वीरगञ्जमा आरडिटी पोजेटिभ मानिसको मृत्यु : कोरोना सङ्क्रमणको आशङ्का


वीरगञ्ज महानगरपालिका– १० आदर्शनगरमा रहेका एक ६५ वर्षीय वृद्धको आज बिहान कोरोना सङ्क्रमणबाट मृत्यु भएको आशङ्का गरिएको छ । ती वृद्धको गण्डक अस्थायी कोभिड अस्पतालमा आज बिहान मृत्यु भएको डा नीरजकुमार सिंहले राससलाई बताउनुभयो । मृत्यु भएका ती वृद्धको स्वास्थ्यमा समस्या देखिएपछि शनिबार नारायणी अस्पतालको आकस्मिक कक्षमा भर्ना गरी उपचार थालिएको र पछि थप उपचारका लागि वीरगञ्ज हेल्थ केयर अस्पतालमा भर्ना गरिएको थियो । शनिबार राति ८ः०० बजे आरडिटी पोजेटिभ आएपछि कोरोनाको शङ्कास्पद बिरामीका रुपमा गण्डक अस्थायी कोभिड अस्पतालमा लगी उपचार शुरु गरिएको अर्का डा उदयनारायण सिंहले बताउनुभयो । शनिबार नै नारायणी अस्पतालको आकस्मिक कक्षमा भर्ना भएका ती वृद्धको पिसिआर परीक्षणका लागि स्वाब सङ्कलन गरिसकिएको थियो । हालसम्म रिपोर्ट आएको छैन । मृत्यु भएका ती वृद्ध आदर्शनगरका व्यापारी रहेका र मुटु तथा मधुमेह रोगका बिरामी रहेको उपचारमा संलग्न चिकित्सक डा नीरजकुमार सिंहले बताउनुभयो । मृत्यु भएका वृद्ध भारतीय नागरिक हुन् । वृद्धको शवलाई अस्पतालमामै राखिएको छ । साँझसम्म पिसिआर परीक्षणको रिपोर्ट आइसक्ने चिकित्सकले जनाएका छन् । यसअघि गत शुक्रबार आरडिटी पोजेटिभ भएकी एक १७ वर्षीय युवतीको मृत्यु भएको थियो । युवतीको मरणोपरान्त पिसिआर परीक्षण गर्दा कोरोना सङ्क्रमण पोजेटिभ देखिएको थियो । यसैबीच नारायणी अस्पतालअन्तर्गतको गण्डक अस्थायी कोभिड अस्पतालमा उपचार गराइरहेका कोरोना सङ्क्रमितमध्ये चार जनाको अवस्था गम्भीर रहेको छ । चारै जनालाई सघन उपचार कक्षमा अक्सिजन दिएर राखिएको भए पनि अवस्था जटिल र गम्भीर रहेको डा सिंहले जानकारी दिनुभयो । सो अस्पतालमा हाल ५४ जना सङ्क्रमित उपचार गराइरहेका छन् । पर्सामा हाल कोरोना सङ्क्रमितबाट सात जनाको मृत्यु भइसकेको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बताउनुभयो । कोरोना पोजेटिभबाट बारामा तीन र पर्साका तीन जना छन् भने वीरगञ्जमा बेवारिसे भेटिएका एक कोरोना सङ्क्रमितको भने पहिचान हुन सकेको छैन । यसैबीच लकडाउन खुकुलो भएपछि वीरगञ्ज बजारमा मानिसको अत्यधिक भीड हुन थालेकाले कोरोना सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि स्थानीय प्रशासनले वीरगञ्ज महानगरपालिका क्षेत्रभित्र अनिश्चितकालका लागि निषेधाज्ञा लगाएको छ ।

प्रतिक्रिया दिनुहोस