएर राति सभादश बजेको समयमा  हामीले भेट गर्यौ । पहिलो भेटकै शैलीमा हामीबीच कुराकानी भयो । उनको गाडीमा हामी दुईजना मात्र रहयौं । यो भेटमा मैले राजासँग भेट गर्नुपर्छ भन्ने विषय राख्नु थियो । त्यो विषय राख्नका लागि मैले वातावरण बनाउँदै भनें, अब तपाई प्रमुख प्रतिपक्षी दलको नेता हुनुभयो । जिम्मेवार स्थानमा पुग्नुभयो । प्रमुख प्रतिपक्षको मुख्य जिम्मेवारी भनेको सरकार गलत बाटोमा गयो भने उसलाई सही बाटोमा लैजाने र जिम्मेवारी बोध गराउने हो ।

आम निर्वाचनपछि हामीले कुन पार्टीबाट कस्तो पृष्ठभूमिका मानिसहरु प्रतिनिधिसभामा निर्वाचित भएर आएका छन्, त्यसको अध्ययन गरेका थियौं । काँग्रेसबाट निर्वाचितभएका धेरैजसो सांसदहरु लामो समय राजनीति गरेका पेसेवर राजनीतिकर्मी जस्ता थिए । एमालेबाट चाहिं विद्यार्थी र शिक्षक पृष्ठभूमिबाट आएका युवाहरु थिए । मैले भण्डारीलाई यही कुरा सुनाएँ । उनले पनि यस विषयलाई सहज रुपमा लिए । तपाईंका सांसदहरु शिक्षक पृष्ठभूमिका छन् । यस्तो पृष्ठभूमिका सांसदहरु भएकाले उनीहरुलाई संसदीय व्यवस्थासम्बन्धी तालिम दिनुभयो भने तपाईहरुले संसदमा प्रभावकारी भूमिका खेल्न सक्नुहुन्छ । 

त्यही मेसोमा मैले उनलाई राजासँग भेट्न प्रस्ताव गरें तर उनले सोझै अस्विकार गरे । यो आकस्मिक प्रस्ताव थियो मेरो । म पनि अलमलिएँ अनि भने बेलायतमा संसदीय व्यवस्था छ । त्यहाँ प्रमुख प्रतिपक्षी दलका प्रमुख नेताहरुले राजालाई भेट्ने चलन छ । तपाई प्रमुख  प्रतिपक्षी दलको जिम्मेवार नेता हो । त्यही हैसियतमा राजालाई भेट्नुस् । यति भनेपछि बल्ल सोचौँला भन्ने जवाफ दिए तर उनी आफुलाई जरुरी बैठकमा जानुपर्ने भन्दै हतारिए । मैले पुनः जोड गरें, राजा पनि तपाईलाई भेट्न चाहन्छन्, तपाई भेट्नुस् ।

उनले पार्टीका साथिहरुसँग कुराकानी गरेर भेट्ने नभेट्ने निक्योरल गर्ने र पर्सिपल्ट फोनमा यससम्बन्धमा जानकारी दिने बताए । त्यसपछि हामी सौहाद्रपूर्ण वातावरणमा बिदा भयौं । पर्सिपल्ट उनलाई मैले आफैंले फोन गरें । उनी सकारात्मक देखिए । साथिहरुसँग कुराकानी गरेर भेट्न तयार भएका हुन् वा एकल निर्णय हो, त्यसबारे केहि बताएनन् । मैले पनि सोध्न जरूरी ठानिन ।

तिथिमिति मलाई याद भएन , राति ८ बजेका लागि दरबारको मङ्गल सदनमा भेट हुने कार्यक्रम तय भयो । भेटका लागि भण्डारीलाई दौरा (सुरुवाल र ढाकाटोपी लगाएर आउन अनुरोध गरें । उनी त्यही पोशाकमा दरबार आए । एमाले हिंसात्मक झापा आन्दोलनबाट राजनीतिको मुलधार आएको पार्टी थियो । त्यही पार्टीका महासचिव मदन भण्डारी खुला राजनीतिमा उदयमान नेता थिए । राजालाई मदन कस्तो स्वभावका नेता हुन भन्ने थाहा थिएन । मैले हल्का जानकारी गराएको थिएँ ।

मदन भण्डारी र राजाको पहिलो भेट थियो, त्यसैले मलाई पनि निकै रमाइलो महसुस भइरहेको थियो । उनलाई पनि राजा कस्ता छन्, भन्ने जानकारी थिएन । मदनसँग कुराकानी गर्न राजालाई असहज होला भनेर मैले कुराकानीका दशवटा बुँदा बनाएर राजालाई दिएको थिएँ । त्यही दश बुँदामा केन्द्रित भएर कुराकानी भयो तर ती दश बुँदा के के थिए भन्ने बारेमा मलाई अहिले याद भएन । 

