डा. प्रेम ज्ञावलीको मार्मिक पत्र डा गोविन्द केसीलाई
डा. गोबिन्द के. सी. दाई अभिवादन।
अब त अति नै भयो दाई कुनै बिरामीलाई बोलायर जुस पिलाई दिन भन्नुस र यो अनावस्यक तिगड्म छोड्नुस। तपाईलाई त गाह्रो भयो भयो तर त्यस भन्दा धेरै सास्ती त बिरामीहरुलाई भईराखेको छ। त्रि. बि. शिक्षण अस्पताल त दिनहुं-दिन धरासायी नै हुंदै गईराखेको छ। तपाईंका पहिला २ वटा अन्सनहरु त राम्रै जस्तो लागेर मैले पनि सहानुभुती जनाएकै थिएं र तपाईंको स्याहार-सुसारमा जुटेकै थिएं। तर त्यसपछिका अनसनहरुमा जसरी राजनैतिक गन्ध आऊन थाल्यो मैले बल्ल बुझ्न थालें र म तपाईंबाट टाढै बस्न रुचाएँ।
तपाईंलाई राम्ररी थाहा छ, २६ दिन अनसन बस्नुस, ५६ दिन बस्नुस या ६७ दिन नै किन नबस्नुस; तपाईंलाई केही हुँदैन। देशका बिशिष्ट चिकित्सकहरुको निगरानीमा हुनु हुन्छ; केही चिन्ता मान्नुपर्दैन दाई। आफ्नै अस्पतालका सहकर्मीहरुले उपचारका लागी कसैले पनि कुनै कसर राख्नेछैन। तपाईंका शुरु-शुरुका आन्दोलनमा तपाईंलाई बोकेर हिंड्ने ब्यक्तिहरुमध्ये अहिले कति जना बांकी छन् ? उनीहरुले कुन-कुन ठाउँमा कस्तो-कस्तो पोस्ट लियर गइसके, तपाईंलाई थाहै छ। कृपया, शाकाहारी सिकारी नबनिदिनुस्।
तपाईकै अनसनका कारण डा. भगवान कोईरालालाई राजिनामा दिन बाध्य पार्नुभयो। अस्पताल हडताल गराउँदै, गाउँकन्दराबाट उपचार लिन त्रि. वि. शिक्षण अस्पतालमा आएका बिरामीलाई अन्यत्रै जान बाध्य तुल्याउनुभयो। अझै कति गर्ने अब ? अस्पतालको यो दुर्गतिको बारेमा तपाईले एउटा पनि प्रश्न उठाउनुहुन्न। बिद्यार्थी भर्नाको बेलामा प्रश्नपत्रहरु लिक भयो तर तपाईले केही बोल्नु भएन। अस्पतालको कार्यकारी निर्देशक छान्ने बेलामा आफ्नै हठ लिएर हिंड्नुभयो । अन्य प्राध्यापकहरुको सल्लाह त तपाईंको लागि फगत भनाई मात्रै भए। कहिले डिन बनाउन एकजनालाई बोकेर हिंड्नुहुन्छ त कहिले निर्देशक बनाउन आर्कोलाई बोकेर हिंड्नुहुन्छ। तर अस्पताललाई कसरी ब्यवस्थित बनाउन सकिन्छ ? अस्पतालमा आउने बिरामीलाई कसरी उच्चस्तरिय सेवा छिटो दिन सकिन्छ ? कसरी बिरामीहरुलाई छिटो अपरेशन गर्न सकिने बाताबरण बनाउन सकिन्छ ? कसरी नयां प्रविधी भित्र्याउन सकिन्छ ? यी बिषयमा कहिल्यै सोच्नुभएन। मुड चल्यो कि अनसन बसिदिनु हुन्छ। त्यो पनि फेरी टिचिङ अस्पतालमै। किनभने तपाईंलाई थाहा छ, जति दिन अनसन बसेपनि यहांका चिकित्सकले तपाईलाई तलमाथी हुन दिंदैनन् भन्ने।
म तपाईंको भाईको नाताले पनि आग्रह गर्न चाहान्छु। कृपया, हाम्रो अस्पताललाई काम गर्न दिनुस्। कुना-कन्दराबाट दुख-सुख गरी उपचार लिन आएका बिरामीहरुलाई सम्झिदिनुस्। अनसन नै बसिरहन मन छभने अन्यत्रै गएर बसिदिनुस् र यो अस्पताललाई बलिको बोको नबनाईदिनुस्। – डा प्रेम ज्ञावली