एकल महिलालाई सोलार


गरिब, विपन्न तथा समस्यमा परेका एकल महिलालाई नलगाड नगरपालिकाले सोलार वितरण गरेको छ । तेह्र वडाका २६ महिलालाई सोलार वितरण गरिएको छ । सबै वडाका दुई÷दुई जनालाई ८० वाटको सोलार वितरण गरिएको नगरप्रमुख टेकबहादुर रावलले जानकारी दिनुभयो । एकल महिलासँग उपप्रमुख कर्यक्रमअन्तर्गत सोलार वितरण गरिएको नगर प्रवक्ता राममाया हमालले बताउनुभयो । एकल महिलाले अर्थाभावमा छोराछोरी पढाउन सल्लीको दियालो प्रयोग गर्ने अवस्थालाई अन्त्य गर्न विपन्नलाई सोलार वितरण गरेको उहाँले जानकारी दिनुभयो । प्रत्येक वडामा नगरप्रमुख, उपप्रमुख र वडाध्यक्षको सहभागितामा सोलार वितरण गरिएको हो । अधिकांश गरिब परिवारमा अझै पनि सल्लीको दियालो भर पर्नुपर्ने अवस्था रहेको छ । आर्थिकरूपमा पछि परेका एकल महिलालाई छोेराछोरीको पढाइ, पालनपोषणमा तथा आधारभूत आवश्यकता पूरा गर्न समस्या परिरहेको छ । घरघरमा झण्डा गर्भवतीलाई पोषिलो खाना र पहिचानका लागि घरघरमा झण्डा राखिएको छ । नगरपालिकाले प्रत्येक वडामा रहेका गर्भवतीलाई पहिचान गरी पोषिला खानेकुरासहित घरघरमा झण्डा राखेर अण्डा , भाले तथा तेल सहयोग गरिएको छ । नगरपालिकाभित्र रहेका ४५५ महिलाको घरमा झण्डा गाडिएको प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र सिंहले जानकारी दिनुभयो । त्यस्तै स्थानीय जातको तोरीको तेल, एक जोडी भालेपोथी कुखुरासमेत गर्भवती तथा सुत्केरी महिलालाई उपलब्ध गराउन लागिएको छ । गरिब, दलित, जनजाति र नियमित स्वास्थ्य जाँच गरेका महिलालाई मात्र यो सुविधा उपलब्ध गराइने उहाँले जानकारी दिनुभयो । प्रत्येक वडाबाट ३५ जना पर्ने गरी सो सामग्री वितरण गरिएको छ । अझै पनि सामाजिक चेतनाको अभावले घरमै सुत्केरी हुने, आमा र बच्चाको ज्यानसमेत जोखिममा पर्ने भएकाले यस्तो अभियान थालिएको उहाँले जानकारी दिनुभयो । उक्त अभियानलाई प्रभावकारी बनाउन विद्यालय, महिला स्वास्थ्य स्वयंसेविका, आमा समूहलगायत स्वास्थ्य समूहलाई सचेतना कक्षा सञ्चालन गरिने वडा कार्यालयले जनाएको छ । कार्यालयका अनुसार बर्थिङ सेन्टरबाट टाढा रहेका र विपन्न गर्भवती महिलालाई निःशुल्क एम्बुलेन्सको सुविधा उपलब्ध गराइने भएको छ । झण्डा अभियानले गर्भवतीले खुलेर आफ्ना समस्या स्वास्थ्यकर्मीसँग राख्नसक्ने स्वास्थ्यकर्मीले बताएका छन् । उहाँले स्वास्थ्य संस्था वा बर्थिङ सेन्टरमै सुत्केरी गराउने यो एउटा सशक्त अभियान भएको भन्दै सबै गर्भवती महिला स्वास्थ्य संस्थामै पुगेर सुत्केरी भएको तथ्याङ्क बनाउन पनि सजिलो हुने बताउनुभयो । उहाँले स्वास्थ्य संस्थामा बच्चा जन्माए राज्यले उपलब्ध गराउँदै आएको एक हजार ४०० र न्यानो झोलावापत रु एक हजारसहित गाउँपालिकाले सुत्केरी पोषणभत्तावापत रु एक हजार दिने भएकाले सबै गर्भवती महिलालाई स्वास्थ्य संस्थामै सुत्केरी हुनसमेत आग्रह गर्नुभयो । –––

प्रतिक्रिया दिनुहोस