धेरै नेताहरुले राजालाई पहिलोपटक भेट्दा हडबढाउँथे, डराउथे । मदन राजासँग कसरी प्रस्तुत हुँदा रहेछन्, कत्तिको आँटिला नेता रहेछन्, म त्यो हेर्न चाहन्थें । म सँगै थिएँ । राजालाई कुराकानीका क्रममा केही समस्या होला की भनेर म त्यहीँबसेको थिएँ । मदन र राजाबीच पहिलो भेटघाट भएकाले चिनजान गराउन पनि त्यहाँ बस्न जरुरी थियो । चिनजानपछि कुराकानीको सुरुवात राजाबाटै भयो । राजाले भने, अहिले राजनीतिक परिस्थिति बदलिएको छ । बदलिएको परिस्थितिमा हाम्रो भेट भएको छ । परिस्थिति बदलिएकाले प्रस्टसँगै कुराकानी गरौ है । मदनले भने, हुन्छ । मैले तयार गरेको बुँदाकै सेरोफेरोमा रहेर राजाले कुराकानी सुरुआत गरेका थिए । धेरै जसो कुराकानी प्रधानमन्त्री र त्यससँग सम्बन्धित अनि सरकारको कामकार्बाहीका बारेमा थियो । राजाले प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाका बारेमा राखेका जिज्ञासामा मदनले नहडबडाई जवाफ दिए । उनले धेरै जसो सरकारको नीतिगत विषयमा कुरा गरे । प्रधानमन्त्रिले गल्ति गरे जनताको साथमा जाने जनताले नै फैसला गर्छन् भन्दै राजालाई राष्ट्रियताका सवालमा कहीँ कतै एमाले नडगमगाउने र त्यसका लागि जस्तोसुकै लडाइँ लड्न तयार रहेको बताए । राजाले धेरै जसो विषय सरकार केन्द्रित गरेको विषयमा मदनलाई खास चित्त बुझेजस्तो मैले मानिनँ । उनी हक्की स्वभावका भएकाले राजासँग कुटनीतिक कुरा गर्न चाहेको आभास मैले पाएँ ।

राजाले नेताहरुको भनाइ र गराइमा फरक हुन्छ । जनतालाई भनेको कुरा पुर्याउनुपर्छ । नत्र जनताको बीचमा अविश्वासी भइन्छ । तपाइँहरुले पनि जनतालाई आश्वासन मात्र दिने काम गर्नुहुने हो की ? भन्ने प्रश्न गरेपछि मदनले अलि नरम हुँदै गम्भीर भएर जवाफ फर्काएका थिए ।

मदनले भनेका थिए, ठिकै हो, नहुने कुरा बोल्दा जनतामा गलत सन्देश जान्छ तर हामी नहुने वा गलत कामका लागि सरकार होस् कि अरु जोसुकै होस् समर्थन गर्न सक्दैनौ । उनले आफुहरु जनताको बीचमा शालीन तरिकाले, तर्कपूर्ण रुपले प्रस्तुत हुने प्रयास गरेका छौं भनेका थिए ।

राजा वीरेन्द्रले, तपाईंहरुले संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्रलाई बलियो बनाउने भूमिका खेल्नुपर्छ । अहिलेको व्यवस्थालाई बलियो बनाउन तपाईहरुको तर्फबाट रचनात्मक भूमिका हुनुपर्छ । भन्दा मदनले स्वीकार गरेको भानमा टाउको मात्रै हल्लाए तर बोलेनन् ।

त्यो भेटपछि राजा वीरेन्द्र र मदन भण्डारीले एकले अर्कालाई राम्रोसँग चिन्ने मौका पाएका थिए । राजा मदनसँग प्रभावित भए, सायद मदन पनि राजासँग प्रभावित भए कि भन्ने मलाई लाग्छ । राजा वीरेन्द्रलाई मदन भण्डारी सुझबुझ भएका नेता हुन् भन्ने आभास भएको थियो । उनको मृत्यु हुनुअघिसम्म राजाले उनका बारेमा सोधखोज गर्थे । फोनमा उनीसँग मेरो कुराकानी भइरहन्थ्यो । हामी एकआपसमा कुरा गर्थ्यौ तर उनी अत्यन्तै व्यस्त नेता थिए । फोनमा लामो कुरा हुन सक्दैनथ्यो ।  यो लेख रेवतीरमण खनालले चक्रपथको लागि लेख्नु भएको हो

प्रतिक्रिया दिनुहोस